मात्रिका पौडेल । नयाँदिल्ली । के दिल्ली नेपाल मामिलामा ‘कोर्ष करेक्सन’को चरणमा पुगेको हो ? हैदराबाद हाउसमा दुवै प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनपछि एक सार्वजनिक समारोहमा भेटिएका भारतीय विदेश राज्यमन्त्री विके सिंहलाई यो अप्ठ्यारो प्रश्न थियो । तर, उनले कूटनीतिक शैलीमा यतिमात्र भने, ‘हामी कोर्स करेक्सन होइन, कोर्ष रिफर्मको दिशामा छौं । करेक्सन गर्नुपर्ने गरी के बिग्रिएको थियो र ?
त्यसो भन्दा पछिल्लो समय भारतले लगाएको नाकाबन्दी र नेपालको संविधान विरुद्ध भारतको अन्तर्राष्ट्रिय लबिङलाई नेपालीलाई बिर्सन सक्दैनन् । तर, भारतले अब भने ‘रियलाइजेशनसहित कोर्ष करेक्सन’ को बिन्दूमा पुगेका आभास दिन थालेको छ । त्यसको बलियो प्रमाण हो, यसपटक दुईपक्षीय औपचारिक अनौपचारिक वार्ताहरुमा नेपालको आन्तरिक राजनीतिक मामिलाले प्रवेश नपाउनू । सबै तहका निर्वाचन सम्पन्न भएर नेपालमा बलियो सरकार बनेकोमा बधाई दिने बाहेक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिगतमा जस्तो सबैलाई मिलाऊ जस्ता कुनै कुरा गर्न चाहेनन् ।
नाकाबन्दीको बेला काठमाडौंमा राजदूत रहेका रन्जित रायले पनि यसको पुष्टि गर्दै बिगत भुलेर भविष्य निर्माणमा सँगै हिँड्ने चरणमा नेपाल–भारत सम्बन्ध पुगेको टिप्पणी गरे । यसै साता दुई चीर परिचित नेपालविज्ञ भारतीय कुटनीतिज्ञ श्यामशरण र शिवशंकर मुखर्जीसहित तीन साताको अपर डोल्पाको पदयात्राका लागि नेपाल जान लागेका रायले बिगत बिर्सन नेपालीलाई आग्रह गरे । ‘बिगततिर फर्किएर हामी कहिँ पनि पुग्दैनौं, जुन वक्तव्य दुवै देशका प्रधानमन्त्रीबाट आएको छ त्यो भनेको हामी अब सम्बृद्धिको बाटोमा सँगै हिड्छौं भनेको हो,’ उनले भने, ‘मोदीजीले आफ्नो र ओलीजीको नारा अब एक अर्काका परिपूरक हुन् भनेपछि अरु केही बोल्नु परेन । दुवै देशले बलियो र बोल्ड नेतृत्व पाएका छन्, यो मौका गुमाउनु हुँदैन ।’
देशको पक्षमा अडान लिँदाको परिणाम
भारतीय मन्त्री र कूटनीतिज्ञले कोर्ष करेक्सनको संकेत गरेपछि शनिबार मध्यराति हामी सेभेन रेसकोर्षस्थित राष्ट्रपति भवनमा पुग्यौं । जहाँ प्रधानमन्त्री सहित नेपाली प्रतिनिधिमण्डलका १२ जना सदस्यलाई भारतीय राष्ट्रपतिको विशिष्ठ पाहुनका रुपमा राखिएको थियो । हामीले त्यहाँ परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पनि सोध्यौं, ‘भारत कोर्ष करेक्सनको मुडमा हो ? निकै साबधानीपूर्वक उनले भारत आत्मसमिक्षाको चरणमा पुगेको हुनसक्ने टिप्पणी गरेका छन् । नरेन्द्र मोदीको नेतृत्वको भारत केपी ओली नेतृत्वको नेपालसँग विश्वासका साथ नयाँ चरणबाट अघि बढ्न चाहन्छ भन्ने अनुभूति विभिन्न वार्तामा सहभागी नेपाली टोलीका नेताहरुले गरेका छन् ।
