सूचनाको शक्ति - The Power Of Information

        

खिम्ती–२ इपिसिएफ मोडलको पहिलो जलविद्युत् योजना


सञ्जय श्रेष्ठ । काठमाडौं । ४८ दशमलव ८ मेगावाटको खिम्ती २ जलविद्युत् आयोजना इन्जिनियरिङ, प्रोक्रुमेन्ट, कन्स्ट्रक्सन एन्ड फाइनान्सिङ (इपिसिएफ) मोडेलमा निर्माण हुने पहिलो जलविद्युत् आयोजना हुने भएको छ । चिनियाँ सरकारी कम्पनी चोङक्विङ वाटर एन्ड टर्बाइन बक्स (सिडब्लुटिडब्लु)ले खिम्ती २ जलविद्युत् आयोजना इपिसिएफ मोडेलमा निर्माण गर्ने भएको हो ।
आरएम ग्रुपअन्तरगतको पिपुल्स इनर्जी लिमिटेडले निर्माण गर्न लागेको यो आयोजनामा सिडब्लुटिडब्लुले निर्माण सम्पन्न भएको दुई वर्षपछि मात्र भुक्तानी गरे हुने सम्झौता गरिएको कम्पनीका अध्यक्ष कृष्ण आचार्यले जानकारी दिए । ठेक्का सम्झौताअनुसार ठेकेदार कम्पनी सिडब्लुटिडब्लुलाई सुरुमा १० प्रतिशत रकम पेस्कीस्वरूप उपलब्ध गराइनेछ ।
बाँकी ९० प्रतिशत रकम आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको ७ सय दिनभित्रमा उपलब्ध गराइनेछ ।कम्पनीले नेपाली जनता, विभिन्न क्षेत्रका विज्ञ विशेषज्ञहरू, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरू एवं विभिन्न संघ–संस्थाहरूको लगानीमा दोलखा र रामेछापको सिमाना हुँदै बग्ने खिम्ती खोलामा आयोजना विकास गर्न लागेको हो । खिम्ती २ आयोजनाको विद्युत् सर्वेक्षण अनुमतिपत्र पिपुल्स हाइड्रो सहकारी संस्था लिमिटेडको नाममा लिइएको थियो ।
आयोजनाको अध्ययन पूरा गरी पिपिएसमेत सम्पन्न भइसकेको अवस्थामा सहकारी संस्थामार्फत विकास गरिने आयोजनालाई उद्योग विभागले स्वीकृति दिन नमिल्ने बताएको थियो । त्यसपछि आयोजनाको सम्पूर्ण कागजातहरू सहकारीबाट पिपुल्स इनर्जी लिमिटेडमा परिवर्तन गरिएको हो । आरएम ग्रुपले १५ दशमलव ४ मेगावाटको रुदीखोला र २० मेगावाटको लाङटाङखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
आयोजना विकास गर्न सिडब्लुटिडब्लुले सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र प्रसारणलाइनको निर्माणसम्बन्धी सबै कामहरू इपिसिएफ मोडेलमा निर्माण गर्ने प्रस्ताव गरेको थियो।इपिसिएफ मोडेलमा निर्माण गर्न करिब ९ अर्ब रुपैयाँ (८ करोड ८० लाख अमेरिकन डलर)मा सम्झौता भएको कम्पनीका अध्यक्ष आचार्यले बताए । सोसम्बन्धी विस्तृत सम्झौता केही समयपछि नेपालमा पनि हुने उनले बताए ।
आयोजनाको वित्तीय व्यवस्थापन सानिमा बैंकको नेतृत्वमा अन्य नौवटा वाणिज्य बैंकहरूको संलग्नतामा सम्पन्न भइसकेको छ । यो वित्तीय व्यवस्थापनको पैसा आयोजना सम्पन्न भएपश्चात् चिनियाँ कम्पनीलाई भुक्तानी गर्न उपयोग गरिने कम्पनीका सञ्चालक देवबहादुर पौडेलले बताए । आयोजनाको वार्षिक कुल अनुमानित आम्दानी पहिलो वर्ष १ अर्ब ४० करोड रहेको छ । यस्तो आम्दानी वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म बढ्दै जाँदा नवौँ वर्षमा १ अर्ब ७४ करोड रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ ।
आयोजनाले तीन वर्षपछि अर्थात् ०७८ असार मसान्तदेखि विद्युत् उत्पादन सुरु गर्ने जनाएको छ । हाल आयोजनाको हाइड्रोलोजी अध्ययन, विस्तृत सर्वेक्षण, भौगर्भिक अध्ययन तथा ड्रिलिङको कार्य सम्पन्न भइसकेको छ । आयोजनाका लागि जग्गा खरिदको काम सम्पन्न भएको छ । त्यस्तै विद्युतगृह, अडिट टनेल, बाँधस्थलसम्म पुग्ने बाटोको काम अन्तिम चरणमा पुगेको छ भने खिम्ती खोलामाथि पुल बनाउने काम अन्तिम चरणमा पुगेका कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७४, सोमबार ०८:३४