सूचनाको शक्ति - The Power Of Information

        

डायलासिस र एक्स–रे सिआर्म यन्त्र प्रयोगविहीन

दाङ । यहाँको एक मात्र सरकारी अस्पताल साविकको राप्ती अञ्चल अस्पतालमा बिरामीले प्रभावकारी सेवा पाउनसकेका छैनन् । जनताले आफ्नै ठाउँमा प्रभावकारी स्वास्थ्य सेवा पाउनका लागि विसं २०६५ मा महापुराण लगाएर रु दुई करोड तथा करीब पाँच बिघा जग्गा सो अस्पताललाई जुटाइदिएका थिए ।
तत्कालीन सरकारले तुलसीपुरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरवृद्धि गरेर अञ्चल अस्पताल बनाउने निर्णय गरेको थियो । अथक मेहनत तथा सहयोग गरेर स्थापना गरेको सो अस्पतालमा हालसम्म पनि विशिष्ट सेवा पाउन नसक्दा आफूहरु निराश बन्नुपरेको तुलसीपुरवासीको गुनासो छ । मुलुक संघीय संरचनामा गइसकेको अवस्थामा सो अस्पतालको नाम अझै पनि राप्ती अञ्चल अस्पताल नै छ ।
अहिले अस्पतालमा १७ विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि पाँच जना मात्र कार्यरत छन् । एक वर्ष अगाडि ठूलो मूल्यमा ल्याइएको डायलासिस र एक्स–रे सिआर्म यन्त्र हालसम्म पनि प्रयोग हुन नसक्दा यहाँका बिरामीलाई चर्को मूल्य तिरेर बाहिरी जिल्ला पुग्नुपर्ने बाध्यता रहेको स्थानीयवासी मीनराज भण्डारीले बताए ।
त्यसैगरी अस्पतालले पहिलेदेखि नै सञ्चालनमा ल्याउने भनी ल्याइएका सघन उपचार कक्ष (एनआइसीयु)का सामग्री पनि प्रयोगविहीन अवस्थामा पुगेको अस्पताल निकट स्रोतले जनाएको छ । त्यसैगरी अस्पतालले सञ्चालन गरेको औषधालयबाट पनि बिरामीले नियमित रुपमा सेवा पाउन सकेका छैन् ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट विनोद सिंहले अस्पतालमा दरबन्दीअनुसारको चिकित्सक र यन्त्र सञ्चालनका लागि दक्ष जनशक्ति र बिजुलीको भरपर्दो व्यवस्था नहुँदा समस्या भएको बताए । उनले भने, ‘सरकारले उपयुक्त दरबन्दी नपठाउँदासम्म सहज रुपमा सबै सेवा प्रवाह गर्न समेत सकिँदैन ।’

प्रकाशित मिति : २५ चैत्र २०७४, आइतवार ०६:५३