ज्ञवालीले कोर्ष करेक्सनको सन्दर्भमा यतिमात्र भने, ‘देशको पक्षमा बलियो अडान लिँदा कुनै न कुनै स्टेजमा पुगेर त्यो अडान स्थापित गर्न सकिने रहेछ भन्ने पुष्टि भएको छ । दुवैतिर भिजनरी र बोल्ड नेतृत्व छ, जनताको बलियो अनुमोदन छ । नेपाल भारतबीच राजनीतिक नेतृत्वका तहमा अनुकुल वातावरण बनेको छ, यो ठूलो कुरा हो ।’ नोकरशाही र खुफिया एजेन्सीहरुमार्फत नेपाललाई हेर्दा ‘क्षति भोगेको’ अनुभूति भारतीय राजनीतिक नेतृत्वले गरेको विभिन्न अनौपचारिक भेटघाटहरुबाट ओलीले पनि बुझे । त्यसैले यसपटक मोदी बिल्कुल फरक ढंगले प्रस्तुत भएको र व्यापार घाटादेखि टनकपुरको डेढ किलोमिटर सडक निर्माणसम्मका कुरामा गम्भिर रुपमा उठाएका छन् ।
यसपटक कुनै नयाँ सम्झौता गर्न चाहेन । बिगतमा जस्तो संयुक्त वक्तव्यका बुँदामात्र थप्नका लागि वर्षौंदेखि पेण्डिङ रहेका विषयलाई अलग्गै एजेण्डा पनि बनाएन । उदाहरणका लागि पन्चेश्वर वर्षौदेखि हरेक राजकीय भ्रमणमा छलफलको एजेण्डा बन्छ तर, कार्यन्वयन हुँदैन । बरु प्रधानमन्त्री ओलीले मोदीलाई पटकपटक सानासाना कुराले विश्वासको वातावरण बिगारेको भन्दै अब विश्वासको आधार बनाउँ भनेका छन् । ओलीले नेपालको जुट र अदूवा निकासीमा भारतको अवरोधदेखि डुबानसम्मका समस्यामा भारतको कर्मचारीतन्त्रले आफ्नो प्रतिबद्धता पूरा नगरेको भन्दै प्रधानमन्त्री तहमै असन्तुष्टि जनाए । यसका लागि दुई उदाहरण नै पर्याप्त छन्, जुन कुरा ओलीले मोदीसँग असन्तुष्टिका साथ राखेका थिए ।
ब्यापार घाटाले खतराको घण्टी बजायो
‘भारतसँगको नेपालको ब्यापार घाटा ‘अलार्मिङ प्वाइन्ट’ मा पुगिसक्यो । यसमा अब पनि हामी गम्भिर भएनौं भने नेपालले त धान्न सक्दैन । यस्तो विषयमा भारतले विश्वासको आधार बनाउनुपर्ने हो । हामी तपाईहरुको व्यापारिक प्रतिस्पर्धी होइनौं । त्यसैले ब्यापार घाटा कम गर्ने सन्दर्भमा भारत लचिलो भइदिनुर्पयो । उदाहरणका लागि जुटकै कुरा गरौं ।’ ओलीले व्यापार घाटाको कुरालाई सबैभन्दा जोड दिएपछि भारतीय समकक्षी मोदीले तत्कालै प्रतिक्रिया जनाए । वार्तामा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार मोदीले ‘यो कुराले म सिरियस भएँ’ भन्दै तत्कालै वाणिज्य सचिवस्तरीय बैठक राखेर काम गरिहालौं भनेका छन् । व्यापार घाटालाई नेपालका प्रधानमन्त्रीले सबैभन्दा गम्भिर एजेण्डा बनाएपछि मोदीले बढी नै चासो राखे । यद्यपि संयुक्त वक्तव्यमा व्यापार घाटाको विषय उल्लेख छैन ।
