सूचनाको शक्ति - The Power Of Information

        

उत्तरी सीमा रेखदेखका लागि सशस्त्र १५ जनाको टोली छाङ्रु प्रस्तान

दार्चुला । महाकाली नदीमाथि भारतीय पक्षले एकतर्फी रुपमा पुल लगाएको घटना बाहिर आएपछि उत्तरी सीमाको रेखदेखमा सशस्त्र प्रहरीबल सीमा सुरक्षा १५ जनाको टोली मंगलबार व्यास गाउँपालिकाको छाङ्रु गएका छन् । गत फागुनमा नेपालको सहमतिबिनै व्यास गाउँपालिकाको वडा नं २ को राप्ला क्षेत्रमा पर्ने दोपाखे, नजंग खोला, लखनपुर र बुदीको कौथलामा चारवटा पुल निर्माण गरेको विषय सञ्चारमाध्यममा आएपछि सशस्त्र प्रहरीको टोली सीमा क्षेत्रको रेखदेख गर्न त्यसतर्फ गएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, दार्चुलाका गुल्मपति अम्बिकाप्रसाद जोशीले जानकारी दिए । गुल्मबाट प्रहरी नायब निरीक्षक राजेन्द्र चन्दको नेतृत्वमा मंगलबार सीमा क्षेत्रको वस्तुस्थिति बुझ्न र सीमा क्षेत्रमा ओसारपसार हुने अवैध सामान नियन्त्रण गर्न टोली त्यसतर्फ गएको हो,” गुल्मपति जोशीले बताए । १५ जनाको टोली मिलेसम्म गाउँपालिकाको तिंकरसम्म पुग्ने र सशस्त्र प्रहरीले त्यहाँ रहँदासम्म सीमा क्षेत्रमा हुने अवैध किसिमका गतिविधिको निगरानी गर्नेसमेत जनाइएको छ । फागुन २८ नेपाली सेनाको एक टुकडी सीमा क्षेत्रको अवस्था बुझ्न तथा दुर्गम क्षेत्रमा नेपाली सेनाको उपस्थिति देखाउन व्यास गाउँपालिकाको छाङरु गएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७४, बुधबार ०१:४३