काठमाडौं । सेयर लगानीकर्ता र ब्रोकरका प्रतिनिधिहरुले बुधबार अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेका छन् । पुँजी बजारका तमाम समस्या र आगामी दिनमा गर्नुपर्ने सुधारका विषयहरुका बारेमा लगानीकर्ता र ब्रोकरका प्रतिनिधिहरुले अर्थमन्त्रीलाई अवगत गराएका हुन् । नेपाल इन्भेष्टर्स फोरमका महासचिव राजन लम्साल, सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालसहित अन्य केही लगानीकर्ता भेटमा सहभागी थिए । यसैगरी, ब्रोकरहरुका तर्फबाट ब्रोकर्स एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीसहित नरेन्द्र सिजापति र राजकुमार तिमिल्सिना पनि अर्थमन्त्री भेट्ने टोलीमा सहभागी भएका थिए ।
ब्रोकर्स एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मीले सेयर बजारमा भ्याट लागू गर्न नहुने अर्थमन्त्रीसँग माग गरे । भ्याट प्रकरणले सेयर बजारमा अन्योल पैदा भएको छ । लगानीकर्ताहरु पनि भ्रमित भएका छन् । बैंक तथा वित्तीय संस्था सरह ३० प्रतिशत कर तिर्न आफूहरु तयार भएको बताउँदै उनले भ्याट भने कुनै पनि हालतमा लगाउन नहुने अर्थमन्त्रीलाई सुनाए । यस्तै, पुँजी बजारको दिगो विकास गर्न बजार निर्माताको तत्काल व्यवस्था गर्नुपर्ने अध्यक्ष रेग्मीले अर्थमन्त्रीसँग आग्रह गरे ।
अहिलेको अवस्थामा बजार सुधार्न अनलाइन प्रणाली छिटो कार्यान्वयनमा ल्याउनुपर्ने धारणा पनि अध्यक्ष रेग्मीले राखेका थिए । सेयर धितोकर्जालाई नीतिगत व्यवस्था गरेरै एकरुपता ल्याउनुपर्ने बताए । बजार घटबढ हुँदा सेयर धितो कर्जाको प्रतिशत पनि तलमाथि गरिंदै आएको छ । यसबाट अझै अन्योल र अस्थिरता उत्पन्न भएको छ । यसर्थ, नीतिगत व्यवस्था गरेर सेयर धितो कर्जा अनुपातलाई एउटा निश्चित प्रतिशत कायम गर्नुपर्ने अर्थमन्त्रीलाई अवगत गराए ।
यस्तै, नेपाल इन्भेष्टर्स फोरमका महासचिव राजन लम्सालले अल्पकालीन कारोबारी र दीर्घकालीन लगानीकर्तालाई एउटै करको दर लागू गरिनु व्यवहारिक नभएको अर्थमन्त्रीलाई सुनाएका थिए । हाल व्यक्तिगत लगानीकर्तालाई ५ प्रतिशत र संस्थागतलाई १० प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था छ । महासचिव लम्सालले यस्तो लाभकर कारोबारी र दीर्घकालीन लगानीकर्तालाई फरकफरक लागू गर्नुपर्ने बताएका हुन् ।
भेटपछि अर्थमन्त्री डा. युवराज खतिवडाले भ्याटका विषयमा भने खासै बोलेनन् । यसमा अध्ययन गर्ने मात्र भने । बजार निर्माता (मार्केट मेकर) ल्याउन विज्ञ समूह अभाव रहेको अर्थमन्त्रीको भनाई थियो । मार्केट मेकरको व्यवस्था गर्नुअघि यससम्बन्धी गहिरो ज्ञान भएका विज्ञहरुको टोली गठन गर्नुपर्छ । त्यसपछि मात्रै मार्केट मेकरको व्यवस्था गर्न सकिन्छ, उनले भने । म्युचुअल फन्ड र मर्चेन्ट बैंकरहरुको उदाहरण दिंदै अहिले उनीहरु ब्याज खाएर मात्रै बसेका छन् ।
यसैगरी, सेयर बजारमा अनलाइन प्रणालीले अहिले बढेको आपूर्ति खपत गर्न सहयोग गर्नेमा अर्थमन्त्री पनि केही हदसम्म सहमत भए । यस्तै, हाइड्रोपावर क्षेत्रमा प्रत्यक्ष नियामक नहुँदा अप्ठेरो परेको भन्ने लगानीकर्ताको प्रश्नमा अर्थमन्त्री खतिवडाले यस बारेमा आफूलाई पनि अवगत भएको बताए । तर धितोपत्र बोर्डले आइपीओ, हकप्रद तथा एफपीओ ल्याउँदा विस्तृत अध्ययन गरेर मात्र अनुमति दिन्छ होइन र ? भन्दै उल्टै प्रश्न गरेका थिए । यसबारेमा आफूले थप अध्ययन गरी कदम चाल्ने पनि अर्थमन्त्री खतिवडाले बताए । अर्थमन्त्री खतिवडाले सेयर बजारमा अझै आपूर्ति बढ्छ भन्न पनि चुकेनन् । हामी थुप्रै परियोजना ल्याउँदैछौं । हाइड्रोपावर, उत्पादनमूलक, पूर्वाधार सहित अन्य थुप्रै क्षेत्रमा नयाँ परियोजना आउनेछन् । ती कम्पनीहरुले सर्वसाधारणमा पनि सेयर जारी गर्ने भएकले बजारमा अझै ठूलो आपूर्ति बढ्नेछ, उनको भनाई थियो ।
।