सूचनाको शक्ति - The Power Of Information

        

बैंकहरूले वैशाखसम्म स्थानीय तहमा शाखा खोल्नैपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थानीय तहमा शाखा विस्तार गर्ने प्रक्रियामा सिमा तोकेको छ । राष्ट्र बैंकले आगामी वैशाखसम्ममा तोकिएको स्थानीय तहमा शाखा खोल्नैपर्ने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले २ सय ४३ स्थानीय तहमा बैंकहरूले पेस गरेको सूचीअनुसारको शाखा ०७५ वैशाखभित्रै खोली सक्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । त्यसका साथै केन्द्रीय बैंकले प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा वाणिज्य बैंक आगामी असारभित्र पुग्ने गरी काम गर्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको छ ।
बुधबार केन्द्रीय बैंकले कुन तहमा कुन बैंक जाने स्पष्ट सूचीसहित निर्देशन जारी गरेको छ । त्यसैगरी अन्य १ सय १६ स्थानीय तहमा भने राष्ट्र बैंकले नै कहाँ कुन बैंकले शाखा खाल्ने भनेर तोकिदिएको छ । राष्ट्र बैंकका अनुसार मुलुकमा रहेका ७ सय ५३ स्थानीय तहमध्ये हालसम्म ३ सय ९४ स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा पुगेका छन् । स्थानीय तहबाट हुने सरकारी कारोबार वाणिज्य बैंकमार्फत गर्ने व्यवस्था भए पनि सम्बन्धित क्षेत्रमा बैंक नपुग्दा स्थानीय तहलाई काम गर्न समस्या भएको थियो ।
केन्द्रीय बैंकले ०७५ वैशाख र असारमा खोलिसक्नुपर्ने शाखा कार्यालयका सम्बन्धमा भए गरेका काम–कारबाहीको प्रगति विवरण प्रत्येक १५–१५ दिन (महिनाको १५ गते र मसान्त)मा राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागमा पठाउन बैंकहरूलाई भनेको छ । सम्बन्धित स्थानमा शाखा स्थापना गर्दा आवश्यक पर्ने सुरक्षालगायतका पूर्वाधारका विषयमा केन्द्रीय बैंकको सिफारिसबमोजिम अर्थ मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय र सहजीकरण गर्नेसमेत राष्ट्र बैंकले जनाएको छ । (कारोबार दैनिकबाट)

प्रकाशित मिति : १९ चैत्र २०७४, सोमबार ०४:५०