सूचनाको शक्ति - The Power Of Information

        

मध्यपश्चिम क्षेत्रीय अस्पतालमा भरपर्दो उपचार नपाएको बिरामीको गुनासो

प्रभा रावत । सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको क्षेत्रीय अस्पतालमा उपचारका लागि आउने बिरामीहरुले सहज रुपमा सेवा नपाएको गुनासो गरेका छन् । यो प्रदेशकै ठुलो सरकारी अस्पताल भएपनि बिरामीले आवश्यक विशेषज्ञ सेवा पाउन सकेका छैनन् ।
अस्पतालमा उपचारका लागि आउने बिरामीहरुले उपचार नपाएर फर्कनुपरेको समेत गुनासो गरेका छन् । लामो समयसम्म लाईनमा कुर्नुपर्ने, विशेषज्ञ सेवा उपलब्ध नभएको, सामान्य उपचारका लागि पनि सुर्खेतबाहिर जानुपर्ने बाध्यता रहेको र अस्पतालका स्वास्थ्यकर्मीहरुले समेत रुखो व्यवहार गर्ने गरेको विरामीहरु बताउँछन् ।
अस्पताल प्रशासनले पछिल्लो समय सेवा विस्तार र परिवर्तन भएको दाबी गरिरहेको छ । अस्पतालको भौतिक संरचनासमेत विस्तारको क्रममा छ । तर बिरामीहरु भने आफूूहरुले परिवर्तनको अनुभुति गर्न नपाएको गुनासो गरिरहेका छन् । बिरामी र तिनका आफन्तले क्षेत्रीय अस्पतालमा यो समस्या भोगिरहँदा अस्पताल विकास समितिले भने अब सेवालाई सहज बनाइने जनाएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७४, बुधबार ०६:२६