सूचनाको शक्ति - The Power Of Information

        

भारत गएपनि प्रधानमन्त्री ओली तत्काल चीन नजाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी साता भारत भ्रमणमा जाँदैछन् । चैत्र २३ देखि २५ सम्म हुने उनको भ्रमण राजकीय हुनेछ । प्रधानमन्त्रीको भारत भ्रमणपछि प्रधानमन्त्रीको चीन भ्रमण भने टरेको छ । अंग्रेजी क्यालेन्डर अनुसार प्रधानमन्त्री ओलीको भारत भ्रमण ६ देखि ८ अप्रिलसम्म हुनेछ । ठीक यसैको आसपास ८ देखि ११ अप्रिलमा चीनमा बोआओकोे एसियाली वार्षिक सम्मेलन हुँदैछ । बोआओ सम्मेलनमा नेपालको तर्फबाट राष्ट्रप्रमुख वा प्रधानमन्त्री सहभागी हुने परम्परा छ । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली भारत भ्रमण सकेर तत्काल हतारमा चीन भ्रमणमा जानेपक्षमा छैनन् । बोआओ सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली सहभागी नहुने भएपनि ओली चीन भ्रमणलाई राजकीय बनाउने पक्षमा छन् ।

कतिपय कुटनीतिक जानकार प्रधानमन्त्री ओलीको सम्भावित चीन भ्रमण रोक्न बोआओ सम्मेलनको आसपासको मितिमा भारतले भ्रमण तालिका बनाएको ठान्छन् । प्रधानमन्त्री ओलीको भ्रमण नेपालको परराष्ट्र मन्त्रालयले भन्दा पहिला भारतको विदेश मन्त्रालयले सार्वजनिक गरेको थियो, त्यो पनि हतारहतारमा । ओलीलाई चीन र भारत दुवैले पहिलो भ्रमण आफ्नो देशबाट गराउन चाहन्थे । बोआओ सम्मेलन चीनले वार्षिक रूपमा सम्मेलन आयोजना गर्छ । सन् २०१६ मा प्रधानमन्त्री छँदै ओली सम्मेलनमा सहभागी भएका थिए । सन् २०१७ को मार्च अन्तिम साता पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेलनमा भाग लिएका थिए । त्यसैबेला उनले बेइजिङको राजकीय भ्रमणसमेत गरेका थिए । सन् २०१५ मा तत्कालीन राष्ट्रपति रामवरण यादवले सहभागिता जनाएका थिए । यसपालि यो सम्मेलन हाइनान प्रान्तमा पर्ने पोआउ सहरमा हुँदैछ । ‘विश्वको वृहत्तर समृद्धिका लागि खुला तथा अभिनव एसिया’ भन्ने नारासहित यसपालिको सम्मेलन आयोजना गरिएको छ ।

२४ चैतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीको सम्मानमा दिवाभोज आयोजना गर्ने कार्यक्रम छ । दिवाभोजअघि ओली र मोदीबीच एकान्त वार्ता हुनेछ भने त्यसपछि औपचारिक प्रतिनिधिमण्डलस्तरीय वार्ता हैदरावाद हाउसमा हुनेछ । परराष्ट्र मन्त्रालयले नेपाल एयरलाइन्समा बिजनेस क्लासका सबैसहित जम्मा ५५ सिट बुकिङ गरेको छ । मन्त्रालयले २३ चैतमा काठमाडौंबाट दिल्ली र २५ चैतमा दिल्लीबाट काठमाडौंका लागि सिट बुक गरेको हो ।

प्रकाशित मिति : १९ चैत्र २०७४, सोमबार १४:०२