सूचनाको शक्ति - The Power Of Information

        

देउवाले बैठक बोलाएपछि रुष्ट बनेको पौडेल पक्षले बैठक बहिष्कार

काठमाडौं । आजका लागि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय समिति बैठक स्थगित गरिएको छ । पदाधिकारी नियुक्त गर्न भन्दै सभापति शेरबहादुर देउवाले निर्वाचित केन्द्रीय सदस्यको मात्र बैठक आह्वान गरेपनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बहिष्कार गरेपछि बैठक स्थगित गरिएको हो । अर्को बैठक चार दिनपछि आगामी २१ गते बस्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
सभापति शेरबहादुर देउवाले महाधिवेशन सकिएको दुई वर्षभन्दा लामो समयपछि पदाधिकारी मनोनयन गर्न भन्दै आज निर्वाचित सदस्यहरुको मात्र बैठक आह्वान गरेकोे थियो । नेता पौडेलले आफू उपस्थित हुन नसक्ने भन्दाभन्दै सभापति देउवाले एकलौटी रुपमा बैठक बोलाएपछि रुष्ट बनेको पौडेल पक्षले बैठक बहिष्कार गरेको हो । पौडेलले आफू उपस्थित हुन नसक्ने बताउँदा देउवा पक्षीय केन्द्रीय सदस्य प्रकाशशरण महतले तपाई निर्वाचित नभएकाले उपस्थित नहुँदा पदाधिकारी नियुक्ति नरोकिने जवाफ दिएपछि हिजो नै पौडेल पक्षका नेताहरु रुष्ट बनेर निस्किएका थिए । बैठकमा सभापति देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्रीको नाम प्रस्ताव गर्ने र बैठकले पारित गर्ने तयारी थियो । कांग्रेसको विधानमा महाधिवेशन भएको दुई महिनाभित्र पदाधिकारीलगायत सबै निकायमा मनोनयन गरिसक्नुपर्ने व्यवस्था भए पनि देउवाले २६ महिनासम्म पनि पदाधिकारी मनोनयन गर्न सक्नु भएको छैन । सभापति देउवाले उपसभापतिमा विमलेन्द्र निधिलाई मनोनयन गर्ने तयारी गरेको छ । नेताहरु गोपालमान श्रेष्ठ र विजयकुमार गच्छदारले पनि उपसभापति पाउनुपर्ने दावी गरे पनि देउवाले निधिलाई उपसभापतिमा प्रस्ताव गर्ने तयारी गरेकोे छ । यस्तै, महामन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र पूर्णबहादुर खड्कामध्ये एकजनालाई नियुक्तिको प्रस्ताव गर्ने तयारी गरेको छ । दुई जनामध्ये एक जनालाई महामन्त्री र एक जनालाई पार्टी संगठन विभाग प्रमुखको जिम्मेवारी दिने तयारी रहेको बताइएको छ । सहमहामन्त्रीमा भने डा. प्रकाशशरण महत, रमेश रिजाल, मानबहादुर विकमध्ये एक जनालाई अघि सार्ने तयारी छ । कांग्रेसको विधानमा निर्वाचित केन्द्रीय सदस्यमध्येबाट पदाधिकारी नियुक्त गर्नुपर्ने व्यवस्था छ । सभापति देउवाले पदाधिकारीमा आफू निकटका नेतालाई नियुक्त गर्ने तयारी गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता असन्तुष्ट बनेका छन् ।
यसअघि गत चैत ९ गतेदेखि चलेको केन्द्रीय समितिको वैठक हिजो सकाउँदै कांग्रेसले तिनै तहको निर्वाचनमा पार्टी हारको जिम्मेवारी कांग्रेस केन्द्रीय कार्यसमितिले लिने निर्णय गरेको थियो । निर्वाचनमा पार्टी पराजयको जिम्मा नेतृत्वले लिनुपर्ने माग उठे पनि सभापति शेरबहादुर देउवाले अस्वीकार गरेपछि केन्द्रीय समितिले नै लिने निर्णय गरेको हो । बैठकले निर्वाचन हार्नुमा वाम गठबन्धन र मधेसमा मधेस केन्द्रित दलको गठबन्धनलाई प्रमुख कारण मानेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७५, सोमबार ०८:४३