सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय निकायले बच्चा जन्माउन उक्साएको भन्दै विरोध

इलाम । इलाम नगरपालिकाले बढी बच्चा जन्माउन उक्साएको भन्दै महिलाले विरोध शुरु गरेका छन् । नेपाल महिला संघलगायतका महिला अधिकारवादीले यसको विरोध गरेका हुन् । नगरपालिकाले इलाम नगरभित्र जनसंख्या वृद्धि गर्न र स्तरोन्नति गरी उपमहानगरपालिका बनाउने भन्दै बढी बच्चा जन्माउने महिलालाई बढी रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।
यो निर्णय महिलाका लागि स्वीकार्य नहुने महिला संघले पत्रकार सम्मेलनमा जानकारी गराएको हो । महिला संघ, इलामका अध्यक्ष निर्मला सञ्जेलले भनिन्, ‘महिलालाई बच्चा जन्माउने मेसिनमात्र नसम्झन हामी नगरपालिकालाई आग्रह गर्छौं ।’ यस निर्णयले गरीबलाई अझ गरीब बनाउने, अशिक्षितको संख्या वृद्धि हुने महिला संघको भनाइ छ ।
नगरपालिकाका प्रमुख पुरुष भएकाले यस्तो निर्णय भएको भन्दै महिलालाई होच्याउने कार्य भएको महिला संघको ठहर छ । नगरमा भौतिक पूर्वाधार, सडक, स्वच्छ र पर्याप्त पिउने पानीको अभाव, स्वास्थ्य शिक्षा, व्यवस्थित बसोबास लगायतका कुरामा इलाम नगरपालिका कमजोर भएका अवस्थामा यस्तो निर्णय गरिनु लज्जास्पद भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा महिला संघ इलामका अध्यक्ष निर्मला सञ्जेल र सचिव बबिता लिङ्दमले हस्ताक्षर गरेका छन् । यो निर्णय सात दिनभित्र नसच्याए चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने चेतावनीसमेत विज्ञप्तिमार्फत दिइएको छ । यस निर्णयको सार्वजनिक सञ्जालमा समेत चर्को आलोचना हुँदै आएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७४, बुधबार ०७:०३