काठमाडौं । राष्ट्र बैंकले हालसम्म ४ खर्ब ७३ अर्ब ३८ करोड रुपैयाँ बराबरका नयाँ नोट बजारमा ल्याएको छ । राष्ट्र बैंकले २०७३ फागुन मसान्तसम्ममा विभिन्न दरका ४ खर्ब १९ अर्ब २८ करोड रुपैयाँ बराबरका नोट चलनचल्तीमा रहेकोमा २०७४ फागुन मसान्तसम्ममा थप ५४ अर्ब १० करोड बराबरको नोट निष्काशन भएको जनाएको छ ।
गएको एक वर्षको अवधि (२०७३ चैतदेखि २०७४ फागुन मसान्तसम्म) मा विभिन्न दरका १ खर्ब ८७ अर्ब ७६ करोड बराबरको ८० करोड ४० लाख थान नयाँ नोट बैंकमा भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विभिन्न दरका ७४ अर्ब ३० करोड रुपैयाँ बराबरको ३६ करोड ४० लाख थान नयाँ नोट बैंकमा भित्रिएका थिए ।
नोट कोषको ढुकुटीको बिमा रकममा अघिल्लो आर्थिक वर्षको तुलनामा ४ अर्ब १० करोडले वृद्धि भई आर्थिक वर्ष २०७४/०७५ मा २१ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । २०७४ चैत मसान्तसम्मको अवधिमा २ वटा नोट कोषहरु सञ्चालन भएका छन् । २०७४ फागुन मसान्तसम्ममा ४९ अर्ब ८९ करोड रुपैयाँ नोट कोषमा मौज्दात रहेको छ ।
आर्थिक गतिविधिको विस्तारसँगै मुद्राको चलनचल्ती बढ्दै गएको र अर्थतन्त्रको मौद्रिकीकरणमा सुधार भइरहेकोले मुद्राको सहज आपूर्ति गर्दै आएको राष्ट्र बैंकले जनाएको छ । बैंकले आवश्यकता अनुसार सहजरुपमा मुलुकभर नेपाली नोटको व्यवस्था गर्ने प्रयोजनको लागि कम्तीमा ३ वर्ष ३ महिनाका लागि धान्ने नोट स्टक राख्न नीतिगत व्यवस्था अनुसार नोट छपाई सम्बन्धी कार्य गर्दै आएको छ ।
।