सूचनाको शक्ति - The Power Of Information

        

महिलामा थाइरोइडको समस्या बढ्दो, नेपालमा छैन रोगको अध्ययन


रेनुका गिरी । रुपन्देही । तिलोत्तमा नगरपालिका–१ शंकरनगरकी धनीकला पाण्डेलाई अनौठौ समस्या देखियो । परिवारका अन्य सदस्य सामान्यरूपमा बस्दा उनलाई खपिनसक्नु गर्मी हुन्थ्यो । मन बेचैन हुन्थ्यो । कतै दुखेको छैन, खान पनि रुचेकै थियो । तर, उनी अस्वाभाविकरूपमा दुब्लाउँदै गएकी थिइन् । उनको कपाल विस्तारै झर्दै गएको थियो । ‘समस्या छ भनौं भने के भएको भन्नु ? केही भएको छैन भनुँ मन आत्तिएको हुन्थ्यो,’ उनले आफ्ना अनुभव सुनाइन, ‘धेरै समयसम्म आफ्नो समस्या कसैलाई नभनी बसेँ ।
छटपटी बढेपछि उनले बुटवलको फिजिसियन डा विष्णु पौडेलसँग स्वास्थ्य परिक्षणपछि उनलाई थाइरोइड भएको थाहा भयो । उनी अहिले थाइरोइडको नियमित औषधी सेवन गरिरहेकी छिन् । उनी जस्तै रुपन्देहीकी तिलोत्तमा नगरपालीका–१ शंकरनगरकी मोतीसरा भट्टराईलाई पनि थाइरोइड छ । उनले पनि परिक्षणपछि औषधि सेवन गरिरहेकी छिन् । धनीकला र मोतीसरा जस्तै धेरै महिला थाइरोइड समस्याबाट पीडित छन् ।
‘केही वर्षअघिसम्म नेपालमा थाइराइड परीक्षण गर्ने व्यवस्था थिएन, धेरैजसो बिरामी रोग पहिचान नगरिकन बस्थे,’ वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा संजयप्रसाद शाह भन्छन्, ‘अहिले धेरै ल्याबमा यसको परीक्षण गर्न थालेपछि नेपालमा यो रोगका बिरामी बढेका छन् ।’ थाइरोइड घाँटीको बीच भागमा पुतली आकारमा रहेको एक हर्मोन उत्पादन गर्ने ग्रन्थी हो । विभिन्न कारण उक्त ग्रन्थीमा समस्या आएर हर्मोन बढी उत्पादन गर्ने तथा कम उत्पादन गर्ने अवस्था नै थाइराइड हो ।
यो हर्मोनले शरीरभर आवश्यक हर्मोन रस उत्पादन गर्छ । यो हर्मोनबिना मानिस बाँच्न सक्दैन । फिजिसियन डा शाहकोे अनुभवमा यो समस्या महिलामै बढी देखिन्छ । रोग प्रतिरोध क्षमतामा हुने गडबढी भएमा यो रोगले महिलालाई बढी आक्रमण गर्छ । यो रोग १० जना महिलामा देखिँदा एकजना पुरुषमा देखिन्छ । ३५ देखि ५५ वर्ष महिलामा यो रोगको समस्या अत्यधिक पाइएको छ । चिकित्सकका अनुसार थाइरोइड कम हुने र बढी हुने दुवै अवस्थामा शरीरमा असन्तुलन हुन्छ ।
यो ग्रन्थीको काममा गडबडी पैदा हुँदा अनावश्यक हर्मोन बढी र आवश्यक हर्मोन कम मात्रामा उत्पादन हुन्छ । थाइरोइड घाँटीको अघिल्लो भागमा रुद्र घन्टीको तल रहने एक प्रकारको ग्रन्थी हो । यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनिन (टी–४) हर्मोन उत्पादन गर्छ । थाइरोइडको खास काम शरीरको गति नियन्त्रण (मेटाबोलिजम) गर्ने हो । यसलाई शरीरको ‘एक्सिलेटर’ पनि भन्ने गरिन्छ ।
अझ युवा उमेरका महिलामा थाइराइड रोगको समस्या बढ्दो रहेको चिकित्सकले बताएका छन् । एक दशकअघिसम्म चर्चामै नआएको यो रोगका बिरामी बढिरहेको र महिलामा बढी पाइएको फिजिसियन डा शाहकोे भनाइ छ । नेपालमा थाइरोइड सम्बन्धी छुट्टै अध्ययन भएको छैन । छिमेकी भारतमा कुल जनसंख्याको ११ प्रतिशतमा थाइरोइड समस्या रहेको तथ्यांक छ । विकसित मूलुकमा भने ५ प्रतिशतमा मात्र यो रोग लाग्ने गरेको छ ।
