सूचनाको शक्ति - The Power Of Information

        

नारायणगढ–मुग्लिन सडक खण्डका पुल एक वर्षमै बनाइने

नारायणगढ । मुग्लिन सडक खण्डका पुल एक वर्षमै बनाइनेचितवन नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माण गर्न बाँकी रहेका १४ वटा पुल एक वर्षभित्रमा सम्पन्न गर्ने गरी नयाँ ढंगबाट निर्माण योजना तयार गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ मन्त्री नियुक्त भई कार्यप्रारम्भ गरेका दिन विश्व बैंकसँग ती पुलका लागि बजेट माग गर्ने फाईलमा पहिलो हस्ताक्षर गरेको छ ।

सडक विभागका उपमहानिर्देशक एवं वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले मन्त्री महासेठले विशेष महत्व राखेर हस्तक्षर गरेकाले ती पुललाई नक्सांकनसहित निर्माण गर्ने गरी ठेक्का दिने तयारी गरिएको बताए । श्रेष्ठले असारभित्रमा विश्व बैंकसँग सम्झौता सम्पन्न गरी काम अगाडि बढाईने बताए । उनले भने ‘यी पुल एक वर्षभित्रमा सम्पन्न गर्नेछौं ।’

केही ठाउँमा भित्तो काटेर पुल बनाउनु पर्ने भएपनि महत्वपूर्ण सडक भएकाले छिटो सम्पन्न हुने गरी काम गरिने उनले बताए ।

झण्डै २ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान रहेको पनि उपमहानिर्देशक श्रेष्ठले बताए ।

सोही सडकका ४ वटा पुल निर्माण भईरहेका छन् । नारायणगढ–मुग्लिन सडक आयोजनाका परियोजना संयोजक समेत रहनु भएका श्रेष्ठले पुलको चौडाई ११ मिटर फराकिलो हुने बताए । हाल रहेका पुल नभत्काईकन सकेसम्म छोटो पर्ने गरी पुल निर्माण गरिंदै छ । सडकको नारायणगढदेखि १६ किलोमिटरसम्म ११ मिटर फराकिलो छ भने त्यस उता मुग्लिनसम्म नौ मिटर फराकिलो बन्दैछ । हाल रहेका पुलहरु भने पाँच दशकलव पाँच देखि ६ मिटर फराकिला रहेका छन् ।

प्रमुख गोविन्द खनालले अब बन्ने पुलबाट दुईतर्फी सवारी सहज सञ्चालन हुने बताए । पुलको दुवै छेउमा एक दशमलव पाँच मिटरका फुटपाट हुनेछन् । चार वटा पुलको काम तीब्र गतिमा अगाडि बढिरहेको छ ।

निर्माण शुरु भएका चार वटा पुलमा नारायणगढबाट १२ किलोमिटर दासढुङ्गा, १६ किलोमिटर खानी पुल, २२ किलोमिटर मौरी पुल र २९ किलोमिटर जलवीरे रहेका छन् ।

जलवीरे पुल रु १४ करोडमा ठेक्का दिइएको छ । अन्य तीन पुलको कूल निर्माण लागत रु १३ करोड रहेको छ । ३ वटा पूल निर्माणको जिम्मा लामा कन्सट्रक्सनले पाएको छ । जलवीरे पुल निर्माणको ठेक्का सोही खण्डमा सडक निर्माण गरिरहेको सुप्रिम रौताहा जेभीमध्ये नेपाली कम्पनी रौताहाले पाएको छ ।

नारायणगढ मुग्लिन सडक खण्ड निर्माण हुन १८ प्रतिशत बाँकी छ । आउँदो जेठ १५ भित्र सडकको काम सम्पन्न हुने अपेक्षा गरिएको छ ।-रासस

प्रकाशित मिति : १५ चैत्र २०७४, बिहीबार १५:३८