सूचनाको शक्ति - The Power Of Information

        

जनहितमा नेपाली सेना, विद्यालयलाई अपांगमैत्री शौचालय हस्तान्तरण


कविता उपाध्याय । लिबाङ्ग (रोल्पा) । खड्ग दल गण लिबाङ ब्यारेक रोल्पाले सदरमुकामस्थित तारा माध्यमिक विद्यालयलाई अपांगमैत्री शौचालय हस्तान्तरण गरेको छ । पृतनापति उपरथि राजेन्द्र कार्कीले जिल्लाका प्रबुद्ध ब्यक्तिहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ओविलाल महरालाई साँचो बुझाएर शौचालय हस्तान्तरण गरेका हुन् ।
सदरमुकाम नजिक रहेरपनि विद्यालयमा उचित शौचालय नभएको हुँदा गणको ध्यानाकर्षण भएको खड्ग दल गणका गणपति अजय गुरुङले जानकारी दिए । उनका अनुसार सेनाको श्रमदानबाट निर्मित शौचालयबाट विद्यालयका शिक्षक, शिक्षिका तथा छात्रछात्रा लाभान्वित हुनेछन् । यसबाहेक नेपाली सेनाले जिल्लामा विभिन्न जनहितका कामहरु गर्दै आएको छ ।
सेनाकै श्रमदानबाट वीर बलभद्र मावि थबाङ रोल्पामा दुईकोठे पक्की कक्षाकोठाको निर्माण सम्पन्न भएको छ । साथै जिल्लाका विभिन्न स्थानमा बृक्षारोपण, अत्यावश्यक समयमा रक्तदान मेडिकल क्याम्प, सरसफाइ कार्यक्रम, मन्दिरहरुको जिर्णाेद्धार तथा बिपद् ब्यवस्थापन अन्तरगत आगलागी र पहिरो रोकथामका काममा समेत नेपाली सेनाले सक्रियरुपमा भूमिका निर्वाह गर्दै आएको छ ।
यसैगरी २० वर्ष अघिदेखि रोकिएको सुलिचौर हुँदै थबाङ जोड्ने शिरक्याङ भीरको पहर केही समयअघि नेपाली सेनाले फोरेर बाटो खोल्ने काम गरेपछि सुलिचौरबाट उवा हुँदै थबाङका लागि आवागमनमा सहज भएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७४, शनिबार ११:२०