सूचनाको शक्ति - The Power Of Information

        

जानकीमा निःशुल्क स्वास्थ्य शिविर, १५१ जना लाभान्वित


बाँके । बाँकेको जानकी गाउँपालिका वडा नं. ४ मा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । शनिवार खजुराखुर्दस्थित जानकी माध्यमिक विद्यालयमा आयोजित शिविरमा १५१ जना सर्वसाधारण लाभान्वित भएका छन् ।
जानकी गाउँपालिकाको अनुरोधमा ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्र बाँकेको आयोजनामा सम्पन्न उक्त शिविरमा आएका सर्वसाधारणलाई चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण गराएर निःशुल्क औषधि समेत वितरण गरिएको थियो ।
विश्व स्वास्थ्य दिवसको अवसर पारेर शनिवार विहान १० बजेदेखि अपरान्ह २ बजेसम्म सञ्चालित उक्त शिविरबाट वडा नं. ४ अन्तर्गत र आसपासका गाउँका ८४ जना महिला र ६७ जना पुरुष सर्वसाधारण लाभान्वित भएका थिए ।
केन्द्रकी अध्यक्ष श्रीमती लता शर्माले दिनु भएको जानकारी अनुसार उक्त शिविरमा सबभन्दा कम उमेर २ महिनाको बालकदेखि ८९ वर्षिय वृद्धले स्वास्थ्य परीक्षण गराएर निःशुल्क औषधि प्राप्त गरे ।
सो शिविरमा आँखाको दुखाई, कानबाट पिप बग्ने, कान पाक्ने, छाती र पेट दुख्ने, जिउ चिलाउने, महिलाहरुको सेतो पानी बग्ने आदि सम्बन्धि समस्याबाट पीडितहरु बढी आएका सम्बन्धित चिकित्सकले जानकारी दिए ।
शिविरमा नेपालगन्ज मेडिकल कलेजका बालरोग विशेषज्ञ डा. दीपक पौडेल, नाक कान घाँटी रोग विशेषज्ञ डा.श्रीधर पौडेल र डा.विनायक विवेक दास, स्त्रीरोग विशेषज्ञ डा. अस्मिता गौतम र डा.रोजिना सिद्दीकी, मेडिसिन विशेषज्ञ डा.उमेश ढुंगाना र डा. राजेश गिरी तथा डा. दीपेन्द्र थापाले स्वास्थ्य परीक्षण गरेका थिए ।
जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितृभक्त गिरिले भविष्यमा अन्य संस्थाहरुसंग सहकार्य गरेर गाउँपालिकाको अरु वडाहरुमा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने सोंच रहेको बताए ।
मेडिकल कलेजका चिकित्सकहरु आवद्ध काइण्ड हेल्थ सोसाइटीको सहकार्यमा सम्पन्न सो शिविरमा सहयोग गर्नेहरुमा शिविरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलविक्रम राना, केन्द्रकी उपाध्यक्ष तारा केसी, कोषाध्यक्ष ममता आचार्य, सदस्य नितेश गिरि, स्वास्थ्यकर्मी कृष्ण देवकोटा, रमण शर्मा, निखिल जायसवाल लगायतले सहयोग गरेका थिए ।

प्रकाशित मिति : २४ चैत्र २०७४, शनिबार ११:५६