सूचनाको शक्ति - The Power Of Information

        

इन्टरनेट सेवा प्रदायक कम्पनीलाई रोयल्टी तिर्न ताकेता, कसको कति बाँकी (विवरणसहित)


काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले आठ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई सात दिनभित्र रोयल्टी तिर्न ताकेता गरेको छ । प्राधिकरणले सोमबार सूचना प्रकाशित गर्दै सात दिनभित्र रोयल्टी नतिरे दूरसंचार ऐन २०५३ अनुसार कारवाही गरिने चेतावनी दिएको छ ।
प्राधिकरणका अनुसार रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडीएफ)मा रकम तिर्न अटेर गर्ने कम्पनीमा भायोनेट कम्युनिकेसन, ब्रोडलिङ्क नेटवर्क एण्ड कम्युनिकेशन, नेट म्याक्स टेक्नोलोजिज, क्लासिक टेक, आइटेल कम्युनिकेशन, आईविएसएस नेपाल, एलाइड नेट लिंक टेक्नोलोजिज र आई फोर टेक्नोलोजिज् प्रालि रहेका छन् ।

कसले कति रकम बुझाउन बाँकी ?
जावलाखेलमा रहेको नेटवर्क तथा इन्टरनेट सेवा प्रदायक भायोनेट कम्युनिकेशनले आर्थिक बर्ष २०७३/०७४ को एक करोड ४२ लाख १३ हजार ७९२ रुपैयाँ रोयल्टी बुझाउन बाँकी छ । कम्पनीले आरटिडीएफको शुल्क भने बुझाइसकेको छ ।
सानेपास्थित इन्टरनेट सेवा प्रदायक ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेशनले आव. २०७३/०७४ को २५ लाख २५ हजार रुपैयाँ रोयल्टीका साथै सय प्रतिशत जरीवानासहितको २५ लाख रुपैयाँ आरटिडीएफ बुझाउन बाँकी छ ।
अनामनगरस्थित इन्टरनेट सेवा प्रदायक नेट म्याक्स टेक्नोलोजिजले आव २०७३/०७४को आठ लाख ८५ हजार ७१३ रुपैयाँ रोयल्टी बुझाउन बाँकी छ । नयाँ बानेश्वरस्थित नेटवर्क तथा इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले आव. २०७३/०७४ को ५८ लाख दुई हजार ९८० रुपैयाँ रोयल्टी बुझाउन बाँकी छ ।
जावलाखेलस्थित नेटवर्क तथा इन्टरनेट सेवा प्रदायक आइटेल कम्युनिकेशनले आव. २०७३/०७४ र आव. २०७२/०७३ को आरटिडीएफ र रोयल्टी दुवै बुझाउन बाँकी रहेको प्राधिकरणले बताएको छ । प्राधिकरणका अनुसार कम्पनीको अडिटेड वित्तिय विवरण नभएको कारण बुझाउन बाँकी रहेको रकम हिसाब गर्न बाँकी नै छ ।
प्राधिकरणले उक्त कम्पनीलाई अडिटेड वित्तिय रपोर्ट र रकम बुझाउन अनुरोध गरेको छ । सिनामंगलस्थित इन्टरनेट सेवा प्रदायक आईविएसएसले आव. २०७३/०७४ को एक लाख ११ हजार ५१८ रुपैयाँ रोयल्टी बुझाउन बाँकी रहेको प्राधिकरणले जानकारी दिएको छ । महाराजगञ्जस्थित इन्टरनेट सेवा प्रदायक एलाईड नेट लिंक टेक्नोलोजिजले आव. २०७३/०७४को एक लाख ८६ हजार १०५ रुपैयाँ बुझाउन बाँकी रहेको प्राधिकरणले बताएको छ ।
कमलादी स्थित (ग्लोबल मोवाइल पर्सनल कम्युनिकेशन सेटलाइट)जिएमपिसिएस सेवा प्रदायक आईफोर टेक्नोलोजिजले आव. २०७३/०७४को वित्तिय विवरण बुझाउनका लागि प्राधिकरणले सूचना जारी गरेको छ । प्राधिकरणले वित्तिय विवरण नभएका कारण बुझाउन बाँकी निश्चित रकम यकिन नभएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार यसले सेवा प्रदायक कम्पनीले आरटीडीएफ र रोयल्टी दुवै रकम बुझाउन बाँकी रहेको छ । प्राधिकरणका अनुसार हरेक सेवा प्रदायकले आम्दानी गरेको दुई प्रतिशत रकम आरटिडीएफका लागि तिर्नुपर्छ भने चार प्रतिशत रकम रोयल्टी तिर्नुपर्छ ।

प्रकाशित मिति : १९ चैत्र २०७४, सोमबार १०:१८