‘इन्डियन जर्नल अफ इन्डोक्राइनोलोजी’ले सन् २०१३ मा १८ वर्षमाथि उमेर समूहमा गरेको अध्ययनअनुसार भारतमा कुल जनसंख्याको ८ प्रतिशत महिलामा थाइरोइड समस्या देखिएको थियो । चिकित्सकका अनुसार थाइराइड चार प्रकारका हुन्छन् । पहिलो, हाइपोथाइरिजमा (शरीरमा थाइराइड हर्मोन कम उत्पादन हुने), दोस्रो, हाइपरथाइरोडिज्म, तेस्रो गलगाँड र चौथो थाइराइड ग्रन्थीको क्यान्सर । यीमध्ये हाइपोथाइरोमि महिलामा बढी पाइएको छ ।
चिकित्सकका अनुसार यो रोग लागेमा थकाइ लाग्ने, निन्द्रा लाग्ने, जिउ सुन्निने, छाला खस्रो हुने, मोटाउँदै जाने, महिनावारीमा बढी रगत हुने, एकाग्र हुने शक्ति घट्ने, कब्जियत हुने लगायत समस्या देखिन्छन् । हाइपरथाइरोजिम (हर्मोन कम उत्पादन हुने समस्या)का लक्षण बैचनी हुने, निन्द्रा कम लाग्ने, मुटु ढुकढुक हुने, हातखुट्टा काँप्दै जाने, दिसा धेरैपटक लाग्ने, आँखाको गेडा ठूलो भएर जाने, महिनावारी कम हुने जस्ता समस्या देखिन्छन् ।
गलगाँडमा घाँटीमा बाहिरै डल्लो देखिने लक्षण देखिन्छ । वंशाणुगत कारणले बालबालिकालाई हाइपो थाइरोडिजम् रोग लाग्नसक्ने फिजिसियन डा शाहकोे भनाइ छ । एक दशकयता नेपालीहरु स्वास्थ्यप्रति सचेत हुँदै गएपछि नेपालमा थाइराइडको तथ्यांक बढी देखिएको चिकित्सकको अनुभव छ । १० वर्षअघिसम्म नेपालमा थाइरोइड परीक्षण थिएन, अहिले धेरैजसो ल्याबमा हुन्छ,’ डा शाहले भने । थाइराइड बढी देखिनुमा मुख्य कारण नेपालमा भएको जनचेतना भएको फिजिसियन डा शाह बताउँछन् ।
महिलामा नै किन यो समस्या बढी देखियो भन्नेबारे नेपालमा छुट्टै अध्ययन भएको छैन । शरीरमा आयोडिनको कमी या बढी हुनु, एक्सरेजस्ता विकिरणको सम्पर्क प्रभावमा पर्नु, मुुटु तथा मिर्गौलाको बिरामी हुनु, खानपानमा विषादीको बढी प्रयोग हुनुलगायत कारण छन् । ‘महिलाले मोटाइन्छ भनेर कम क्यालोरी खान्छन् । यसले गर्दा हर्मोन उत्पादन कम र बढी हुन्छ र थाइरोइड समस्या देखिन्छ,’ डा शाहले भने ।
चिकित्सकका अनुसार थाइरोइड मानिसको जीवनशैलीसँग सम्बन्धित नभएर थाइरोइड हर्मोनमा आउने गडबडी हो । हाइपरथाइरिजमको समयमै उपचार नभए मस्तिष्क, मुटुलाई असर गर्ने, बाँझोपन हुने बेहोस भएर ढल्ने खतरा हुन्छ भने हाइपोथाइरोडिजम (हर्मोन बढी हुने) भएमा मुटुको चाल गडबड भएर मानिसको मृत्यु हुन सक्ने सम्भावना हुन्छ । यसर्थ थाइरोइड हर्मोन कम भएमा बढ्ने औषधि सेवन गर्नुपर्ने र बढी भएमा कम गर्ने औषधि सेवन गर्न सकिन्छ ।
यी दुवै प्रकारका थाइरोइडमा ६ महिनासम्म थाइरोइड हर्मोन औषधि प्रयोग गरेपछि हराएर जाने हुन्छ भने शरीरमा प्रतिरक्षा क्षमतामा ह्रास भएर उत्पन्न भएको थाइरोइडमा भने जीवनभर यो हर्मोनको प्रयोग गर्नुपर्ने चिकित्सकको सुझाव छ । हाइपोथाइजिमको कारण बढेको मोटोपनामा हर्मोन प्रयोग गर्दैमा मोटोपना नघट्ने भएकोले व्यायममा उत्तिकै ध्यान दिनुपर्ने जरुरी रहेको चिकित्सकको सुझाव छ । बेला–बेलामा परीक्षण गर्ने गरेर रोगको समयमै पहिचान गरी यसको ठूलो असरबाट जोगिन डा शाहको सुझाव छ ।

प्रकाशित मिति : १६ चैत्र २०७४, शुक्रबार ०१:५४