सूचनाको शक्ति - The Power Of Information

        

मन्त्रिपरिषद् बैठकबाट लाग्यो न्यायाधीशहरुलाई झट्का, अर्थ बाहेक अरु मन्त्रालयमा एक मात्र सचिव रहने

काठमाडौं । मन्त्रिपरिषद् बैठकले अर्थबाहेकका मन्त्रालयमा १ जनामात्र सचिव राख्ने निर्णय गरेको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले मन्त्रालय समायोजन भए पनि एक जना मात्र सचिव राख्ने निर्णय गरेको पर्यटन मन्त्री रवीन्द्र अधिकारीले जानकारी दिए।

नयाँ स‌ंविधानअनुसार २५ जनामात्र मन्त्री हुनु पर्ने भएपछि केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रालयको संख्या ३१ बाट घटाएर २१ बनाएको छ। मन्त्रालय समायोजन हुँदा अहिले केही मन्त्रालयमा २ भन्दा बढी सचिव रहेका छन्।

‘सचिवहरूको दरबन्दी मिलान गर्ने निर्णय भएको छ। अर्थमन्त्रालयमा २ जनासम्म हुन सक्ने तर अरु मन्त्रालयमा एकजना सचिव हुने गरि व्यवस्था गर्ने निर्णय भयो,’ अधिकारी ले भने। अर्थमा भने यसअघिदेखि नै २ जना सचिवको  दरबन्दी थियो।

मन्त्रिपरिषद बैठकले न्यायाधीशहरूको विदेश भ्रमणलाई अस्वीकार गरेको छ। सर्वोच्च अदालतले केही न्यायाधीशको विदेश भ्रमणका लागि पठाएको प्रस्ताव मन्त्रिपरिषद्ले अस्वीकार गरेको कानुनमन्त्री शेरबहादुर तामाङले जानकारी दिए।

सोही बैठकले  प्रधानमन्त्री ओलीकाे ३ दिने  भारत भ्रमणलाई स्वीकृति दिएको  छ। चैत २३ देखि २५ सम्म प्रधानमन्त्री ओलीले गर्ने भारतको राजकीय  भ्रमण गर्दै छन्।

त्यस्तै, काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई एसियाली विकास बैंकले दिने भनेको १० अर्ब रुपैँया अनुदान पनि मन्त्रिपरिषदले स्वीकृत गरेको छ। त्यस्तै मिलिनियम च्यालेन्जका लागि अमेरिकाले पाँच वर्षमा ५० अर्ब दिने भनिएको सहयोग पनि स्वीकृत गर्ने भएको छ।

प्रकाशित मिति : २० चैत्र २०७४, मंगलवार ११:१३