सूचनाको शक्ति - The Power Of Information

        

देवताका पुजारी नै छाउविरुद्ध उत्रिए, भत्काए छाउगोठ


प्रेम रौले । बाजुरा । बाजुराको बडिमालिका नगरपालिका–३ पीपल गाउँस्थित दह घटाल देवताका पुजारी रामबहादुर खड्काले छाउगोठ भत्काएका छन् । धार्मिक आस्था र विश्वासलाई बढावा दिने पुजारीले नै छाउगोठ भत्काएका हुन् । छाउगोठ भत्काएपछि खड्काको श्रीमती छोरी र बुहारी छाउ भएका बखत पनि एकै घरमै बस्न थालेका छन् ।
छाउ कुप्रथाविरुद्धको अभियानमा साथ दिन छाउगोठ भत्काएर घरमै बसाउने गरेको खड्काको भनाइ छ । वडा कार्यालय र संघसंस्थाले दबाब दिएकाले भत्काउन बाध्य भएको खड्काले बताए । नजिकै देवताको मन्दिर र घरमै पनि देवता राखिएकाले शुरुमा डर लाग्यो तर सबैतिरबाट दबाब आउन थालेपछि एक्लै बाधक भएर बस्नु उचित होइन भनेर आफैँले भत्काएको पुजारी खड्को भनाइ छ ।
पीपलगाउँमा सात परिवार बस्छन् । गाउँको साझा छाउगोठ भत्काएपछि सबैजना घरमै बस्न थालेका हुन् । खान पकाउन र देवताको नजिक जान भने नदिएको उहाँले बताउनुभएकोे छ । सफा सुग्धर भएमा केही हुँदैन भन्ने थाहा पाएपछि वडा कार्यालय, निगरानी समूह, महिला समूहसहित सबैले गोठ भत्काउन संयुक्त आन्दोलन गर्ने बताएपछि वडाका सबै छाउगोठ भत्काइएको वडा सदस्य विमला खड्काको भनाइ छ ।
छाउगोठ धामी, झाँक्री र पुजारी भएको घरमा बढी देखिएको पिसविन आस्था परियोजनाका अधिकृत तुलाराम जैशी बताउनुहुन्छ । पुजारी स्वयंले गोठ भत्काएर घरमा बसाउन तयार भएपछि स्थानीयवासी पनि त्यसै गर्न मञ्जुर भएका छन् । महिनावारी भएको बेला काम गर्नसमेत जान नपाइने अवस्थामा पनि सुधार आएको नगर उपप्रमुख कविता विष्टले जानकारी दिइन् । नगरपालिकाका नौवटै वडामा महिलासँग उपप्रमुख कार्यक्रमले छाउ, बाल विवाहलगायतका सामाजिक कुप्रथाको विरुद्धमा सचेतनामुलक अभियान सञ्चालन भइरहेको छ ।
धामीझाँक्री पुजारी तथा ब्राह्मण सबैलाई एकैठाउँ राख्ने, गोठ भत्काउन लगाउने र छाउजस्ता कुप्रथा नमान्न शपथ गराउने गरिएको छ । आजै छाउगोठको अवस्थाबारे नगरपालिकास्तरीय संयन्त्रले अनुगमन गरेको छ । छाउगोठको अवस्था, स्थानीयवासीको धारणा र महिला सुरक्षाबारे जानकारी लिन सर्वपक्षीय संयन्त्रबाट अनुगमन गरिएको हो । नगर उपप्रमुख विष्टको नेतृत्वमा रहेको टोलीले गोठ भत्काइएपछि महिनावारी भएका महिला बस्ने स्थान र गोठको अवस्थाबारे शुक्रबार जानकारी लिएको छ ।
गोठ देखावटी रूपमा भत्काउने र अवस्था पुरानै देखिए नगरपालिका र वडा कार्यालयले दिने सुविधा रोक्ने निर्णय गरेको छ । शुक्रबार अनुगमनका क्रममा महिला, सासू–ससुरा, धामीझाँक्री, पुजारीलगायतका व्यक्तिसँग प्रत्यक्ष छलफल तथा अन्तरक्रिया गरिएको टोलीमा सहभागी सहास नेपालका कार्यक्रम संयोजक रामबहादुर खत्रीले बताए । टोलीमा नगर उपप्रमुख विष्ट, वडाध्यक्ष वीरबहादुर रावलसहित वडा सदस्य, सरोकारवाला निकायका प्रतिनिधि, स्थानीय धामीसहितको सहभागिता थियो ।

वडाका धामीझाँक्रीलाई अभिमुखीकरण
बडीमालिका नगरपालिका–३ का वडामा रहेका विभिन्न देवताका धामीझाँक्री र पुजारीका लागि शनिबार अभिमुखीकरण गोष्ठी आयोजना गरियो । नगरपालिका–३का स्थानीय धामीझाँक्री, पुजारी र पुरोहितहरू छाउपडी प्रथाको विभेद हटाउन लाग्ने प्रतिबद्धता जनाएका छन् । बडीमालिका नगरपालिका महिलासँग उपप्रमुख कार्यक्रमको वडास्तरीय धामीझाँक्रीसँगको एकदिने अभिमुखीकरण कार्यक्रममा उनीहरूले छाउपडी गोठ मुक्त अभियानलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
वडामा भएका छाउगोठलाई अन्त्य गर्देै छाउ भएका महिलालाई घरभित्र राख्न सहमत भएको धामी बलबहादुर रावलले बताए । उनका अनुसार छाउ हुनु कुनै पाप नभएकाले सरसफाइ भएर घरभित्र बस्दा कुनै समस्या नहुने हुँदा आगामी दिनमा छाउ भएका महिलालाई गोठमा नराख्ने बचन दिएका छन् ।
वडामा रहेका प्रत्येक टोलमा छाउगोठ निर्माण गरिएकाको वडाको निगरानी समूह र वडाका महिला, धामीझाँक्री र वडा कार्यालयको सक्रियतामा भत्काएर वडालाई स्थानीय तहको पहिलो छाउपडी गोठमुक्त घोषणा अभियानलाई सहयोग गर्ने धामी जयलाल ल्वारले बताए । वडामा छाउगोठ भएको पाइएमा वडा कार्यालयबाट दिने सेवा सुविधा, नागरिकता, जन्मदर्ता, सिफारिसलगायतका सुविधा रोक्ने वडाध्यक्ष वीरबहादुर रावलको भनाइ छ ।

२० गते घोषणाको तयारी
बडिमालिका नगरपालिका–३ रजालीलाई यही वैशाख २० गते छाउपडी गोठ मुक्त वडा घोषणा गरिने भएको छ । गाउँमा भएका सबै छाउगोठ भत्काएर स्थानीय घरमै बस्न थालेपछि यो घोषणा गर्न लागिएको हो ।
बडिमालिका–३ रजालीलाई नगरपालिकाकै पहिलो वडाका रूपमा घोषणा गर्न लागिएको नगर उपप्रमुख विष्टले जानकारी दिइन् । नगरपालिका र वडा कार्यालयको अगुवाइ पिसविन आस्था कार्यक्रम र सहयोगी हातहरूको समूह सहास नेपालको सहजीकरणमा सो घोषणा गर्न लागिएको विष्टको भनाइ छ । रासस

प्रकाशित मिति : १७ बैशाख २०७५, सोमबार ००:३२