सूचनाको शक्ति - The Power Of Information

        

धुर्मुसको घोषणा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने

काठमाडौं—कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका छन् । चार वटा नमूना वस्ती निर्माण गरिसकेका छ ।
धुर्मुस–सुन्तली फाउण्डेसनको नेतृत्वमा ‘नमूना नेपाल’ परियोजनाको काम भइरहेकाबेला धुर्मुसले क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका हुन् । ‘रंगशाला निर्माणको संयोजन तपाईंहरुले गरिदिनुपर्यो् भनेर सुझाव आइरहेको थियो,’ धुर्मुसले बिहीबार कान्तिपुरसित भने, ‘क्रिकेटले अहिले पाएको सफलतालाई कायमै राख्दै क्रिकेट रंगशाला निर्माणको निर्णयमा पुगेका छौं ।’
नमूना नेपाल परियोजनाको कामसमेत अघि बढिरहेका बेला क्रिकेटको स्तरोन्नतीका लागि र खेलाडीको मनोबल बढाउन रंगशालाको परियोजना अगाडि बढाउने निष्कर्षमा पुगेको धुर्मुसले बताए ।
रंगशाला निर्माणको संयोजनमात्रै फाउण्डेसनले गर्नेछ भने निर्माणका लागि अलग्गै समिति बनाइनेछ । धुर्मुसले रंगशाला परियोजना पूरा गर्न आफूहरु सक्षम र दृढ रहेको बताउँदै तर परियोजना पूरा गर्न सरकारको भूमिका प्रमुख हुने बताए । ‘जग्गा सरकारले उपलब्ध गराउनुपर्छ,’ उनले भने, ‘जनताबाट सहयोग उठाउने काम हामी गर्छौं, बाँकी रकमको व्यवस्था सरकारबाट हुनुपर्छ ।’
अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाले पर्यटन प्रबर्द्धनमा पनि सघाउ पुग्ने धुर्मुसको भनाइ छ ।

प्रकाशित मिति : १५ चैत्र २०७४, बिहीबार १५:१३