सूचनाको शक्ति - The Power Of Information

        

सुस्ताएकै हो विद्युत् चुहावट नियन्त्रण अभियान ?


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शुरु गरेको विद्युत् चोरी नियन्त्रण अभियान पछिल्लो समय सुस्ताएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकिएपछि पुनः आक्रामक रूपमा विद्युत् चोरी नियन्त्रण अभियान सञ्चालन गर्ने घोषणा गरेको प्राधिकरणले पछिल्लो दिनमा चोरी नियन्त्रण अभियानमा सोचेजति काम गर्न सकेको छैन ।
प्राधिकरणले क्षेत्रीय कार्यालय तथा वितरण केन्द्रलाई चोरी नियन्त्रणको कार्यतालिका सहित कार्यादेश समेत दिएको थियो । तर, पछिल्लो समय रफ्तारमा चोरी नियन्त्रणको काम गर्ने बताए पनि त्यसो हुन सकेको छैन । प्राधिकरणको नेतृत्वमा मुकेशराज काफ्ले रहँदा २६ प्रतिशतको हाराहारीमा रहेको विद्युत् चुहावट कुलमान घिसिङ कार्यकारी निर्देशक भएर आएपछि २२ प्रतिशतको हाराहारीमा झरेको छ ।
चालू आर्थिक वर्षको अन्त्यसम्ममा त्यसको मात्रा २० प्रतिशतको हाराहारीमा झार्ने योजनामा प्राधिकरण रहेको छ । विशेषगरी तराई मधेसका जिल्लामा स्थानीय जनप्रतिनिधि, टोले गुन्डा तथा आफूलाई समाजका सभ्य बताउनेले नै विद्युत् चोरी गरिरहेका छन् । बारा, पर्सा, रौतहट, सप्तरी, सिराहा, धनुषा, महोत्तरी जस्ता जिल्लामा विद्युत् चोरीको मात्रा ५० प्रतिशतको हाराहारीमा रहेको छ ।
यस्तै प्रदेश नम्बर १ मा भने चालू आवको आठ महिनामा विद्युत् चुहावट ४ प्रतिशत घटेको छ । सो क्षेत्रमा पनि विद्युत् चोरी तथा चुहावटलाई ३० प्रतिशतको हाराहारीमा झार्ने लक्ष्य राखिएको छ । तर, पछिल्लो समयमा अभियान प्रभावकारी बन्न सकेको छैन । गर्मी बढेपछि तराई मधेशका जिल्लामा विद्युत् खपतसमेत बढ्ने र चोरीको मात्रामा समेत बढोत्तरी हुने गरेको इतिहास छ ।
विगतको तथ्यांकका आधारमा प्राधिकरणका सबै क्षेत्रीय तथा जिल्ला कार्यालयलाई प्रभावकारी रुपमा चोरी तथा चुहावट नियन्त्रण गर्न प्राधिकरणले निर्देशन दिए पनि पछिल्लो दिनमा नतिजा आउन भने सकेको छैन । चोरीमात्रै भइरहेको सन्दर्भमा केही स्थानीय निकायले भने चोरीमुक्त क्षेत्र नै घोषणा गरेर प्राधिकरणलाई सहयोग गरिरहेका छन् । झापाको कन्काई नगरपालिकाले विद्युत् चोरीमुक्त क्षेत्र घोषणा गरेर अभियान नै शुरु गरेको छ ।
विशेष गरी प्रदेश नम्बर २ का जिल्लामा चोरी तथा चुहावट नियन्त्रणको कामलाई प्रभावकारी रुपमा अगाडि बढाउनुपर्ने आवश्यकता देखिएको छ । ती स्थानमा स्थानीय प्रशासन र सुरक्षाकर्मीको समेत सहयोग लिनुपर्ने अवस्था रहेको छ । काठमाडौं उपत्यकाभित्रै पनि ललितपुरमा पछिल्लो केही समयदेखि चोरी तथा चुहावट नियन्त्रण अभियान आक्रामक रुपमा शुरु गरिए पनि केही दिनदेखि सेलाएको छ । ललितपुरमा मात्रै वार्षिक ५० करोड रुपैयाँबराबरको चोरी हुने गरेको प्राधिकरणले जनाएको थियो ।
प्राधिकरणले अभियान शुरु गरेपछि केही स्थानीयले मिटर जडानमा चासो देखाएका छन् । तर, भक्तपुरमा भने चोरीको अवस्था उस्तै रहेको छ । भक्तपुरमा मासिक एक करोड बराबरको विद्युत् चोरी हुने गरेको छ । पछिल्लो समय भक्तपुरमा समेत विद्युत् चोरी नियन्त्रणको अभियान प्रभावकारी रुपमा अगाडि बढ्न सकेको छैन । अर्को अर्थमा भन्दा सुस्ताएको छ । तर, प्राधिकरणका उच्च अधिकारी भने चोरी तथा चुहावट नियन्त्रण अभियान नसुस्ताएको दाबी गर्छन् ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कार्यसम्पादन करार सम्झौता भटाभट शुरु गरिएकाले पनि चोरी नियन्त्रण अभियानमा सकारात्मक नजिता निस्कने बताए । कोही कसैलाई पनि नछाड्न र कडा रुपमा चोरी नियन्त्रण गर्न सम्बद्ध क्षेत्रीय कार्यालय र जिल्लास्थित वितरण केन्द्रलाई निर्देशन दिएको उनले बताए ।

प्रकाशित मिति : १२ चैत्र २०७४, सोमबार ०८:२०