कुमार चौलागाई । काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को सदस्यता पाएको झण्डै ३० वर्षपछि नेपालले एक दिवसीय क्रिकेटको मान्यता पाएको छ । एक दिवसीय मान्यतासँगै अब नेपाली क्रिकेटको नयाँ अध्यायसमेत शुरु भएको छ । एक दिवसीय मान्यता पाएको नेपाली क्रिकेटमाथि अवसर र चुनौतीका चाङ पनि थपिएको छ । पहिलो पटक यो सफलता पाएसँगै नेपाली क्रिकेटको अहिले सबैतिर चर्चा छ ।
क्यानको विवादबीच पनि नेपाललले यो सफलता पाउनु खुशीको विषय हो । यो मान्यता पाएसँगै नेपालले आगामी चार वर्षसम्म थुप्रै अवसरहरू पाउनेछ । सन् १९८८ मा आइसिसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एशोसिएट राष्ट्रको मान्यता पाएको थियो भने नामिबियामा केही दिनअघि सम्पन्न आइसिसी विश्व क्रिकेट लिगमा डिभिजन टुको उपविजेता बन्दै एक दिवसीय मान्यता पायो । यो उपलब्धि नेपालको लागि अहिलेसम्मकै ठूलो हो ।
अब नेपालले चार वर्षसम्म आइसिसीअन्तर्गतका इन्टरकन्टिनेन्टल कप, च्याम्पियनशीपलगायत थुप्रै प्रतियोगिता खेल्न पाउनेछ । इन्टरकन्टिनेन्टल कप एशोसिएट राष्ट्रको सबैभन्दा उच्च तहको प्रतियोगिता हो । आइसिसीले यही प्रतियोगिताको प्रदर्शनका आधारमा पनि एशोसिएट राष्ट्रलाई टेस्ट मान्यता दिने–नदिने टुंगो लगाउने गर्दछ । सन् २०१५ देखि २०१७ सम्म भएको इन्टरकन्टिनेन्टल कप प्रतियोगिताका विजेता अफगानिस्तान र उपविजेता आयरल्याण्डले टेस्ट मान्यता केही समयअघि मात्रै पाएका छन् ।
सन् २०१५ देखि २०१७ सम्म चलेको आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनशीपमा नेपालले सहभागिता जनाएको थियो, जसमा खराब प्रदर्शनका कारण नेपाल सातांै स्थानमा परेर रेलिगेशन हँुदै डिभिजन टुमा घटुवा भयो । विश्वकप छनोटबाट २०२२ सम्मका लागि एक दिवसीय मान्यता पाएसँगै पुनः आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनशीपमा अब नेपालले सहभागिता जनाउन पाउनेछ ।
आइसिसीबाट अब थप सुविधा
नेपालको यो सफलतासँगै नेपालले अब उच्च कोटीको प्रशिक्षक र खेलाडीलाई दिइने सुविधा, विभिन्न अन्तर्रा्ष्ट्रिय प्रशिक्षण तथा एक दिवसीय सिरिज खेललगायतका सुविधा आइसिसीबाट पाउनेछ । नेपालले २०२२ सम्मका लागि प्रत्येक वर्ष करिब ८ करोड आइसिसीबाट पाउने क्यानले जनाएको छ । नेपालले खेल्ने खेलअनुसार आइसिसीको वरियतामा आउनुका साथै खेलाडीको प्रदर्शनको लेखाजोखा पनि हुनेछ । यसका साथै नेपालले आफूभन्दा ठूला राष्ट्रसँग एक दिवसीय सिरिज खेल्ने अवसर पनि पाउनेछ ।
सन् २०१३ मा आइसिसी विश्व क्रिकेट लिग डिभिजन थ्रीको विजेता बन्दै नेपालले विश्वको ध्यान तानेको थियो । आफूभन्दा बलियो प्रतिद्वन्द्वी युगाण्डालाई ५ विकेटले पराजित गर्दै डिभिजन टुमा प्रवेश गर्नुका साथै सन् २०१४ मा हुने आइसिसी विश्वकप छनोटमा पनि स्थान बनाएको थियो । एकपछि अर्को राम्रो प्रदर्शन गर्दै अघि बढेको नेपाल सन् २०१४ मा डिभिजन थ्रीको दोस्रो पटक विजेता बन्यो । सन् २०१४ मै नेपालले टि–ट्वान्टी विश्वकप क्रिकेट पनि खेलेको थियो । साथै नेपालले सन् २०१५ देखि २०१७ सम्म चलेको आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनशीप खेल्ने अवसर पाएको थियो ।
