काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त घरहरुको प्रवलीकरणका लागि विशेष अभियान राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले संचालन गर्ने भएको छ । प्राधिकरणले सामान्य क्षति भएका घरलाई मर्मत गर्ने र भूकम्प प्रतिरोधी बनाउने अभियान संचालन गर्ने निर्णय गरेको छ ।
३२ जिल्लाका भूकम्प प्रभावित २४ हजार ९ सय ९१ निजी घरहरु प्रबलीकरण गर्ने सूचीमा छन् । विकास साझेदार संस्थाहरु डीएफआईडी, यूएनओपिएस तथा बिल्ड चेञ्जले प्रबलीकरण अगाडि बढाउन प्राधिकरणलाई सहयोग गर्ने गर्ने छ ।
आगामी २ वर्षभित्र प्राधिकरणले २ हजार प्राविधिक कर्मचारी र १२ हजार डकर्मीलाई तालिम दिने छ । जोखिमयुक्त वर्गमा परेका लाभग्राहीका घरहरु समेत प्रबलीकरण गरिने छन् ।
प्रबलीकरण सम्बन्धी आयोजना प्रस्ताव अध्ययन गरी प्राधिकरणमा यूएनओपिएसले पेश गरिसकेको छ । आवास, वस्ती विकास तथा स्थानीय पूर्वाधार महाशाखाले उक्त प्रस्ताव अध्ययन गरी त्यसलाई अन्तिम रुप दिई एक हप्ताभित्र शहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई कार्यान्वयनको जिम्मा दिने छ ।
प्रबलीकरणलाई अघि बढाउन हाल प्राधिकरण, शहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाइ, यूएनओपिएस, डीएफआईडी, तथा बिल्ड चेञ्जका अधिकारीहरुले प्रबलीकरणको पाठयक्रम निर्माण गरिरहेका छन् । यसलाई चैत्र तेश्रो साताभित्रै अन्तिम रुप दिने तयारी भएको प्राधिकरणका सहसचिव प्रकाश थापाले जानकारी दिए ।
पाठ्यक्रम निर्माण भएपछि २०७५ वैशाख पहिलो सातादेखि एकसाथ ४ स्थानमा प्राविधिक कर्मचारीहरुलाई प्रबलीकरण तालिम सञ्चालन गर्ने प्राधिकरणको तयारी छ ।
।