सूचनाको शक्ति - The Power Of Information

        

प्रचारप्रसार अभावमा ओझेलमा पर्यटकीयस्थल ‘टापुधाम’


सुशीला रेग्मी । पाल्पा । हेर्दा अत्यन्तै रमणीय पवित्र कालीगण्डकीको किनारमा रहेको पर्यटकीय क्षेत्र टापुधाम प्रचारप्रसार तथा पूर्वाधार विकासको अभावमा ओझेलमा परेको छ । कलकल बग्दै गरेको कृष्णगण्डकीका नामले समेत परिचित कालीगण्डकी तटको रामपुर नगरपालिका–१ को खटाङमा रहेको टापुधाम क्षेत्र प्राकृतिक रूपमा अत्यन्तै सुन्दर रमणीय क्षेत्र हो ।
यस टापुधाम क्षेत्रको सञ्चारमाध्यममा प्रचारप्रसार नहुनु तथा यसको भौतिक पूर्वाधार विकासमा कसैले चासो नदिँदा अहिलेसम्म ओझेलमा परिरहेको छ । पछिल्लो समयमा स्थानीयस्तरमा यसको संरक्षण गर्दै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न कालीगण्डकी वारि र पारिका स्थानीयवासीले माग गरिरहेका छन् ।
प्रकृतिको अपार सुन्दरताले भरिपूर्ण टापुधाममा पुग्ने जो कोही पनि सुन्दर प्राकृतिक छटासँग रुमलिन पुग्छन् । टापुधामलाई बग्दै गरेको कालीगण्डकीले दाहिने दिशा पारेर घेरेको छ । यो दृश्यले सबैको मनलाई टापुधामतिर तानिरहेको हुन्छ । वर्षायाममा कालीगण्डकीमा पानीको बहाव बढ्दै जाँदा यो क्षेत्रलाई नदीले घेरेको सुन्दर दृश्यले जो कोहीलाई पनि लोभ्याइरहेको हुन्छ ।
यही टापुधामबाट कालीगण्डकी पारि रहेको तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–१ को रमणीय भण्टार क्षेत्रलाई नियाल्दै प्रकृतिको अनुपम सुन्दरतासँग हराएको पत्तो हुँदैन । यहाँका स्थानीयवासी पदमबहादुर सिंहले पुत्र प्राप्तिका लागि एक महिनासम्म टापुधाममा ध्यान गरेर बसेको र ध्यानपश्चात् पुत्र प्राप्त भएकाले विसं २०५६ मा उहाँकै सक्रियतामा स्थानिवासीको सहयोगमा यहाँ यज्ञ लगाइएको हो । मनोकामना पूरा भएपछि पञ्चायन देवताको मन्दिर निर्माण गरिएको थियो ।
यहाँका स्थानीयवासीले मागेको कुरा प्राप्त हुने भएपछि त्यस समयदेखि धार्मिक आस्था पनि बढ्दै गएको टापुधाम क्षेत्र विकास निर्माण समितिका अध्यक्ष ऋषिराम तिवारी बताउँछन् । स्थानीय निकाय, विभिन्न संघसंस्था तथा व्यक्तिसँग रकम जुटाएर यसको भौतिक पूर्वाधार निर्माण गरेर यसलाई छिट्टै नै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्दै जाने तिवारीले बताए । अहिले यहाँ मन्दिर, आश्रमस्थल, चौतारी तथा आँपको बँगैचा रहेका छन् । करीब १० रोपनी क्षेत्रफलमा फैलिएको यस टापुधाम क्षेत्रका लागि वडाबाट रु ५० हजार रकम विनियोजन भएको छ ।
रामपुर नगरपालिकाले यसलाई नगरका १० उत्कृष्ट पर्यटकीय क्षेत्रअन्तर्गत सूचीकृत गरेको छ । प्रकृतिले नै दिएको सुन्दर उपहार यस टापुधामको विकासमा सम्बन्धित निकायले बेलैमा ध्यान दिएर विकासका काम अगाडि बढाउन सके साँच्चिकै यो क्षेत्र एक उत्कृष्ट पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास हुने स्थानीयवासी वसन्तबहादुर थापाको भनाइ छ । कालीगण्डकी करिडोरको आडैमा अवस्थित रहेकाले पनि यसको पर्यटकीय विकास भएको खण्डमा यहाँ दिनहुँ सयौँको संख्यामा पर्यटकको आवागमन हुने आशा गरिएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७४, बुधबार ०६:०३