क्यान विवादले गुम्न सक्छ सफलता
विसं २०७३ वैशाखमा क्यान निलम्बन भएपछि अहिलेसम्म नेपाली खेलाडीले अभिभावकबिनै ठूला प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन् । क्यान विवाद अन्त्य भई निलम्बन फुकुवा नहुने हो भने नेपालले पाएको यो ऐतिहासिक सफलता गुम्नेछ । विसं २०७२ मंसिरमा क्यानका तत्कालीन उपाध्यक्ष चतुरबहादुर चन्द, महासचिव अशोकनाथ प्याकुरेललगायतका पक्षले क्यानको अधिवेशन डाक्यो ।
तर, क्यानकै तत्कालीन अध्यक्ष टंक आङबुहाङको पक्षले कोठे निर्णय र पारदर्शी नभएको भन्दै तत्काल अधिवेशन रोक्न राष्ट्रिय खेलकुद परिषद्मा उजुरी दिएको थियो । राखेपले चुनाव रोक्न तत्काल निर्देशन दिए पनि क्यानका चन्द र प्याकुरेलको पक्षले चुनाव रातारात गराएरै छाडे जुन चुनावबाट क्यान अध्यक्षमा चन्द र महासचिवमा प्याकुरेल चुनिए । तर राखेपले कुनै पनि हालतमा निर्वा्चित क्यानलाई मान्यता नदिने प्रष्ट पा¥यो । त्यसको केही दिनमै राखेपले रमेश सिलवालको नेतृत्वमा तदर्थ समिति बनाएको थियो ।
क्यान विवादले उग्ररुप लिँदै गर्दा आइसिसीले २०७३ वैशाखमा क्यानलाई सरकारी हस्तक्षेप र निष्पक्ष नभएको भन्दै प्रतिबन्ध लगायो । अहिले क्यानलाई आइसिसीले अन्तिम मौका दिएको छ । अब पनि क्यान विवाद नसल्टिए सदस्यताबाटै क्यान खारेज हुनसक्छ र नेपालले पाएको सफलता पनि गुम्न सक्छ । क्यानका निलम्बित अध्यक्ष चन्दले क्यान विवाद निरुपण गर्नुको विकल्प नरहेको बताउँछन् । उनका अनुसार छलफल चलिरहेको र एक महिनाभित्रै विवाद समाधान हुन्छ ।
नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा भने घरेलु क्रिकेटको संरचना, भौतिक पूर्वाधार, खेलाडीहरुको हेरचाहलगायतमा ‘प्रफेसनल सेटअप’ गर्नुपर्ने बताउँछन् । एक दिवसीय क्रिकेटको मान्यता दिलाउँदै गत सोमबार साँझ स्वदेश फर्केको राष्ट्रिय टोलीका कप्तान कप्तान पारस खड्काले खेलाडीहरुले आफ्नो जिम्मेवारी पूरा गरेको र अब क्रिकेट पदाधिकारी र सरोकारवालाले जिम्मेवारी पूरा गर्नुपर्ने दिन आएको बताए ।
सञ्चारकर्मीमाझ उनले भने, ‘नेपाली क्रिकेट खेलाडीहरुले यस पटक मात्र होइन, धेरै पटक आफ्नो जिम्मेवारी पूरा गरिसक्यो । तर, सरकार र आफूलाई क्रिकेटका स्टेकहोल्डर भन्नेहरुले आफ्नो जिम्मेवारी पूरा नगर्दा पाएको सफलता जोगाउन सकिएको छैन ।’ क्रिकेटको विकास लागि सक्षम क्रिकेट बोर्ड र घरेलु संरचनालाई बलियो बनाउनुपर्ने उहाँको सुझाव छ ।
चौध वर्षमा पनि बनेन मूलपानी
राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत काठमाडौँको मूलपानीमा दुई क्रिकेट रङ्गशालाको निर्माण शुरू गरिएको १४ वर्ष भयो । मैदान बनाउन शुरू गरिँदा नेपाल डिभिजन ५ मा थियो । नेपाली खेलाडीले अहिले मुलुकलाई एक दिवसीय दिलाइसके तर मूलपानी मैदान अझै तयार भएको छैन । मूलपानीमा निर्माणाधीन दुई वटा रंगशालामध्ये एउटा खेल्न योग्य बन्ने अवस्थामा छ । तल्लोमा प्याराफिटको काम भइरहेको छ । बिनाअवरोध काम भए अबको छ महिनामा मूलपानी खेल्न योग्य मैदान बन्नेछ ।
