सूचनाको शक्ति - The Power Of Information

        

गर्भपतन गराउने किशोरीको संख्या बढ्दो, १५ हजार किशोरीले गरे गर्भपतन

काठमाडौ । २० वर्ष नपुग्दै गर्भपतन गराउने किशोरीको संख्या वर्षेनी बढ्दै गएको पाइएको छ । १ वर्षमा झण्डै १५ हजार किशोरीले गर्भपतन गराएको सरकारी तथ्यांक छ । तीमध्ये अधिकांश किशोरी अविवाहित रहेको र अवैध शारीरिक सम्वन्धका कारण २० वर्ष नपुग्दै गर्भपतन गराउने प्रवृति बढे पाइएको छ ।
नेपालमा १४ हजार ६९९ किशोरीले २० वर्ष नपुदै गर्भपतन गराएको स्वास्थ्य सेवा विभागले जनाएको छ । विभागकाअनुसार जसमध्ये ७ हजार ३०० किशोरीले औषधी प्रयोग गरेर गर्भपतन गरेका छन् । ७ हजार ६९६ जनाले शल्यक्रियामार्फत गर्भपतन गराएको सरकारी तथ्यांक छ । गर्भपतन गराउनेको संख्या यो भन्दा धेरै रहेको सरकारी अनुमान छ ।
गर्भपतन गराउनेमा सबैभन्दा बढी राजधानी काठमाडौंमा रहेको छ । काठमाडौंमा मात्र ४ हजार ७१७ जना किशोरीले २० वर्ष उमेर नपुदै गर्भतन गराएको विभागले जानकारी दिएको छ । जसमा २ हजार ७८१ जनाले औषधी र १ हजार ९३६ जनाले शल्यक्रिया मार्फत गर्भपतन गराएका छन् ।
राजधानी काठमाडौंपछि बढी गर्भपतन गराउनेमा दाङ जिल्ला रहेको छ । दाङमा १ हजार ६२९ किशोरीले २० वर्ष नपुदै गर्भपतन गराएको विभागले जनाएको छ । जसमा १२४ जनाले औषधी र १ हजार ५०५ जनाले शल्यक्रिया मार्फत गर्भपतन गराएका थिए ।
यस्तै सर्लाहीका ८०१ किशोरीले गर्भपतन गराएका थिए । जसमा ११५ जनाले औषधी र ६८६ जनाले अप्रेशन मार्फत गर्भपतन गराएका थिए । ६ वटा जिल्लामा २० वर्ष मुनिका किशोरीले गर्भपतन नै गराएका छैन्न । रुकुम, बझाङ, मुस्ताङ, मनाङ, तेह्रथुम र रसुवामा गर्भपतन गराएका छैनन् ।
सुरक्षीत गर्भपतन महिलाहरूको प्रजनन अधिकार हो । नेपालमा सुरक्षित गर्भपतन सेवा २०६० ले १२ हप्तासम्मको गर्भवती महिलाको मञ्जुरीमा पतन गर्न कानूनले मान्यता दिएको छ । महिलको स्वास्थ्यमा असर र हाडनाता भएको अवस्थामा १८ हप्तासम्मको गर्भपतन गर्न पाइने व्यबस्था छ ।
लिङ्ग पहिचान गरेर, गर्भवती महिलाको सहमतिविना र १२ हप्ताभन्दा बढिको गर्भपतन गराउन कानूनले बन्देज लगाएको छ । अप्ठ्यारो परिस्थितिमा विशेषज्ञ र अनुमति प्राप्त चिकित्सकले मात्र १८ हप्तासम्मको गर्भपतन गर्न पाउने कानूनी व्यबस्था छ ।
सकेसम्म गर्भ रहन नदिनको लागि यौन सम्पर्कको समयमा परिवार नियोजनका अस्थायी र स्थायी साधनहरुको प्रयोग गर्नुपर्छ । गर्भपतन गरेको १० दिन भित्र तुरुन्तै अर्को गर्भ रहनसक्ने सम्भावना भएकोले गर्भपतन गरिसकेपछि परिवार नियोजनको साधनको प्रयोग गर्नुपर्ने चिकित्सकहरु बताउछन् ।
काठमाडौँ जिल्ला जनस्वास्थ्यका सूचना अधिकारी पुष्कर विजुक्छे गर्भपतन गराउँदा महिलामा रक्तअल्पता, सेतो पानी बग्ने, बाँझोपन हुने, तल्लो पेट दुख्ने, कमजोर हुने जस्ता समस्या आउने गरेको बताउछन् ।

प्रकाशित मिति : २३ चैत्र २०७४, शुक्रबार ०६:२३