सूचनाको शक्ति - The Power Of Information

        

भारत भ्रमण बारे आज संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा मङ्गलबार सम्बोधन गर्नुहुने भएको छ । चैत २३ बाट हुने भारत भ्रमणका विषयमा प्रधानमन्त्रीले संसद्लाई जानकारी दिन लाग्नुभएको हो ।  संसद् अधिवेशन जारी रहेका बेला राज्यको प्रतिनिधित्व गरेर हुने भ्रमणको जानकारी सदनलाई दिने प्रचलन छ । प्रधानमन्त्रीसँग यसअघि एमालेकै सांसद विरोध खतिवडाले पाकिस्तानी प्रधानमन्त्री साहिद अब्बासीको नेपाल भ्रमणका विषयमा पनि जवाफ माग गर्नुभएको थियो ।

प्रधानमन्त्रीको सम्बोधनलाई प्रतिनिधिसभा सचिवालयले कार्यसूचीमा प्रकाशन गरिसकेको छ । सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले मङ्गलबार प्रधानमन्त्रीले सम्बोधन गर्न कार्यक्रम तय भएको जानकारी दिनुभयो । गौतमले भन्नुभयो, “मङ्गलबार समसामयिक विषयमा प्रधानमन्त्रीले सम्बोधनका लागि समय माग गर्नुभएको छ । ”
अधिवेशन अन्त्य हुँदै
यसैबीच प्रधानमन्त्रीको सम्बोधन र विचाराधीन दुई अध्यादेश स्वीकृतपछि सङ्घीय संसद्को अधिवेशन अन्त्य गर्ने तयारी गरिएको छ । प्रतिनिधिसभामा राष्ट्रियसभा सदस्य निर्वाचन र चिकित्सा शिक्षा अध्यादेश विचाराधीन छन् । दुवै अध्यादेश मङ्गलबार स्वीकृत गर्ने कार्यसूची सचिवालयले तयार पारेको छ ।
दुवै अध्यादेश स्वीकृत र प्रधानमन्त्रीको सम्बोधनपछि अधिवेशन अन्त्य हुनेछ ।

संसद्को चालू अधिवेशन सुरु भएको दुई महिना भएको छ जसमा दुवै सदनका पदाधिकारीको निर्वाचन सम्पन्न भएको छ । अध्यक्ष प्यानलको मनोनयन र प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया पनि दिनले पूरा गरेको छ ।
यस्तै अन्तरिम कार्यविधि पारित भएका छन् । सङ्घीय संसद्का दुवै सदनले नियमावली मस्यौदा समिति गठन गरेका छन् । समितिले नियमावली निर्माण प्रक्रियालाई अन्तिम चरणमा पु-याएका छन् ।
चालू अधिवेशनबाट प्रतिनिधिसभाले एक अध्यादेश स्वीकृत गरेको छ भने दुईवटा अध्यादेश मङ्गलबार स्वीकृत हुने चरणमा छन् । राष्ट्रियसभाले दुई अध्यादेश स्वीकृत गरेको छ । चिकित्सा शिक्षा अध्यादेश भने विचाराधीन छ ।
अधिवेशनमा सङ्घीय संसद्को संयुक्त बैठक एकपटक बसेको छ जसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्नुभएको छ । प्रधानमन्त्रीले सदनका दुवै बैठकमा एकपटक सम्बोधन गर्नुभएको छ ।
दुवै सदनका बैठकलाई जानकारी दिएर सरकारले आथिक श्वेतपत्र जारी गरेको छ । एक धन्यवादको प्रस्ताव दुवै सदनबाट पारित भएको छ । राष्ट्रपतिको सम्बोधनपछि उक्त धन्यवादको प्रस्ताव पारित भएको हो ।

प्रकाशित मिति : २० चैत्र २०७४, मंगलवार ०३:०६