सूचनाको शक्ति - The Power Of Information

        

प्राकृतिक सम्पदाको संरक्षण र उपयोग गरौँ : मन्त्री गिरी


रेनुका गिरी । बुटवल । प्रदेश नं. ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले प्राकृतिक सम्पदालाई अत्याधिक मात्रमा उपयोग गर्नुपर्ने बताएका छन् । देशको समग्र विकासका लागि प्राकृतिक सम्पदाहरुको उचित संरक्षण गरेर अत्याधिक रुपमा उपयोग गर्नुपर्ने मन्त्री गिरीले बताए ।
शुक्रबार शंकरनगर सामुदायिक वन उपभोक्ता समूहले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री गिरीले वन, खोलानालाको संरक्षण गर्नुपर्नेमा जोड दिए । पुराना अधुरा कानुनहरुलाई संशोधन गरी नयां कानुन बनाउनुपर्ने र त्यसका लागि प्रदेश सरकार चनाखो भएर लाग्ने मन्त्री गिरीले बताए ।
सामुदायिक वनका वरिष्ठ सल्लाहाकार समेत रहनुभएका मन्त्री गिरीले कानुनी राजमा कानुनको परिपालना गर्नु नागरिकको कर्तब्य र अधिकार हो भन्दै मन्त्री गिरीले कानुन मिचेर अगाडि बढ्ने छुट कसैलाई नभएको बताए ।
कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीले संघीयताको अभ्यास नौलो भएकाले कानुनहरु बन्न बांकी रहेको बताए । संघीयताको प्रयोगका लागि कानुन आवश्यक पर्ने बताउँंदै न्यायाधीश केसीले कानुनको पालना गरेर वनको दीगो विकास र संरक्षण गर्नुपर्नेमा जोड दिए ।
जिल्ला वन कार्यालय रुपन्देहीका प्रमुख रोमनाथ लामिछानेले वन क्षेत्रको संरक्षणमा सबै लाग्नुपर्ने बताए । वन क्षेत्रमा आफुखुशी गर्ने छुट कसैलाई पनि नभएको भन्दै सामुदायिक वन क्षेत्रमा कुनै पनि संरचना निर्माण गर्दा सामुदायिक वन र जिल्ला वन कार्यालयको समन्वयमा विस्तृत कार्ययोजना वनाएर मात्र गर्नुपर्ने बताए ।
सामुदायिक वनभित्र निर्माण गर्ने भनिएको भ्यू टावर पनि वन कानुन र नियमसंगत नभएको टिप्पणी गरे । कार्यक्रममा ईलाका वन कार्यालय शंकरनगरका वन अधिकृत गिरिप्रसाद गैरे, शंकरनगर सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष रविन्द्र वस्नेत लगायतले बोल्दै सामुदायिक वनको दीगो विकासका लागि सबैको सहभागिता आवश्यक पर्नेमा जोड दिए । सामुदायिक वनका अध्यक्ष राम गिरीको अध्यक्षता र सचिव इन्दु थापा मगरको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७४, शनिबार ०६:०६