सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. लोहनी

काठमाडौं | स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले मन्त्रालयअन्तर्गतका विभिन्न निकायमा कर्मचारीको जिम्मेवारी हेरफेर गरेकी छिन् । यही क्रममा एक महिनादेखि रिक्त स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. गुणराज लोहनी नियुक्त भएका छन् । लोहनी यसअघि सामाजिक स्वास्थ्य सुरक्षा बिमा समितिका निर्देशक थिए ।

स्वास्थ्य मन्त्रालयले पहिलोपटक विवादरहित व्यक्तिलाई महानिर्देशक बनाएको छ । डा. लोहनी महानिर्देशक भएपछि प्रतिस्पर्धामा रहेका डा. भीमसिंह तिंकरी र डा. दीपेन्द्ररमण सिंहले खुसी व्यक्त गरेका छन् । स्वच्छ छविका लोहनी महानिर्देशक भएपछि स्वास्थ्य क्षेत्रमा देखिएको समस्या हल हुने अपेक्षा कर्मचारीले गरेका छन् ।

को कहाँ सरुवा भए ?
स्वास्थ्य मन्त्रालयको महत्वपूर्ण मानिने नीति योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुखमा महेन्द्र श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठ यसअघि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख थिए । नीति योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखाको जिम्मेवारी सम्हालेका डा. श्रीकृष्ण गिरीलाई सामाजिक स्वास्थ्य सुरक्षा बिमा समितिको जिम्मेवारी दिइएको छ ।

यस्तै, परिवार स्वास्थ्य महाशाखा प्रमुखको जिम्मेवारी तारा पोखरेललाई दिइएको छ । नरेशप्रताप केसीले अवकाश पाएपछि सो पद रिक्त थियो ।

स्वास्थ्य मन्त्रालयको चिकित्सा महाशाखाको जिम्मेवारी डा. दीपेन्द्ररमण सिंहलाई दिइएको छ । चिकित्सा महाशाखाका डा. भोलाराम श्रेष्ठलाई वीर अस्पताल पठाइएको छ । व्यवस्थापन महाशाखाका निर्देशक डा. भीमसिंह टिंकरीलाई अनुगमन तथा मूल्यांकन महाशाखामा ल्याइएको छ । व्यवस्थापन महाशाखाको जिम्मेवारी डा. विकास देवकोटालाई दिइएको छ ।

सोमबारबाट खाली भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकमा वीर अस्पतालका डा. केदार सेन्चुरीलाई पठाइएको नीति योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखाका महेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २० चैत्र २०७४, मंगलवार ०३:२२