सूचनाको शक्ति - The Power Of Information

        

वाम कार्यदलको प्रतिवेदन, जनयुद्ध र सूर्य चिन्हमा विवाद


काठमाडौं । एकीकृत पार्टीको विधान र सांगठनिक खाका तयार गर्न गठित एमाले र माओवादीको कार्यदलले केही बुँदामा अहसमतिसहित आफ्नो प्रतिवेदन तयार पारेको छ । बुधबार बसेको कार्यदलको बैठकले जनयुद्ध र सूर्य चिन्हक विषयमा सहमति जुटाउन सकेन ।
विधानको प्रस्तावनामा जनयुद्ध राख्ने माओवादीको प्रस्तावमा एमाले सहमत भएको छैन । त्यस्तै एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य राख्ने कुरामा माओवादी सहमत भएको छैन । माओवादीले सूर्य चिन्हभित्र हँसिया हथौडा राख्नुपर्ने भनेको छ भने एमालेले प्रस्तावनामा जनयुद्ध शब्द नराखौं भनेको छ ।
यो विषयलाई अब पार्टी एकता संयोजन समिति बैठकले टुंगो लगाउन कार्यदलका सदस्य एबम् माओवादी नेता वर्षमान पुनले अनलाइनखबरलाई बताए । अन्य विषय सर्वसम्मत रुपमा टुंगो लगाएर संयोजन समितिमा पठाएको उनले जानकारी दिए । एमाले उपमहासचिव बिष्णु पौडेलका अनुसार महाधिवेशन, राष्ट्रिय परिषदसहित पार्टीमा आठ संरचना रहनेछन् ।
चुनाव चिन्ह सूर्य राख्ने सन्दर्भमा यसअघि माओवादी अध्यक्ष प्रचण्डले हस्ताक्षर नै गरिसकेको स्मरण गर्दै उनले यसमा धेरै समस्या नरहेको बताए । एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी हुनेछ । पार्टीमा सबैभन्दा माथिल्लो निकाय महाधिवेशन हुनेछ । त्यस्तै एउटा महाधिवेशनदेखि अर्को महाधिवेशनको बीचमा काम गर्ने राष्ट्रिय परिषद बन्ने भएको छ ।
२९९ सदस्यीय केन्द्रीय कमिटी रहने निर्णय भएको कार्यदलका सदस्य बेदुराम भुसालले बताए । एकीकृत पार्टीको केन्द्रीय कमिटी २९९ सदस्यीय, पोलिटव्यूरो ९९ सदस्यीय र ३३ सदस्यीय स्थायी कमिटी हुनेछ । पार्टीमा महाधिवेशन, राष्ट्रिय परिषद, केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्रीय कमिटी (प्रतिनिधिसभा र प्रदेशसभा अलगअलग), स्थानीय तह, वडा र प्रारम्भिक कमिटी रहनेछन् ।
केन्द्रीय कमिटीभन्दा तल प्रदेश कमिटी रहनेछन् । प्रदेश कमिटी १५० सदस्यीय रहने प्रस्ताव गरिएको छ । एमालेले प्रदेशको आकार अनुसार संख्या तलमाथि गर्ने भनेको छ भने माओवादीले सातै प्रदेशमा उत्तिकै संख्यामा प्रदेश कमिटी गठन गर्ने प्रस्ताव राखेको छ । त्यसपछि जिल्ला कमिटी रहनेछन् । जिल्ला कमिटीको संख्या न्युनतम ७५ देखि अधिकतम १२५ सम्म रहने भुसालले बताए ।
जिल्लामा निर्वाचन क्षेत्रको संख्याका आधारमा कमिटीको संख्या घटी बढी हुनेछ । जिल्ला मुनी निर्वाचन ७५ सदस्यीय क्षेत्रीय कमिटी हुनेछन् । त्यस्तै महानगर कमिटी पनि ७५ सदस्यीय बनाउने प्रस्ताव गरिएको छ । उपमहानगर कमिटी ६१ सदस्यीय हुनेछन् । कार्यदलले नगरपालिका कमिटी र गाउँपालिका कमिटीहरु ५१ सदस्यीय हुने गरी प्रस्ताव गरेको छ । वडा कमिटी २५ सदस्यीय हुनेछन् भने प्रारम्भिक कमिटी १५ सदस्यीयसम्म हुनेछन् ।

प्रकाशित मिति : १४ चैत्र २०७४, बुधबार १२:४६