काठमाडौं – नेपाल वायुसेवा निगमले ६ वटा ट्वीनअटर र थप २ वटा वाइड बडी जहाज गरी ८ जहाज खरिद गर्न लागेको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै निगमका प्रवन्ध निर्देशक शुगतरत्न कंशाकारले पुराना जहाज प्रतिस्थापन गर्दै नयाँ विमान खरिद गर्न लागिएको बताए ।
फान्सको कम्पनीसँग खरिद सम्झौता भएको वाइडबडि विमान आगामी जेठसम्म आइपुग्ने उनको भनाइ छ । अन्तर्राष्ट्रिय र आन्तरिक सेवा दुवैतर्फ विमान थप्दै निगमको आय बढाउदै लैजाने नीति रहेको बताउँदै उनले एयर बस खरिद गर्न प्रक्रिया सुरु गरिसकेको पनि जानकारी गराए ।
अबको तीन महिनापछि दुइटा ठूला (वाइड बडी ए ३३०) विमान ल्याउने तयारी गरिरहेको नेपाल वायुसेवा निगमले अमेरिकाको न्युयोर्कसम्म पुग्ने महत्त्वाकांक्षी योजना सार्वजनिक गरेको छ । कंसाकारले भने, ‘वाइडबडी ल्याइसकेपछि हाम्रो गन्तव्य लन्डनसम्म हो। लन्डनपछिको अर्को हब न्युयोर्क हुनेछ।’ पर्यटनका लागि न्युयोर्क नपुगी नहुने सुनाउँदै कंसाकारले थपे, ‘सिड्नी, जापान, कोरिया र युरोपियन सहरमा जानैपर्छ। इथोपियन एयरलाइन्स क्यानडा र अमेरिकाका ३/४ वटा सहरमा जान सक्छ भने हामी किन नसक्नु? हाम्रो भविष्यको योजना यही हो।’ न्युयोर्कसम्म पुग्ने योजनामा उनले काठमाडौंदेखि लुक्लाको उडानको तुलनामा न्युयोर्कको उडान सजिलो हुने बताए। ‘यहीँ हुनुहुन्छ हाम्रा क्याप्टेनसाप, सोध्नुहोस् लुक्ला उड्नुभन्दा न्युयोर्क सजिलो छ।’
जहाज नभएकै कारण निगम खुम्चिएको जनाउँदै प्रवन्ध निर्देशक शुगतरत्न कंशाकारले आगामी वर्ष कम्तीमा दुइटा विमान थप्दै लैजाने महत्त्वाकांक्षी योजना सुनाए। २०४६ साल ताका निगम ११ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उड्थ्यो। मुलुकभित्रका ३९ वटा विमानस्थलमा यसको एकाधिकार थियो। तर, अहिले अन्तर्राष्ट्रियतर्फ आठवटा गन्तव्यमा मात्रै उडान हुँदै आएको छ। आन्तरिकतर्फ २३ वटा गन्तव्यमा निगमले उडान भर्दै आएको छ। तर, यीमध्ये अधिकांश दुर्गम भेगका नियमित उडान हुँदैनन्।
हालको कार्यतालिकाअनुसार साउन मसान्तभित्र निगमले दुइटा वाइडबडी नेपाल ल्याइसक्नेछ। यी विमानको पछिल्लो अवस्थाबारे जानकारी लिन निगमले निमित्त महाप्रबन्धक गणेश चन्दको नेतृत्वमा ८ जना अधिकारीहरूलाई चैत २८ गते फ्रान्सको टुलुज पठाउँदै छ। उक्त टोलीमा निगमलाई ऋण उपलब्ध गराउने कर्मचारी सञ्चय कोषबाट तीन र नागरिक लगानी कोषबाट दुईजना कर्मचारी छन् भने पर्यटन मन्त्रालयका एटीसी अधिकृत मुकेश डंगोल र निगमका वित्तीय निर्देशक उमेश पौडेल रहनेछन्।
निगमसँग अहिले अन्तर्राष्ट्रिय उडानमा दुइटा एयरबस ए ३२० र एउटा बोइङ ७५७ छन्। साढे २९ वर्ष पुरानो बोइङलाई पनि निगमले बिक्री गर्ने भएको छ। निगमले अर्को बोइङ गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टलाई बिक्री गरिसकेको छ। तर, स्वामित्व हस्तान्तरण भइसकेको छैन। अध्यक्ष भट्टलाई निगमले साढे ३० वर्ष पुरानो विमान १५ करोड हाराहारीमा बिक्री गरेको हो। वाइडबडी विमान ल्याइएपछि निगमले अन्तर्राष्ट्रिय हवाई यातायातको व्यापार १० प्रतिशतबाट बढेर १७ हाराहारी पुग्ने दाबी गरेको छ।
।