सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री ओलीले भनेर शिर निहुरिने गरी भारतसँग नयाँ सम्झौता गर्दिन’ 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीन दिने राजकीय भारत भ्रमण विशेष गरी सम्झौतामा भन्दा पनि सम्बन्ध थप मजबुत पार्न केन्द्रित हुने बताएका छन् । संसदमा भारत भ्रमण बारे जानकारी दिंदै उनले भारतसँग नयाँ नयाँ सम्झौता गर्नुभन्दा पनि पुरानै सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्दै लैजाने बताएका छन् । उनको यो अभिव्यक्ति भारतसँग नयाँ सम्झौताहरु नगर्ने बरु पुरानैलाई कार्यान्वयन गर्दै लैजाने भन्नेमा केन्द्रित छ । प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा देशको शिर निहुरिने र लज्जाबोध हुने कुनै सहमति, सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन् । यस पटकको प्रधानमन्त्रीको भारत भ्रमण भारतसँग आर्थिक र राजनीतिक रुपमा सम्बन्ध मजबुत बनाउने दिशामा केन्द्रित रहने देखिन्छ ।
उनले भारतस“ग कृषि, जलमार्ग, रेलमार्ग र पर्यटन प्रबद्र्धनका विषयमा आफ्ना समकक्षी नरेन्द्र मोदीसँग कुराकानी गर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनर्निर्माणमा भारतले घोषणा गरेको सहयोग कार्यान्वयनलाई पनि भ्रमणमा प्राथमिकताका साथ उठाइने बताए । ओलीले भारतका जायज चासोका विषयमा सम्बोधन गर्न सरकार तयार रहेको प्रष्ट पारे ।
भारतसँग नेपालको व्यापार घाटा चुलिंदै गएपछि व्यापार घाटा सन्तुलनमा ल्याउन यस पटक प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी मोदीसँग यस विषयमा कुरा गर्ने बताएका छन् । भारतसँग नेपालको व्यापार घाटा ६ खर्ब भन्दा बढी पुगेको छ । यो घाटा कुल व्यापार घाटाको ६६ प्रतिशत हो । व्यापार घाटा कम गर्न सरकारले उर्जा उत्पादनमा जोड दिने र उर्जाको व्यापार गर्ने रणनीति पनि अघि सारेको छ । यस पटकको भ्रमणमा उनले पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको कामलाई अघि बढाउने बताएका छन् ।
नेपाल अब विकासमा अगाडि बढ्ने भन्दै प्रधानमन्त्री ओलीले छिमेकीहरुसँग पनि पारस्परिक लाभ र सहयोगपूर्ण सम्बन्ध कायम राख्नुपर्ने र आफ्नो भ्रमणलाई उपलब्धिमूलक बनाउन प्रयत्न गर्ने बताए । अब मित्रताको गीत गाउने मात्र नभई विकासमा सहकार्य गरेर लाभ लिनु पर्ने भन्दै प्रधानमन्त्री ओलीले देशको अहित हुने गरी कुनै काम नगर्ने स्पष्ट पारेका छन् । छिमेकसँगको सम्बन्ध राष्ट्रिय हितको संरक्षण गर्दै समानता, पारस्पिरक लाभ र पारस्परिक सम्मानका आधारमा हुने उनको भनाइ छ ।
प्रधानमन्त्रीको यस पटकको भ्रमण मुलत राजनीतिक भन्दा पनि आर्थिक विषयमा केन्द्रित हुने देखिन्छ । उनले भारतसँग नेपालले झेल्नुपरेका विभिन्न समस्याका विषयमा पनि आफ्ना समकक्षीसँग कुरा उठाउने बताएका छन् । ग्यास बुलेटको समस्या सुल्झाउन पहल गर्ने देखि लिएर उर्जाको व्यापार गर्नेसम्मको योजना प्रधानमन्त्रीले अघि सारेका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७४, मंगलवार ११:३५