सूचनाको शक्ति - The Power Of Information

        

वरिष्ठ आँखा रोग विशेषज्ञ डा. रुइतले पाए भारतीय राष्ट्रपतिबाट पदमश्री पुरस्कार

काठमाडौं । वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतले भारतीय राष्ट्रपति श्रीराम नाथ कोविन्दबाट पदमश्री पदक पाएका छन् ।

कम शुल्कमा मोतीविन्दूको शल्यक्रिया गरी एकलाख भन्दा बढी मानिसलाई ज्योति प्रदान गरेका रुइतलाई भारतले गणतन्त्र दिवसको पूर्वसन्ध्यामा पदक दिने घोषणा गरेको थियो । पूर्व घोषणाअनुरुप सोमबार आयोजित एक कार्यक्रमका बीच राष्ट्रपति कोविन्दले रुइतलाई पदमश्री पदक प्रदान गरेका हुन् ।

पदमश्री पदक भारत सरकारले दिने प्रतिष्ठित पदकमध्ये एक मानिन्छ । तिलगंगा आँखा केन्द्रका निर्देशक रहेका उनले आफ्नै हातले एक लाखभन्दा बढीको मोतियाबिन्दुको शल्यक्रिया गरेका छन् । उनी आफैंले अहिलेसम्म झण्डै एक लाख बढी मानिसलाई आँखाको दृष्टि दिएर संसार देखाइसकेका छन् भने विभिन्न देशमा उनले दिएको तालिम र प्रविधिले झण्डै ४० लाख मानिसले आँखा देख्न सक्ने भएका छन् ।

यही योगदानको कदरस्वरुप सन् २००६ मा रामोन म्यागासेसे पुरस्कारबाट उनी सम्मानित भए ।

ताप्लेजुङको ओलाङचुङगोलामा जन्मिएका डा. रुइतका बुबा नेपाल-तिब्बतबीच घोडा र नुनको ब्यापार गर्थे । तत्कालीन समयमा उनी ओलाङचुङगोलाबाट १५ दिन हिँडेर दार्जीलिङ पुगे । सुरुमा उनी दार्जीलिङको मिसनरी स्कुल सेन्ट रोबर्ट्समा भर्ना भए । सन् १९६२ मा चीन-भारतबीच सीमायुद्ध भएपछि दार्जिलिङका स्कुल बन्द भए ।

त्यसपछि उनी काठमाडौंको सिद्धार्थ वनस्थलीमा भर्ना भए। उनले सन १९७० मा सिद्धार्थ वनस्थलीबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए ।

प्रकाशित मिति : २० चैत्र २०७४, मंगलवार ०३:३७