सूचनाको शक्ति - The Power Of Information

        

जेलभित्रका कैदीहरु दोहोरी साँझ जाने गरेको गृहमन्त्रीको भनाई

काठमाडौं। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले कारागारभित्रका विकृति र विसङ्गतिलाई हटाउन निर्देशन दिनुभएको छ । आइतबार कारागार व्यवस्थापन विभागको निरीक्षणपछि विभागका कर्मचारीलाई निर्देशन दिँदै गृहमन्त्री बादलले कारागार सुधारमा उपलब्धि र परिणाम निस्कने गरी काम गर्न निर्देशन दिनुभयो ।
उहाँले कारागारभित्र विभिन्न किसिमका विकृति र विसङ्गति रहेकोबारे आफू जानकार रहेको भन्दै त्यो सच्याउन निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘केही कैदीलाई कारागारबाट राति ठमेलको दोहोरी साँझमा लैजानेदेखि घुमाउन विभिन्न ठाउँसम्म लैजाने गरेकोसम्म रिपोर्ट आएको छ, त्यस्तो कार्यमा संलग्नलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउनुहोस् । ’’
जेलरसँगको मिलेमतोमा जेलभित्रका केही चौकिदार, नाइके, भाइनाइकेहरूले अन्य बन्दीलाई दुःख दिने गरेको गुनासो सुनिएको भन्दै त्यस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई तत्काल जेल सरुवा गरी त्यसको जानकारी मन्त्रालयलाई दिन निर्देशन दिनुभएको छ । कारागारलाई यातनागृहको रूपमा नभई सुधार गृहको रूपमा विकास गर्न आवश्यक रहेको गृहमन्त्री बादलको भनाइ छ । उहाँले भन्नुभयो, ‘‘अपराधी कारागारमा आएपछि असल नागरिकको रूपमा रूपान्तरण भएर जाउन भनेर ध्यान दिन आवश्यक छ । ’’
विभागका निर्देशक कृष्णप्रसाद आचार्यले कारागार सुधारसम्बन्धी कार्ययोजनाको खाका प्रस्तुत गर्नुभएको थियो । गत हप्ता विभिन्न कारागारको निरीक्षणलगत्तै गृहमन्त्री थापाले कारागार सुधार योजना एक हप्ताभित्र तयार पार्न निर्देशन दिनुभएको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०७४, सोमबार ०५:००