सुर्खेत । प्रधानमन्त्री कार्यालयबाट बा १ झ ९१८८ को स्कर्पियो गाडी दिइएको छ । तर, मर्मत गरेर चढ्न पनि मुस्किल छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कर्णाली प्रदेश (प्रदेश ६)लाई दिएको गाडीको अवस्था हो । दुई वटा त चल्ने अवस्थामा छैनन् । केन्द्रबाट आएको बा १ झ ९१८८ नम्बरको स्कार्पियो र बा १ झ ३८६९ नम्बरको ल्यान्डक्रुजर प्रयोग नै गर्न नमिल्ने अवस्थामा छन् । स्कार्पियो प्रधानमन्त्री कार्यालय र ल्यान्डक्रुजर गाडी शिक्षा विभागले पठाएको हो ।शिक्षा विभागबाट पठाइएको बा १ झ ३८६९ नम्बरको अर्का गाडी चालु अवस्थामै छैन । ‘गाडीको किसिम’ शीर्षकमा लेखिएको छ( चालु अवस्थामा नरहेको, मर्मत गर्नुपर्ने ।
केन्द्रले बिग्रिएका र थोत्रा गाडीहरु मात्र पठाएपछि कर्णाली प्रदेश सरकारलाई गाडीहरु व्यवस्थापन गर्न गाह्रो भएको छ । कर्णाली प्रदेशमा तत्कालको व्यवस्थापनकै लागि पनि ३४ वटा गाडी चाहिने देखिएको छ । १५ वटा गाडी पठाउने जानकारी आएपनि तीन वटा अझै नआएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शाखा अधिकृत युवराज न्यौपानेले जानकारी दिए । ‘१५ वटा गाडी पठाउने भन्ने जानकारी आएको हो, ३ वटा आएका छैनन्,’ उनले भने, ‘आएकामध्ये पनि २ वटा बिग्रिएकोले गाडी व्यवस्थापनमै समस्या भएको छ ।’
प्रदेश सरकारले कतिपय मन्त्री र सचिवहरुलाई जिल्ला तथा क्षेत्रीय कार्यालयसँग समन्वय गरेर व्यवस्था मिलाएको छ ।
।