सूचनाको शक्ति - The Power Of Information

        

पार्टी एकतामा बराबरीको बहस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जानु अघि नै पार्टी एकताको तयारीमा रहेका एमाले र माओवादी केन्द्रको बीचमा पार्टी एकता गर्दा आधा /आधा गर्नुपर्ने बहस चर्किएको छ ।
एमालेले संगठनको आधारमा पार्टी एकता गर्नुपर्ने अडान अगाडि सारेको छ भने माओवादी पार्टी एकता नै हुने भए पछि आधा(आधा हुनुपर्ने अडान राखेको छ । पार्टी एकता प्रक्रियालाई टुंगोमा पुर्याउन गठित कार्यदलमा सांगठनिक विषयमा ६०र४० कै आधारमा पार्टी एकता गर्नुपर्नेमा एमालेले जोड दिएको माओवादी केन्द्रका एक नेताले बताए ।ती नेताले भने, ‘समानताको आधार पार्टी एकता हुने हो, निर्वाचनको क्रममा उम्मेदवार बाँडफाँडमा गरेजस्तो पार्टी एकता गर्दा राम्रो सन्देश जाँदैन ।’
६०/४० कै आधारमा पार्टी एकता गर्ने प्रस्ताव एमालेले अगाडि सारे पनि माओवादी केन्द्रले भने बराबरीको संख्यामा पार्टी एकता हुनुपर्ने अडान लिएको बताइएको छ ।जसको कारण केन्द्रीय सदस्यको संख्या कत्रो बनाउने भन्ने विषयमा समेत दुई पार्टीबीच सहमति जुट्न नसकेको बताइएको छ ।
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पार्टीबीच एकता गरेर ठूलो पार्टीको अध्यक्षको हैसियतमा भारत भ्रमणमा जाने तयारी गरेका छन् । भारत भ्रमण अघि नै एकता प्रयास गर्ने प्रस्ताव स्वयम् अध्यक्ष ओलीले नै राख्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

सञ्जय श्रेष्ठ

प्रकाशित मिति : १३ चैत्र २०७४, मंगलवार ०९:४९