रु १७ करोडमा मूलपानी मैदान निर्माणको ठेक्का पाएको प्रेरा मुन्ना एन्ड आचार्य जेभीले आगामी छ महिनाभित्र मैदान निर्माणको काम सक्ने जनाएको छ । नेपाली क्रिकेको इतिहास धेरै लामो छ । विसं १९७० को दशकमा बेलायत भ्रमण तथा भारतबाट पढेर फर्किने तत्कालीन राणा शासकहरूले क्रिकेट नेपाल भित्र्याएको पाइन्छ । तर, आफ्नै मनोरञ्जनका लागि भित्र्याएको खेल उनीहरुले जनस्तरमा ल्याएनन् । त्यतिखेर राणाका दरबार र टुँडिखेल क्रिकेट खेलिथ्यो । देशव्यापीरूपमा क्रिकेट विकास र विस्तार गर्ने उद्देश्यले २००४ सालमा नेपाल क्रिकेट संघको स्थापना पनि भयो ।
राणाकालमै स्थापित संघले २०१८ सालमा राष्ट्रिय खेलकुद परिषद् राष्ट्रिय संघको रूपमा दर्ता पायो । तर पनि २०४० को दशक अघिसम्म नेपालमा क्रिकेट लोकप्रिय भइसकेको थिएन । विसं २०४४ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एफिलिएट सदस्य भएको नेपाल त्यसको दुई वर्षपछि एसियाली क्रिकेट परिषद् एसिसीको सदस्य बन्यो । विसं २०५२ मा आइसिसीको एशोसिएट सदस्य बनेपछि नेपाली क्रिकेटले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न थालेको हो । पहिलोपल्ट २०५२ सालमा मलेसियाको क्वालालम्पुरमा सम्पन्न एसिसी ट्रफीमा नेपालले अन्तर्राष्ट्रिय सहभागिता जनायो भने २०५५ सालमा नेपालले पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाको अवसर पायो ।
त्यो वर्ष एसिसी ट्रफी आयोजना गर्दा नेपालले भौतिक पूर्वाधार निर्माणमा फड्को मा¥यो । कीर्तिपुर र पुल्चोकको क्रिकेट मैदान त्यही बेला बनाइएको हो । प्रतियोगितामा नेपाली टोलीले एउटै खेल जित्न नसके पनि दुई अन्तर्राष्ट्रियस्तरका मैदान बन्नु नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि थियो । सन् २००२ मा सिंगापुरमा सम्पन्न एसिसी ट्रफीमा नेपाल उपविजेता भयो, उपाधि युएइले जित्यो । लगत्तैको वर्ष इमर्जिङ नेसन्स कप आयोजना गर्दा भुटान र माल्दिभ्सलाई सहजै हराएको नेपालले उपाधि नै जित्यो ।
त्यसयता लगातार अन्तर्राष्ट्रिय प्रतियोगितामा मिश्रित सफलता हासिल गर्दै अघि बढेको नेपाली टोलीले २००८ मा विश्व क्रिकेट लिग डिभिजन फाइभ खेल्न जर्सीको भ्रमण ग¥यो । समूह ए को शीर्ष टोली बनेर सेमिफाइनल पुगेको नेपाल अन्तिम चारमा अफगानिस्तानसँग पराजित भयो भने अमेरिकालाई प्लेअफमा हराउँदै तेस्रो स्थान हासिल गर्न सफल भयो । सन् २०१० को फेब्रुअरीमा काठमाडौंमा सम्पन्न डिभिजन फाइभ नेपालले जित्यो । अमेरिकालाई फाइनलमा हराएर जितेको त्यो नेपालको पहिलो उपाधि थियो ।
त्यही वर्ष भएको डिभिजन फोरमा नेपाल तेस्रो हुँदै रेलिगेशनबाट जोगियो । सन् २०१२ मा डिभिजन फोर जितेर डिभिजन थ्रीमा उक्लिएको नेपाल २०१३ को मार्चमा सम्पन्न डिभिजन थ्री मा पनि विजेता बन्दै डिभिजन टु मा उक्लियो । यस क्षेत्रका जानकारहरु भन्छन्, आजको आवश्यकता सक्षम नेतृत्वसहितको राजनीतिक हस्तक्षेपमुक्त स्वायत्त क्रिकेट बोर्डको हो जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सरोकारवाला निकायसँग समन्वय गर्दै समग्र नेपाली क्रिकेटको विकासमा नेतृत्वदायी भूमिका खेलोस् । रासस
।