सूचनाको शक्ति - The Power Of Information

        

कर्णाली–रारा पर्यटन वर्ष : पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य


सुर्खेत । कर्णाली प्रदेश सरकारले २०७५ साललाई कर्णाली–रारा पर्यटन वर्षका रुपमा मनाउने भएको छ । बैसाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको राराबाट पर्यटन वर्षको औपचारिक उद्घाटन गर्ने भएका छन् ।
एक वर्षमा पाँच लाख पर्यटक कर्णालीमा भित्र्याउने लक्ष्यसहित पर्यटन वर्ष मनाउन लागिएको हो । पर्यटन वर्षमा दैनिक एक हजार पर्यटक कर्णाली प्रदेशमा भित्र्याउने उद्देश्यसहित पर्यटन वर्ष मनाउन लागिएको प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए । पर्यटन वर्ष उद्घाटनका क्रममा राराबाटै प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।
सोही अवसरमा प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यतामा कर्णाली प्रदेश सरकारको तेस्रो मन्त्रिपरिषद् बैठक रारामा बस्ने कार्यक्रम रहेको वन, वातावरण, उद्योग तथा पर्यटनमन्त्री नन्दसिंह बुढाले जानकारी दिए । उक्त बैठकले कर्णालीका विकास–निर्माणको खाका तयार पार्ने उनले बताए । राष्ट्रिय गौरवका आयोजनाहरुबारे बैठकमा छलफल हुने जनाइएको छ । पर्यटन वर्ष सफल बनाउन प्रदेश सरकारले गृहकार्य सुरु गरिसकेको छ ।
रारासम्म पुग्ने सडकको मर्मत–सम्भारको काम तीव्र पारिएको भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्रीले बताए । उनले केन्द्र सरकारबाट विनियोजित बजेट खर्चन अख्तियारी नआए पनि सडक व्यवस्थापनलाई तीव्र पारिएको बताए । ‘क्षेत्रीय सडक डिभीजन कार्यालयले रारासम्म पुग्ने सडकको मर्मत सुरु गरिएको छ,’ उनले भने, ‘प्रदेश सरकारले सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेर बजेट सार्वजनिक गर्छ ।’
उनले पर्यटन वर्षका रुपमा मनाउनु नै आम्दानीको स्रोत जुटाउनु भएकाले तत्कालका लागि अभावमै सरकारले विशेष योजना अगाडि सारेको बताए । कर्णाली प्रदेशको प्राकृतिक सौन्दर्यलाई बजारीकरण गरेर मात्रै आर्थिक लाभ लिन सकिने भन्दै मन्त्री खत्रीले रारामा विद्युत, सञ्चार, सडक लगायतका आधारभूत आवश्यकताको व्यवस्थापन भइरहेको उनले बताए ।
पर्यटन वर्षको उद्घाटन कार्यक्रममा संघीय सरकारका मन्त्री, पूर्व प्रधानमन्त्रीहरु, सातै प्रदेशका मुख्यमन्त्रीहरु, कर्णाली प्रदेशसभा सदस्यहरु, नेपालस्थित विदेशी कूटनीतिक नियोगका पदाधिकारीहरु, पर्यटन व्यवसायी, उद्योगी–व्यवसायी, स्थानीय तहका पदाधिकारीहरुको उपस्थिति रहने बताइएको छ । पर्यटन वर्ष व्यवस्थापनका लागि कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।
कर्णाली प्रदेशसभामा प्रतिनीधित्व गर्न संघीय संसदका सदस्यहरुलाई सल्लाहकार समितिमा राखिएको छ । यसैगरी, विभागीय मन्त्रीहरुको संयोजकत्वमा कार्य व्यवसथा समिति गठन गरिएको पर्यटन मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशको आर्थिक स्रोत वृद्धि गर्ने प्रमुख आधार पर्यटन भएको निष्कर्षसहित प्रदेश सरकारले आफ्नो पहिलो मन्त्रिपरिषद् बैठकबाट नै कर्णाली–रारा पर्यटन वर्ष मनाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०७४, आइतवार ०४:१६