सूचनाको शक्ति - The Power Of Information

        

‘जनयुद्ध’ शब्द उल्लेख नभए पार्टी एकता हुन गाह्रो : थापा


बुटवल । नेकपा माओवादी केन्द्रका केन्द्रिय कार्यालय सदस्य तथा प्रदेश नम्बर ५ ईन्चार्ज मणी थापाले नकेपा एमालेसँग हुने पार्टी एकताको मस्यौदामा जनयुद्ध शब्द उल्लेख नभएमा अफ्ठ्यारो हुने बताएका छन् ।
प्रेस सेन्टर प्रदेश नम्बर ५ ले आज बुटवलमा आयोजाना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले जनयुद्ध साझा धारणा बनेको भन्दै जनयुद्धलाई नै टेकर पार्टी एकता हुने बताए । जनक्रान्ति र जनयुद्धमा फरक भएको भन्दै उनले यसमा विवाद गर्नुपर्ने विषय नभएको समेत बताएका हुन् ।
नेता थापाले दुई पार्टीबीच सम्मानजनक एकता हुनुपर्नेमा जोड दिँदै नेपाललाई समाजवादको दिसामा लैजाने हो भने संख्याका आधारमा नभई बिचार र सम्मानका आधारमा पार्टी एकता हुनुपर्ने बताए । उनले एमाले मास बेस पार्टी र माओवादी केन्द्र क्याडर बेस पार्टी भएकाले सदस्यलाई आधार बनाउनु उपयुक्त नहुने पनि बताए ।
नेपाल भारत सम्वन्धमा सम्वन्धमा बिगतमा खरो टिप्पणी गर्दै आएका थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको यस पटकको भारत भ्रमण नेपालको राष्ट्रिय चाहना अनुरुपको भएको दाबी गरे । उनले भने, ‘नेपाल भारतको सम्वन्ध बिगतको जस्तो रहेन । भारतीय प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री ओलीलाई तीन पटक फोन गर्नु, बिदेशमन्त्री शुष्मा स्वराजलाई भेटन पठाउनुले नेपालले मात्रै भारतलाई प्राथमिकता दिने मात्र होइन भारतले पनि दिन्छ भन्ने हो ।’
पत्रकार भेटघाटमा वाईसीयलका महासचिव सुबोध श्रीपालीले दुई पार्टीबीचको एकतामा समान सहभागिता नभई कोही हेपिने र दबिन गरी भए युवाहरुलाई मान्य नहुने बताए । उनले ५०÷५० प्रतिशतको आधारमा पार्टीमा प्रतिनिधित्व आवश्यक रहेको धारणा राखेका हुन् । प्रदेश नम्वर ५ मा वाइसीएल लागुऔषध कारोवार गरी युवाहरुलाई कुलतमा फसाउनेका बिरुद्ध आक्रामक भएर प्रस्तुत हुने चेतावनी दिए ।

प्रकाशित मिति : २३ चैत्र २०७४, शुक्रबार ०६:५७