सूचनाको शक्ति - The Power Of Information

        

नेपाल गुणस्तर चिह्न लिने तयारीमा छ वटा ग्यास उद्योग

काठमाडौँ, चैत २० गते । नेपाल गुणस्तर तथा नापतौल विभागले थप छवटा ग्यास उद्योगलाई नेपाल गुणस्तर प्रमाणपत्र (एनएस) चिह्न प्राप्त गर्नका लागि अन्तिम प्रक्रियामा रहेको जनाएको छ । यसअघि नै सातवटा ग्यास उद्योगलाई एनएस चिह्न प्रदान गरिसकेको विभागले यही महिनाभित्र थप छवटालाई एनएस चिह्न दिने भएको हो ।
विभागका अनुसार एनएस चिह्न लिने अन्तिम प्रक्रियामा रहेका छवटा ग्यास उद्योग क्रमशः मारुती सुनसरी, कोसी, मोरङ, श्रीराम धादिङ, ओम धादिङ, भानु धादिङ र रिजालको मोरङ रहेका छन् ।
विभागका अनुगमन अधिकृत देवेन्द्र केसीले एनएस चिह्नका लागि अन्तिम प्रक्रियामा रहेका छवटा उद्योगले विभागले अन्तिम पटकको अनुगमनका क्रममा दिएका निर्देशन पालना गरेको सूचना विभागमा आउने बित्तिकै सम्बन्धित उद्योगले निर्देशन पालना गरे वा नगरेको हेरेर ठीक भए एनएस चिह्न उपलब्ध गराइने जानकारी दिनुभयो ।
एनएस चिह्नका लागि अन्तिम प्रक्रियामा रहेका उद्योगमा ससाना विषयको सुधार गर्नुपर्ने भएकाले उद्योगीलाई त्यो सुधार गर्न कुनै समस्या नभएको पनि उहाँले बताउनुभयो । यसअघि सातवटा ग्यास उद्योगले एनएस चिह्न लिएका छन् ।
विभागका अनुसार एनएस चिह्न लिएकामध्ये पाँचवटा ग्यास उद्योगले चालु आर्थिक वर्षभित्र लिएका छन् । चालु आर्थिक वर्षमा एनएस चिह्न लिने ग्यास उद्योगमा क्रमशः साइबाबा चितवन, जानकी नवलपरासी, मेट्रो धादिङ, एनएल बारा, श्रीकृष्ण धादिङ रहेका छन् भने बाँकी दुईवटा नेपाल ग्यास बालाजु र मनोज ग्यास बाराले गएको वर्ष नै एनएस चिह्न लिइसकेका थिए ।
नेपालमा सञ्चालित ५८ ग्यास उद्योगमध्ये हालसम्म सातवटा उद्योगले मात्र गुणस्तर प्रमाणपत्र लिएका छन् भने छवटा लिने प्रक्रियामा छन् । यस्तै बाँकी ४५ ग्यास उद्योगमध्ये ३६ वटा ग्यास उद्योगको एक पटक अनुगमन भइसकेको छ भने बाँकी नौवटामा जाने तयारी भएको विभागले जनाएको छ ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले ग्यास उद्योगमा तीन पटक निरीक्षण गरेर मात्रै गुणस्तर प्रमाणपत्र चिह्न प्रदान गर्नुपर्ने र अर्कोतिर निरीक्षण भएका ग्यास उद्योगहरूले पनि विभागको निर्देशन अनुसार सुधार गर्न समय लिएको पनि एनएस चिह्न प्रदान गर्न समय लागेको जानकारी गराउनुभयो ।
उहाँले चालु आर्थिक वर्षभित्र ग्यास उद्योगलाई गुणस्तर प्रमाणपत्र दिने गरी विभागले सबै उद्योगसँग आवश्यक कागजात मागिरहेको पनि जानकारी दिनुभयो ।
यस्तै विभागले एनएस चिह्नका लागि अन्तिम प्रक्रियामा आएका ग्यास उद्योगको निरीक्षण गर्ने कार्यलाई पनि निरन्तरता दिएको छ । विभागले गएको पुसदेखि ग्यास उद्योगको अनुगमन र निरीक्षणलाई निरन्तरता दिएको हो ।
महानिर्देशक पुडासैनीले एनएस चिह्नका लागि प्रक्रियामा रहेका उद्योगलाई निरीक्षणका क्रममा टोलीले तोकेको मापदण्ड अनुसार ग्यास बोटलिङ गर्न सुझाव दिएको र सोअनुरूप मापदण्ड पूरा भएपछि प्रमाणपत्र लिनका लागि विभागमा आउन निर्देशन गरेको जानकारी गराउनुभयो ।

प्रकाशित मिति : २० चैत्र २०७४, मंगलवार ०३:१४