न्युजिल्याण्डमा रहेको पर्यटन महाविद्यालय । तस्वीर : एजेन्सी
पृष्ठभूमि
मध्य र सुदूरपश्चिम क्षेत्रमा पर्यटन विकासका लागि थुप्रै सम्भावनाहरु छन् । ती सम्भावनाहरुलाई उजागर गरी प्रचारप्रसार गर्न सके धेरै संख्यामा पर्यटकहरुलाई आकर्षित गर्न सकिन्छ । पर्यटकीय सम्पदाहरुको आन्तरिक व्यवस्थापन, व्यवस्थित पदमार्ग निर्माण, होमस्टेहरुको व्यवस्थापन, पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार, पर्यटन सूचना केन्द्रहरुको स्थापना, पर्यटक सुरक्षाको प्रत्याभूति लगायतका कार्यहरु गर्न सके यस क्षेत्रको पर्यटन विकासमा थप टेवा पुग्ने देखिन्छ । मध्य र सुदूरपश्चिम क्षेत्रलाई ‘टुरिजम हब’का रुपमा विकास गर्नका लागि गुरुयोजना निर्माण पनि अहिलेको आवश्यकता हो । पश्चिम नेपालको तराई क्षेत्र कृषि उत्पादनको महत्वपूर्ण क्षेत्र भएकाले यहाँ कृषि पर्यटनका लागि पूर्वाधारहरु निर्माण, कृषि अध्ययन केन्द्रहरुको स्थापना जस्ता कार्यहरु पनि गर्न सकिन्छ । त्यसैगरी राप्ती, कर्णाली, महाकाली, भेरी, बबई लगायतका नदीहरु जल पर्यटनका लागि महत्वपूर्ण आधारका रुपमा रहेका छन् । यी नदीहरुमा जल पर्यटनका लागि पूर्वाधारहरु विस्तार र विकास गर्न सके लाभ लिन सकिने देखिन्छ ।
पश्चिम नेपालमा थुप्रै पर्यटकीय सम्पदा रहे पनि तिनीहरुको आन्तरिक व्यवस्थापन नहुनु, व्यवस्थित पदमार्ग नहुनु, स्थानीयवासी निष्क्रिय हुनु, होमस्टे व्यवस्थापनमा कठिनाई हुनु, प्रचारप्रसार नहुनु, पर्यटन सूचना केन्द्र नबन्नु, सुरक्षा चुनौती लगायतका कारण पर्यटन विकासका सम्भावना उजागर हुन सकेको देखिँदैन । यस क्षेत्रमा पर्यटन विकासका लागि विभिन्न सङ्घसंस्था गठन भएका कुनै संस्थाले पनि नेतृत्वदायी तवरले पर्यटन गतिविधि सञ्चालन गर्न नसक्नु र सरोकारवालाबीच आपसी समन्वय नहुनु मुख्य समस्या हुन् । पर्यटकीय स्थलमा बास बस्ने होटल, व्यवस्थित पदमार्ग, सञ्चार सुविधाजस्ता अत्यावश्यक पूर्वाधार र सुविधाको अभाव तथा आवश्यक प्रचारप्रसार नभएकाले पर्यटक आउन नसक्नु लगायतका समस्याहरु छन् । नेपालमा पर्यटक आउने क्रम शुरू भएपछि यस व्यवसायसँग सम्बन्धित अन्य थुप्रै क्षेत्र क्रमशः फस्टाउन थालेका हुन् । होटल, रेष्टुराँ, ट्राभल एजेन्सी लगायतका क्षेत्रहरुको माग पयर्टक आगमनसँगै बढ्न थालेको पाइन्छ ।
पश्चिम नेपालका जिल्लाहरु भौगोलिक हिसाबले अत्यन्तै सुन्दर मानिन्छन् । राजनीतिक द्वन्द्वले नेपालका धेरै क्षेत्रमा नकारात्मक प्रभाव पा¥यो, यसबाट पश्चिम नेपाल पनि अछुतो रहन सकेन । तर, पश्चिम नेपालमा पर्यटन विकासका लागि ठूलो मानवीय परिश्रम खर्च भएको छैन । पश्चिम नेपालमा यस्ता धेरै सुन्दर र राम्रा ठाउँ पनि छन्, तर यसका बारेमा जानकारी छैन । ओझेलमा परेका त्यस्ता स्थानको खोजी गर्नुपर्ने अर्को ठूलो चुनौती छ । पूर्वाधार निर्माणको क्षेत्रमा पश्चिम नेपाल अझै पनि पछाडि छ । नेपालमा अधिकांश पर्यटक ‘ट्रेकिङ’का लागि आउने गर्छन् । ती मध्ये पनि धेरै पर्यटकहरु घुम्नका लागि पश्चिम नेपालका विभिन्न जिल्लाहरुमा आउने गर्दछन् । पश्चिम नेपालमा पर्यटकहरुका लागि सुरक्षित र सुविधा सम्पन्न ‘ट्रेकिङ रूट’हरू बनाउन सके त्यसबाट निकै लाभ लिन सक्ने देखिन्छ ।
पर्यटन विश्वविद्यालय स्थापनाको आवश्यकता
