काठमाडौं । विश्व बैंकले चोभारस्थित हिमाल सिमेन्टको खाली जग्गामा प्रदर्शनीस्थल बनाउन चासो देखाएको छ । विश्व बैंकले हिमाल सिमेन्टले उपभोग गरेको एक हजार २५४ रोपनी जग्गामध्ये सुख्खा बन्दरगाह बनेर बाँकी रहेको जग्गामा प्रदर्शनीस्थल बनाउन मास्टर प्लान मागेको हो । सुख्खा बन्दरगाह बनाएर बाँकी रहेको जग्गामा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी स्थल बनाउने मास्टर प्लान बनाएर विश्व बैंकलाई बुझाएको नेपाल इन्टरमोडल यातायात विकास समितिका अध्यक्ष लक्ष्मणबहादुर बस्नेतले बताए ।
‘राजधानीमा व्यापारिक मेला, सम्मेलन र पार्कहरुको अभाव छ । सानो स्थानमा विभिन्न मेलाहरु आयोजना गर्न आयोजकहरु बाध्य छन् । प्रदर्शनीस्थल निर्माणपछि यो समस्यासमेत समाधान हुने गरी हामीले यो कार्य अघि बढाएका छौं । अन्तर्राष्ट्रिय प्रदर्शनीस्थलमा सम्मेलन हल र थिएटरसमेत बन्ने छन् । त्यसबाहेक सुन्दर पार्क, किड कर्नर, फुड स्टल, मिटिङ हलसमेत निर्माण गरिनेछन । त्यसैले एउटै स्थलमा सबै सुविधालाई केन्द्रित गरेर अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण गर्ने लक्ष्य हो,’ उनले भने
‘विश्व बैंक र अन्य संघसंस्थाको सहयोगमा प्रदर्शनी निर्माण हुन लागेको हो,’ उनले भने, ‘चोभारस्थित हिमाल सिमेन्ट बन्द भएपछि जग्गा खाली थियो । दुई पटक मन्त्रिपरिषद्मा लगेर जग्गाको व्यवस्था गरियो ।’ हामीले गरेको काममा सन्तुष्टि जनाएर विश्व बैंकले अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बनाउने खाका माग्यो । ‘मैले त्यो पेश गरिसकेको छु । यद्यपि, लागत अनुमान अहिले आएको छैन ।’ स्थानीयको साथले पनि सो कार्य अघि बढाउन सहज भएको बस्नेतले बताए ।
समितिले तीन साता अघि सुख्खा बन्दरगाह निर्माणका लागि बोलपत्र आह्वान गरिसकेको छ । बोलपत्रबाट छनोट भएका कम्पनीले आगामी दुई वर्षभित्र सुख्खा बन्दरगाह निर्माण कार्य सम्पन्न गर्ने छन् । अनुभवी र ठूला कम्पनीलाई प्रायः यस्ता किसिमका ठेक्का पट्टाका कार्यहरू पाउँदै आएको पनि बस्नेतले बताए । करिब दुई सय रोपनी जग्गामा निर्माण गर्न लागिएको सुख्खा बन्दरगाहमा ६ सय वटा कन्टेनर र ५० वटा गाडी अट्ने वेयरहाउस बन्ने छन् ।
कोलकत्तामा सिलबन्दी भएका सामान एकैपटक चोभारमा ल्याएर जाँचपास गरिने योजनासहित प्रशासनिक कार्यसमेत मिलाउन लागिएको छ । विश्व बैंकको सवा दुई अर्ब जग्गामा निर्माण हुन लागेको बन्दरगाह जसरी पनि दुई वर्ष्भित्र सम्पन्न हुनुपर्नेछ । दुई वर्षसम्म बन्दरगाह निर्माण कार्य सम्पन्न गर्न नसकिए विश्व बैंकले दिएको ऋण फिर्ता जाने भएकाले दुई वटा ठेक्का लगाएर भए पनि समय सीमाभित्र निर्माण कार्य सक्नुपर्ने उनले बताए ।
पहिला बन्दरगाह निर्माणका लागि एक अर्ब रुपैयाँ लाग्ने अनुमान गरिए पनि अहिले लागत बढेर दुई अर्बभन्दा माथि पुगेको छ,’ बस्नेतले भने, ‘बन्दरगाह निर्माणका लागि सम्पूर्ण डिजाइन, डोइङ, फिजिविलिटी अध्ययन लगायताका सबै कार्य सम्पन्न भएकाले टेण्डर प्रक्रियाबाट छनोट भएका अनुभवी कम्पनीले यसको ठेक्का पाउने छन्, ठेक्कापछि धमाधम निर्माण कार्य शुरु हुनेछ ।’ चोभारमा बन्दगाह बन्ने भएपछि बल्खुबाट चोभारसम्मको सडक पनि ६ लेनको बनाइने भएको छ ।
।