सूचनाको शक्ति - The Power Of Information

        

नयाँ वर्षमा फुड कारनिभल, यसरी झुम्नेछ पोखरा (भिडियोसहित)


काठमाडौं । नेपाली नयाँ वर्ष नजिकिँदै गर्दा ‘हाम्रो सभ्यता, हाम्रो संस्कृति’ जोगाउने मुख्य ध्येयका साथ पोखरामा फुड कारनिभल आयोजना गरिने भएको छ । प्राकृतिक सौन्दर्य र पर्यटकीय गन्तव्यसँगै युवाहरुलाई पर्यटन व्यवसायप्रति उत्प्रेरणा जगाउन नयाँ वर्षको पहिलो दिन बैशाख १ गते फुड कारनिभल आयोजना गरिएको आयोजकले जनाएको छ ।
‘फुड कारनिभल सवा करोडको आयोजना हो,’ टिम सहयोगी सुरज घिमिरेले भने, ‘यो नेपालमा पहिलो पटक आयोजना गरिएको छ ।’ टिम सहयोगी घिमिरेका अनुसार हाम्रो नयाँ वर्ष हामीले नै मनाउने हो भन्ने मान्यताका आधारमा फुड कारनिभल आयोजना गरिएको हो ।
पोखरा नै छनौट किन गर्नुभएको भन्ने प्रश्नमा घिमिरेले भने, ‘मुख्य आयोजक पोखराकै भएको र पर्यटन प्रवद्र्धनसँगै नयाँ वर्षमा अन्तर्राष्ट्रिय स्तरको मेला सञ्चालन गरी आफ्नो सभ्यता र संस्कृतिको पहिचान दिनका लागि यो स्थान छनौट गर्नुपरेको हो ।’ उनका अनुसार यो आयोजना सफलतापूर्वक सम्पन्न भए आगामी दिनमा अन्य शहरहरुमा एकैचोटी आयोजना गर्ने सोंच रहेको बताए ।

भिडियो हेर्नुस् :

https://youtu.be/k1Gh8N_djNU

‘फुड कारनिभल नयाँ बर्षको रमाइलोसँगै स्थानीय उत्पादनहरुको बारेमा जानकारी दिन र स्थानीय उत्पादनहरुको खपत, प्रवद्र्धन र बजारीकरणको भविष्यको पनि अध्ययन गर्नु अर्को उद्देश्य हो,’ टिम सहयोगी घिमिरे भने, ‘यो आयोजनाले आगामी दिनमा पर्यटकहरुलाई नेपाली नयाँ वर्षमा नेपाल घुमाउनु पनि हो ।’ यो आयोजनाले नयाँ वर्षमा पोखराबासी र त्यहाँ पुग्ने पर्यटकलाई झुम्याउने छ ।
यो आयोजनामा स्थानीय सभ्यता, संस्कृति, रहनसहन लगायतका विभिन्न प्रस्तुतिहरु रहने आयोजकले जनाएको छ । टिम सहयोगी घिमिरेका अनुसार यो आयोजनाले स्वदेशी तथा बाह्य पर्यटकको आगमन दर बढाउनु पनि हो । नयाँ वर्ष विशेष आयोजना भएका कारण पनि दर्शकहरुको उल्लेख्य उपस्थिति रहने आयोजकको भनाई छ ।

प्रकाशित मिति : १५ चैत्र २०७४, बिहीबार १०:५०