२० वर्षमा डेढ किमि रोड बनेन
विश्वासको आधार कमजोर भएको अर्को उदाहरण प्रधानमन्त्री ओलीले मोदीलाई यसरी दिए । एकीकृत महाकाली सन्धी भएको २० वर्ष पुगिसक्यो । त्यो सन्धी गर्दा भारतले टनकपुर लिंकरोड बनाउने प्रतिबद्धता जनाएको थियो । जम्मा डेढ किलोमिटर सडक २० वर्षसम्म नबनाउँदा बाहिर कस्तो सन्देश जान्छ ? हामीले विश्वासको आधार कसरी बनाउने ? भारतले प्रतिदिन २६ किलोमिटर नयाँ सडक बनाइरहेको भन्ने मैले सुनेको छु । तर डेढ किलोमिटर सडक बनाउने प्रतिबद्धता अहिलेसम्म पूरा नहुनु लाजमर्दो भयो । यस्ता सानासाना कुरा हुन्, जसले आपसी विश्वासको आधार तय गर्छन् । मोदीको प्रतिक्रिया थियो, ‘म यो सुनेर अचम्मित भएको छु । तत्कालै उत्तराखण्ड सरकारलाई भन्छु । टनकपुरलाई नेपालसँग जोड्ने डेढ किलोमिटर लिंक रोड बनाउन तत्कालै अघि बढ्छ ।’
नदीको बहाबले गरीवको उठिबास भो
प्रधानमन्त्री ओलीले मोदीलाई तेस्रो प्रतिबद्धता पनि सम्झाए, जसले विश्वासको आधार कमजोर बनिरहेको छ । त्यो थियो, डुबान सम्बन्धी । प्रत्येक वर्ष डुबानबाट नेपालतर्फ गरीवहरुको उठिबास भएको छ । सानो झुप्रो र केही खेतबाट जीवन धानिरहेका हाम्रा जनता नदीको बहाव थुनिदा उठिबास भएका छन् । यसअघिका भ्रमणमा हाम्रै तहमा कुरा भएर संयुक्त रुपमा भ्रमण गर्ने र नदीको बहाव नरोकिने उपाय खोज्ने सम्झौता भएको हो । तर, अहिलेसम्म केही प्रगति भएन । यसपटक वर्षा लाग्नुअघि नै यो समस्या समाधान गरौं । जवाफमा मोदीले भने, ‘यो कुरा यसअघि पनि भएको हो, के कारणले भएन । अब संयुक्त मेकानिजम बनाएर गरौं ।’
ओलीको प्रश्न, विश्वासको आधार खोई ?
ओलीले विश्वासको आधार कमजोर भएको सन्दर्भमा पुलिस एकेडेमीको कुरा पनि उठाएका छन् । भारतले बनाउने भनेको पुलिस एकेडेमी नबनेकोमा उनले यतिमात्र भने, ‘कुरा पुलिस एकेडेमीको होइन, विश्वासको हो । समयलाई पनि सम्बन्धको बाधक बन्न दिनु हुँदैन । सानासाना कुरा पनि पूरा नहुँदा विश्वासको वातावरण बन्दैन ।’ मोदी र गृहमन्त्री राजनाथ सिंह दुवैले पुलिस एकेडेमी प्रकरणमा अहिलेसम्म प्रगति नभएकोमा असहज महसुस गरेका थिए । नेपालको चासो यसपटक विश्वासको आधार बनाउने र त्यो नबनी नयाँ सम्झौता थपेर पेन्डिङको चाङ लगाउनेतर्फ नदेखेपछि मोदीले आफ्ना मेकानिजमहरुलाई यी सबै विषयमा तत्काल परिचालन गर्ने प्रतिबद्धता जनाएका छन् ।
अरुण तेस्रो, मोदीको नेपाल भ्रमणमा ?
दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनमा रिमोटबाट स्वीच अन गरी अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्ने कार्यक्रम भारतीय विदेश मन्त्रालयको एडभाइजरीमा पनि थियो । यद्यपि नेपाल पक्षले भने यो विषय तय भएकै थिएन भनिरहेको छ । अन्तिम घडीमा अरुणको शिलान्यास किन रोकियो ? यसबारेमा दुवै पक्षले प्रष्ट जवाफ दिएका छैनन् । स्रोतका अनुसार यसै वर्ष नरेन्द्र मोदीले नेपालको भ्रमण गर्नेछन् । त्यहिबेला दुवै प्रधानमन्त्रीले भौतिक रुपमा उपस्थित भएर अरुण तेस्रोको शिलान्यास गर्ने सम्भावना छ । त्यसको संकेत गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने, भारतीय प्रधानमन्त्रीले हाम्रो प्रधानमन्त्रीको निम्ता स्वीकार गर्नुभएको छ । सम्भवतः यो वर्ष उहाँको भ्रमण हुनेछ र अरुणको शिलान्यास त्यहिबेला हुनसक्छ । कर्नाटका प्रदेशको चुनावपछि मोदीले नेपाल भ्रमण भ्रमण गर्ने सम्भावना रहेको भारतीय अधिकारीहरुले बताएका छन् ।
ओलीको सफलता, नो इन्टरफेयर
तीन दिने राजकीय भ्रमणमा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच दुईपटक वान टु वान वार्ता भयो । दुवै वार्तापछि निकटस्थहरुलाई सुनाएअनुसार ओली आफ्नो अडान स्थापित गर्न पाएकोमा प्रसन्न छन् । पहिलो पटक नेपालको आन्तरिक राजनीति भारतीय प्रधानमन्त्रीसँग छलफलको विषय नै बनेन । मोदी पनि बिगतका अनुभवबाट सजग हुँदै यसपटक नेपालको राजनीतिक मामिलामा प्रवेश नै गर्न चाहेनन् । बरु नेपालबारे भारतमा तीन भ्रम रहेको भन्दै खण्डन गरे । कम्युनिस्टले जितेपछि लोकतन्त्र खतरामा पर्न सक्छ, चीनको प्रभाव बढ्न सक्छ र नेपालको संविधान समावेशी छैन भन्ने भ्रम मात्र भएको भन्दै सार्वजनिक कार्यक्रममार्फत नै त्यसको खण्डन गरे ।
मोदीले भने, ओलीजीको बोल्ड व्यक्तित्व
‘सबका साथ, सबका बिकास’ भन्ने नारा लिएर ४ वर्षअघि महानिर्वाचनमा होमिएका मोदीले करीव दुई तिहाई बहुमतसहित भारतको नेतृत्व गर्ने जनमत पाएका थिए । वाम गठबन्धन बनाएर चुनाव जितेका ओलीले सम्बृद्ध नेपाल, सुखी नेपालीको नारा दिएका छन् । ओली र मोदीको यो संयोग थियो तर, अब एक अर्काको परिपूरक बन्ने घोषणा मोदीले गरिसकेका छन् । भारतीय नाकाबन्दी ताकाको तनावपूर्ण र अविश्वासको सम्बन्धलाई बिर्सिएर एक अर्काका नारालाई सम्बृद्धिका परिपुरक बनाउन तत्पर भएका छन् ।
संयुक्त पत्रकार सम्मेलनमा मोदीले ‘सबका साथ, सबका विकास’ भन्ने आफ्नो मन्त्र र ‘सम्बृद्ध नेपाली, सुखी नेपाल’ भन्ने ओलीको मन्त्र अब एक अर्काका परिपूरक हुने घोषणा गरेका छन् । सहभागीहरुका अनुसार उनले प्रधानमन्त्रीस्तरीय संयुक्त बैठकमा भनेका छन्, ‘ओलीजीको सम्बृद्धि र विकासको बोल्ड भिजनबाट म प्रभावित भएँ । अब नयाँ ढंगबाट सहकार्य गरौं । कमिकमजोरी र ढिलासुस्ती हटाउँदै अघि बढ्न म तयार छु ।’ यसबाट प्रष्ट हुन्छ कि भारत अब नेपालसँग नयाँ ढंगबाट अघि बढ्न चाहन्छ । यहि हो ‘कोर्ष करेक्सन’को शुरुवात । www.onlinekhabar.com
।