कास्की । लमजुङको सिमानामा बग्ने रुदी खोलामा निर्माणाधीन रुदीखोला–ए जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । ८ दशमलव ८ मेगावाट क्षमताको यो आयोजनाको ९० प्रतिशत काम सकिएको छ । आयोजना प्रमुख सरोज भट्टराईका अनुसार बाँधस्थलको निर्माण, हेडरेस पाइप राख्ने, पेनस्टक पाइप राख्ने, सर्ज ट्याङ्क निर्माण, पावरहाउस निर्माणलगायतका काम अन्तिम चरणमा पुगेको हो । कास्कीको मिजुरे र लमजुङको सिङ्दीबेसी सिमामा बाँधस्थलको इन्टेक, वयर, बाँध सुरक्षा पर्खाल, कल्भर्ट निर्माण भइसकेको छ । आगामी जेठमा पेनस्टकबाट पानी हालेर टर्वाइनको परीक्षण गर्ने लक्ष्यका साथ काम भैरहेको आयोजनाले जनाएको छ । ३१ मार्च २०१६ बाट निर्माण शुरु भएको यो आयोजनाबाट १५ सेप्टेम्बर २०१७ मा विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको थियो । तर, भूकम्प, नाकाबन्दी र बाढी पहिरोका कारण निर्माणमा केही ढिलाई भएको आयोजनाले जनाएको छ ।
।