सूचनाको शक्ति - The Power Of Information

        

गृह प्रशासनमा व्यापक सुधार आवश्यक छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले गृह प्रशासनमा व्यापक सुधारको खाँचो रहेको भन्दै सुधारका लागि तयार रहन कर्मचारीलाई निर्देशन दिएको छ ।
सोमबार सिंहदरबारमा गृह प्रशासन सुधार कार्ययोजना २०७४ सार्वजनिक गर्दै गृहमन्त्री थापाले मन्त्रालय अन्तर्गतका सबै निकायमा थुप्रै बेथिति रहेको भन्दै सुधारका लागि कर्मचारीले आफूलाई तयार राख्नुपर्ने बताए । गृहमन्त्री थापाले अहिले भन्सारका नाकाबाटै अर्बौं रुपैयाँको दरमा तस्करी भइरहेको बताउँदै तस्करी नियन्त्रणका लागि गृह मन्त्रालयले विशेष कदम चाल्ने पनि बताए । यस्तै, भ्रष्ट र तस्करहरुमाथि दमन चलाएर गृहमन्त्रालयमार्फत नयाँ क्रान्तिको शुरुवात गरिने उहाँको भनाइ थियो । पछिल्लो समय सरकारी कर्मचारी र राजनीतिक दलका नेताहरुप्रति जनताको वितृष्णा बढेको तथा जनताले सेतो नम्बर प्लेट भएको गाडी देख्ने बित्तिकै ढुंगा हान्ने भयले कर्मचारीहरुमा सरकारी गाडीमा रातो नम्बर प्लेट प्रयोग गर्ने प्रचलन बढेको गृहमन्त्रीले प्रष्ट्याए । उहाँले प्रहरीमा ३० वर्षे सेवा अवधि ठूलो समस्याको रुपमा रहेको भन्दै त्यसलाई समयानुसार परिमार्जन गर्नका लागि तयारी भइरहेको पनि बताउनुभयो । उहाँले यातायातका क्षेत्रमा देखिएको आलोपाले प्रणाली ९सिण्डिकेट० तोडेरै छाड्ने प्रतिबद्धता पनि जनाए ।
सुधार कार्ययोजनामा आफ्नो मातहतका निकायहरुबाट हुने २५ हजारभन्दा माथिको खर्च विवरण वेबसाइटबाट सार्वजनिक उल्लेख छ । सुधार योजना अनुसार २०७५ असार मसान्तसम्ममा हरेक स्थानीय निकायमा एक प्रहरी ईकाइ रहने व्यवस्था मिलाइने भएको छ । यस्तै २०७५ वैशाखदेखि सुरक्षा बाहेकका प्रयोजनमा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाइने छ । कार्ययोजनामा सार्वजनिक यातायात क्षेत्रको सिण्डिकेट आउँदो असारमसान्तभित्र अन्त्य गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । यस्तै हरेक जिल्लामा विरोध प्रदर्शन गर्ने निश्चित ठाउँ तोकिने र त्यहाँबाहेक अन्यत्र विरोध प्रदर्शन गर्न नपाउने नियम बनाइने कार्ययोजनामा उल्लेख छ ।

प्रकाशित मिति : १९ चैत्र २०७४, सोमबार १३:४८