सूचनाको शक्ति - The Power Of Information

        

सरकारी निकायहरुबीच समन्वय नभएर नै भद्रगोल बढ्यो : ललितपुर मेयर महर्जन

कांग्रेस पार्टी सभापति शेरबहादुर देउवासँग सय रुपैंया बाजी राखेर ललितपुरबाट मेयर पदमा चुनाव जितेका चिरीबाबु महर्जन अहिले ललितपुर महानगरलाई सफा र सुन्दर बनाउने अभियानमा जुटेका छन् । सानै उमेरदेखि समाजसेवा र राजनीतिमा लागेका महर्जन ललितपुरलाई कसरी हुन्छ सिंगार्ने कोसिस गरिरहेका छन् । ललितपुर महानगरपालिकाका मेयर महर्जनसँग न्युज कारोबारका लागि सञ्जय श्रेष्ठले गरेको कुराकानी :

१. ललितपुर महानगरपालिकालाई उत्कृष्ट बनाउने तपाईको योजना के छ ?
– ललितपुरलाई उत्कृष्ट सहर बनाउन हामीले ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउँदै छौँ । महानगर भित्र रहेको सडकलाई यान्त्रिकीकरण गर्ने तयारी अगाडि बढी सकेको छ । सहरलाई व्यवस्थित बनाउने हिसाबले काम गरिरहेका छौं भने विकास निर्माणको कामलाई पारदर्शी बनाएर अघि बढ्दै छौं ।

२.ललितपुर महानगर भित्र हिड्दा माक्स नलगाई हिंड्ने वातावरण कहिले बाट हुन्छ ?
– यो संवेदनशिल छ । यो विषयमा केन्द्र सरकार तथा प्रदेश सरकारको पनि त्यति नै आवश्यक छ । महानगरले गर्ने कामहरु हामीले गरिरहेका छौं । महानगर भित्र रहेका विभिन्न संघ सस्थाहरु सँग पनि यस विषयमा छलफल तथा गोष्ठीहरु गर्दै छौं । आशा गरौं हाम्रो शहर अवश्य राम्रो हुने छ ।

३.काठमाडौ उपत्यका धुलो, धुवाँले अस्त व्यस्त भईरहँदा तपाई जस्तो जिम्मेवार व्यक्तिलाई राम्रो गर्नु पर्छ भन्ने कुराले मन पोल्दैन ?
हामी निर्वाचित भएर आएको धेरै भएको छैन । स्थानीय तह खाली भएको १६ बर्ष पछि हामी आएका छौँ । निश्चय नै हामी संग धेरै समस्या छ । अब हामीले यसलाई समाधान गर्नको लागि महानगर मातहतका सबै कार्यालयलाई एक ठाउँमा राखेर आफ्नो कार्ययोजना निर्माण गर्न लगाउँछौ । त्यस पछि महानगरले एउटा कार्ययोजना बनाउँछ । मैले देखेको समस्या के हो भने एक अर्का बिचको समन्वयको अभाव हो । महानगरले अब सबै संग समन्वय नगरी कसैलाई पनि काम गर्ने अधिकार दिंदैन । कम्तिमा एकले अर्कोको कार्ययोजना थाहा पाउनु पर्छ । अर्को कुरा यहाँ निर्माणको जिम्मा लिने ठेकेदारहरुको लापरबाही छ । स्थानीय तह मातहतमा घ वर्गका ठेकेदार छन्, तर क,ख,ग वर्ग को ठेकेदारलाई केन्द्रका ठुला नेता र मन्त्रीले नै पालेका छन् । अब ललितपुर महानगरले सबै काम आफ्नै प्रत्यक्ष निगरानीमा गर्छ ।

४.यो उपत्यका अस्त व्यस्त भद्रगोल, समस्या नै समस्या हुनुको पछाडि नेता, कर्मचारी, र ठेकेदार बिचको मिलेमतो हो ?
अब यो ठ्याकै मिलेर नै भएको त हैन, एक अर्का बीचको समन्वय नभएर पक्कै भएको हो । हाम्रोमा कस्तो खालको संस्कार छ भने एकले अर्कालाई चिन्दैन । सडक विभागले विद्युत प्राधिकरणलाई चिन्दैन, ढलनिकासले सडक विभागलाई चिन्दैन त्यहीको परिणाम हो । अब स्थानीय तहले त्यसको समाधान खोज्नु पर्छ ।

५.तपाईको कार्यकालमा ललितपुर महानगर भित्र बस्ने मानिसको आर्थिक अवस्था कस्तो हुन्छ ?
अब मलाई ठ्याक्कै कति छ त थाहा छैन तर मेरो कार्यकालमा राम्रो हुन्छ । किन भने ललितपुर भनेको थोरै दिमाग लगाउँदा पनि धेरै विकास गर्न सकिन्छ । पाटन तथा ललितपुर क्षेत्रमा आउने पर्यटकलाई २ दिन बस्ने वातावरण बनाए मात्र पनि धेरै आर्थिक आम्दानी गर्न सक्छौँ । त्यसको लागि हामीले महानगर भित्र उत्कृष्ट खालको होम स्टे निर्माण अभियान पनि चलाउँदै छौं ।

६.उद्योगी, व्यवसायीहरु कर छल्ने गर्छन, करको दायरामा कसरी ल्याउनु हुन्छ ?
यो देशको विकराल समस्या हो । मैले यसलाई दुई दृष्टि बाट लिएको छु । पहिलो नतिर्ने मानसिकता र अर्को तिर्नु पर्छ भन्ने तर प्रशासनिक समस्याले नतिर्ने । अब हामीले नतिर्नेलाई घरमै गएर पूर्जी काट्ने र तिर्नेको लागि सरलीकरण गर्ने र एक प्रतिशत छुट दिने व्यवस्था गरेका छौं । त्यसो हुँदा नयाँ करदाता संख्या ५ हजार बढेका छन् । करको दायरा बढाएका छौं ।

७. विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्र किन पुनःनिर्माणमा ढिला भएको हो ?
पाटन दरबार क्षेत्र पुनः निर्माणको टारगेट ३ बर्षको हो । यो अवधिमा हामी सकाउँछौँ ।

८.धार्मिक सम्पदामै आँच आउने गरी रहेको कृष्ण मन्दिर भित्र तथा आस पासका व्यवसायीहरुको व्यवस्थापन गर्नु हुन्छ की हुँदैन ?
मन्दिर भित्रको व्यापारीहरु असार भित्र सर्छन् । बाहिरको व्यापारीको बिषयमा कुरा हुँदै छ । उहाँहरु पनि मान्नु हुन्छ ।

९.महानगर भित्र रहेको धार्मिक स्थलको संरक्षण र प्रबद्र्धन कसरी गर्नुहुन्छ ?
धार्मिक स्थलहरुको संरक्षणमा विशेष फोकस गरिने छ ।

प्रकाशित मिति : २१ चैत्र २०७४, बुधबार २३:४४