सूचनाको शक्ति - The Power Of Information

        

सरकारलाई बाढी र डुबान पीडितको आग्रह : भारत सरकारसँग प्रस्ट कुरा गरेर समस्या टुंग्याऊ !


बाँके । भारतले सीमावर्ती क्षेत्रमा एकतर्फी रुपमा निर्माण गरेका तटबन्ध तथा सडक बाँधका कारण बर्सेनि बाढी तथा डुबानको चपेटामा पर्दै आएका बाँके, नवलपरासी सुनसरी र मोरङका बाढी तथा डुबान पीडितहरुले आफूहरुको समस्या समाधानका लागि पहल गरिदिन सरकारको ध्यानाकर्षण गरेका छन् ।
आज परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटेर पीडितहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका हुन् । उनीहरुले भारतले सीमाक्षेत्रमा निर्माण गरेका तटबन्ध तथा सडक बाँधका कारण नेपालीहरुले खेप्नुपरेको बाढी र डुबानको समस्याको अल्पकालीन र दीर्घकालीन समाधानका लागि भारत सरकारसँग प्रस्ट कुरा राख्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
राष्ट्रिय सभा सदस्य एब बाँध सरोकार मञ्च नेपालका अध्यक्ष रामलखन हरिजनको नेतृत्वमा बाढी, डुबान तथा वन्यजन्तु पीडितहरुले परराष्ट्रमन्त्री ज्ञवालीलाई भेटेका हुन् । भारतले नेपालको सहमतिबिना नै सीमावर्ती क्षेत्रमा निर्माण गरेका महलीसागर, लक्ष्मणपुर, कलकलवा, रसियावाल–खुर्द–लोटन, कैलाशपुरी, कोइलाबास, लुना, खाँडो–कुनौली आदि बाँध तथा तटबन्धका कारण नेपाली भूभागमा बर्से्नि डुबान तथा कटान भइरहेको छ । ती बाँधका कारण हरेक वर्ष वर्षायाममा खेतीयोग्य जमिन बगरमा परिणत हुनुका साथै बालीनाली समेत नष्ट हुने गरेको छ ।
यस्तो अवस्थामा सीमावर्ती क्षेत्रका कैयौं बासिन्दा आफ्नो थातथलोबाट विस्थापित समेत हुने गरेका छन् । बाढी र डुबानकै कारण स्थानीयको घरमा भण्डारण गरिएको अन्नबाली, जायजेथा र पशुचौपायामा क्षति हुनेगरेको लक्ष्मणपुर बाँध संघर्ष समितिका सचिव राजकुमार शुक्लाले बताए । भारत सरकारले सीमा सुरक्षा सडकका नाममा दसगजा क्षेत्रसगै जोडेर पूर्व ताप्लेजुङदेखि झापा हुँदै पश्चिम कञ्चनपुरदेखि दार्चुलासम्म करिब ३ देखि ७ मिटर उचाइ तथा ३० मिटर चौडाइको १७ सय ५१ किलोमिटर लामो संरचना निर्माण गरिरहेको छ ।
बाढी र डुबानको सबैभन्दा बढी मारमा सप्तरीको तिलाठी र बाँकेको होलिया क्षेत्रका बासिन्दा पर्दै आएका छन् । बाढी र डुबान पीडितहरुले अहिलेकै अवस्थामा सीमा सुरक्षा सडक निर्माण पूरा हुने हो भने झापादेखि कञ्चनपुरसम्म बाढी र डुबानको समस्या झनै बढ्ने गुनासो गरेका छन् । त्यस्तै, उनीहरुले भारतद्वारा सीमावर्ती क्षेत्रमा स्थापित दुधुवा राष्ट्रिय निकुञ्ज, महानन्द राष्ट्रिय वन्यजन्तु आरक्ष आदि निकुञ्ज तथा आरक्षहरुबाट सीमावर्ती क्षेत्रका जनताले बर्से्नि मानवीय र भौतिक क्षति व्यहोर्दै आएको जनाएका छन् । ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री ज्ञवालीले सीमावर्ती क्षेत्रमा हुने बाढी र डुबानको समस्या हल गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बाढी तथा डुबानका कारण गतवर्ष भएको क्षति

प्रकाशित मिति : २० चैत्र २०७४, मंगलवार ११:३६