काठमाडौं । जगदम्बा ग्रुपले सिमेन्ट उत्पादन विस्तार गरी दोब्बर बनाउने भएको छ । सञ्चालनमा आउन लागेका ठुला सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न जगदम्बाले सिमेन्ट उत्पादन थप्न लागेको हो । ग्रुपअन्तर्गतको शुभश्री जगदम्बा सिमेन्टले दैनिक ८० हजार बोरा सिमेन्ट उत्पादन गर्ने ग्रुपका सिनियर ब्राण्ड म्यानेजर जगन्नाथ दाहालले बताए ।
उनका अनुसार यसअघि उद्योगले दैनिक ४५ हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको थियो । सिमेन्ट उत्पादन बढाउन उद्योगले नयाँ विदेशी प्रविधिको जडान गरेको छ । विश्वकै उत्कृष्ट युरोपियन ‘एफएल स्मिथ’ कम्पनीबाट भर्टिकल रोलिङ मिल ‘भिआरएम’ प्रविधि भित्रयाइ सञ्चालनमा ल्याएको दाहालले जानकारी दिए । पूर्णरुपमा प्रविधि सञ्चालन भएपश्चात उद्योगले दैनिक ८० हजार बोरा सिमेन्ट उत्पादन हुने उनको भनाइ छ ।
‘नयाँ प्रविधि सञ्चालनमा ल्याएको २ साता नाघिसकेको छ,’ उनले भने ‘उक्त प्रविधि सञ्चालनमा आएसँगै सिमेन्टको उत्पादन तथा गुणस्तर बृद्धि हुन थालेको छ ।’ उनका अनुसार १र२ महिनाभित्रै पूर्ण क्षमतका साथ लक्ष्यअनुसार सिमेन्ट उत्पादन हुनेछ । पहिलेदेखि सञ्चालित उद्योग हाताभित्रै जगदम्बाले आफ्नो नविन प्रविधि सञ्चालनमा ल्याएको हो । पहिले कम्पनीले प्रतिदिन ४५ हजार बोरा मात्रै सिमेन्टको उत्पादन गर्दै आएको थियो ।
नयाँ प्रविधि जडानसँगै उत्पादन झण्डै दोब्बर हुने भएको हो । ‘भिआरएम’ प्रविधिमार्फत उत्पादित सिमेन्ट गुणस्तरीय हुनका साथै कुनै पनि संरचनाको पकड शक्ति समेत मजबुत हुने कम्पनीको दाबी छ । कम्पनीको अनुसार पुरानो प्रविधिको तुलनामा विद्युतको खपत निकै कम गर्ने ‘भिआरएम’ प्रविधि वातावरणमा प्रदुषण नफैलाउने किसिमको छ ।
नेपाली सिमेन्ट उद्योगको क्षेत्रमा लगानी बृद्धि गर्दै नवीन अत्याधुनिक प्रविधिको प्रयोग शुरु गरेको उनले बताए । मुलुकमा हाल भइरहेको पुनर्निर्माणसँगै सिमेन्ट लगायको निर्माण सामाग्रीको अत्यधिक मागलाई मध्यनजर गर्दै कम्पनीले उक्त प्रविधि प्रयोग गर्न शुरु गरेको उनको भनाइ छ । उनका अनुसार प्रविधि वातावरणमैत्री हुनकासाथै कम उर्जाको खपत गर्नमा सहयोगी रहेको छ ।
ग्रुपल तेस्रो सिमेन्ट उद्योग स्थापनाको योजनामा पनि अघि सारकेको छ । त्यसको लागि कम्पनीले काम अघि बढाइसकेको छ । ‘त्यसमा पनि ‘भिआरएम’ प्रविधि नै राख्ने तयारी भइरहेको दाहालले जानकारी दिए । सोही प्रविधिद्वारा सुसज्जित तेस्रो उद्योगको उत्पादन आएसंगै जगदम्बा ग्रुपले उत्पादन बढाएर १ लाख १० हजार बोरा प्रतिदिन सिमेन्ट उत्पादन गर्ने भएको छ । नेपालमा पछिल्लो समय सिमेन्ट उत्पादनमा विदेशी लगानी समेत ओइरिन थालेको छ ।
चीन र नेपाली संयुक्त लगानीमा दैनिक ६ हजार टन सिमेन्ट उत्पादन हुने गरी होङसी सिवम् सिमेन्ट उद्योग आउदो बैशाखदेखि सञ्चालनमा आउदै छ । यो उद्योगले नेपालमा ३७ अर्ब रुपैयाँ लगानी गरेको छ । यस्तै चिनियाँ लगानीमा दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यकासाथ हुवासिन नारायणी सिमेन्ट उद्योग पनि सञ्चालनमा आउने तयारीमा छ । उक्त उद्योगले पनि १५ अर्ब रुपैयाँ वैदेशिक लगानी ल्याउने भएको छ ।
।