समावेशी राज्यको पुनर्निर्माण र सङ्घीय पुनःसंरचनासँगै मुलुक सङ्घीयतामा रूपान्तरित भइसकेको छ । नेपालमा सङ्घीय संरचना निर्माणका लागि प्रत्येक सचेत नागरिकले नयाँ भूमिकाको खोजी गर्नुपर्ने देखिन्छ । परिवर्तित सन्दर्भमा नेपालमा उच्च शिक्षाको संरचना र विश्वविद्यालयहरूको भूमिकामा समेत परिमार्जन र रूपान्तरणसँगै नयाँ सम्भावनाहरुको खोजी भइरहेको छ । वर्तमान परिस्थितिमा उच्च शिक्षामा संलग्न धेरै विश्वविद्यालय सामु नवीन सम्भावना, जिम्मेवारी र चुनौतीहरू थपिएका छन् । नेपालको सङ्घीय र समावेशी चरित्रको शैक्षिक पुनःसंरचनाको खाका निर्माणमा बौद्धिक समुदायका तर्फबाट यथेष्ट योगदान हुनुपर्ने देखिन्छ ।
सामान्यतया अनौपचारिक शिक्षा स्वतःस्फूर्त, बिनायोजना स्वाभाविक रूपमा हासिल गरिन्छ । औपचारिक शिक्षामा निश्चित लक्ष्य प्राप्तिका लागि योजनाबद्ध प्रयत्नबाट व्यवस्थित रूपमा क्रमबद्ध ज्ञान, सीप, भाव र अन्तरदृष्टिहरू हासिल गरिन्छन् । सामाजिक समृद्धि, अग्रगमन, प्रगति र विकासका लागि ओैपचारिक शिक्षालाई व्यवस्थित गर्ने क्रममा प्रारम्भिक बालविकास शिक्षा, प्राथमिक शिक्षा, माध्यामिक शिक्षा, उच्च माध्यमिक शिक्षा, विशेष शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा, विश्वविद्यालय शिक्षाजस्ता शिक्षण पद्धतिहरूको उदय, विकास र प्रसारण भएको पाइन्छ ।
शिक्षाको इतिहास खोतल्ने क्रममा शिक्षालाई विद्यालय, कलेज, विश्वविद्यालय र तीनमा हुने अध्ययन–अध्यापन, परीक्षा र पाठ्यक्रममा मात्र सीमित पार्न सकिदैन । प्राचीन ढुंङ्गे युगको समाजमा घुमन्ते–फिरन्ते अवस्थाको मानवका लागि शिकार गर्ने, कन्दमूल खोज्ने कला, पाक तथा भोजनको ज्ञानजस्ता विषयमा लोकपरम्परा, जनश्रुति, सवाई आदिबाट प्राप्त हुने ज्ञान नै शिक्षा थियो, जुन कुरा अभिभावक, मातापिता र अग्रजबाट सिकिन्थ्यो । पहिलो सहस्राब्दीपूर्व अध्ययन मानिसको जीवनका लागि आवश्यक र उपयोगी थिएन, नयाँ ज्ञानका लागि अग्रजहरूको देखासिकी, नक्कल र अनुकरण नै पर्याप्त थियो । तर अबको शताब्दिमा त्यो कुरा सिमित रहेन । भूस्वर्गका रुपमा रहेको नेपाल अत्यन्तै सुन्दर देशहरुभित्र पर्दछ । पर्यटनको अथाहा सम्भावना रहेको मुलुकमा हामीले पर्यटनलाई बुझ्न सकिरहेका छैनौं । नेपालमा पर्यटनको विकास, अध्ययन र अनुसन्धानका लागि थुप्रै सम्भावनाहरु छन् ।
शिक्षा र पर्यटन
जीवन र जगतलाई चिन्ने र त्यसैको आधारमा सहज जीवनको बाटो पहिल्याउने माध्यम नै शिक्षा हो । जीवन र जगतलाई चिन्ने बुझ्ने सबैभन्दा राम्रो उपाय घुमघामभन्दा अरु केहि हुन सक्दैन । घुमघाम वा भ्रमण गर्नु मनोरञ्जन लिनुमात्र होइन, यस्तो कार्यबाट धेरै ज्ञानगुनका कुराहरु सिक्न र जान्न पाइन्छ । प्रकृति, समाज र प्रविधिको अवस्था, आवश्यकता र सम्भावनाहरुको पहिचान, निर्माण र प्रसारजस्ता कार्यहरु गर्न घुमघामबाटै सम्भव छ । त्यसैले भ्रमणलाई खुला विश्वविद्यालय पनि भन्ने गरिन्छ । पछिल्लो समयमा पर्यटनबाट शिक्षा र शिक्षाबाट पर्यटन दुवैलाई निकै महत्व दिन थालिएको छ ।
शिक्षाको लागि पर्यटन
पढ्नु र सिक्नुको अर्थ किताबी परिभाषा जान्नु र सूत्रहरु स्मरण गर्नु होइन । जीवन र जगतलाई बुझेर त्यसै अनुरुप सहज जीवन पद्धतिको विकास गर्नु नै शिक्षाको मुख्य उद्देश्य हो । अरुले लेखिदिएको पुस्तकहरु पढेर संसारको बारेमा जान्न त सकिएला तर ज्ञानको गहिराइमा पुग्न सकिँदैन । खासगरी प्राकृतिक श्रोत, भौगोलिक अध्ययन, मानव विकास अध्ययन, सामाजिक–आर्थिक पक्षको अध्ययनसँग सम्बन्धित विषयवस्तुहरुको यथार्थ ज्ञान लिन सम्बन्धित क्षेत्रहरुको भ्रमण गर्नैपर्ने हुन्छ । बाँके जिल्लाका धार्मिक संस्थाहरु, बाँके राष्ट्रिय निकुञ्ज, मानसरोवर, राराताल, लुम्बिनी, शुक्लाफाँटमा बाह्रसिंगाहरुको उफ्राई महसुस गर्नेदेखि, बर्दियामा बाघ हेर्ने र इको टुरिजमको प्रयासहरुका बारेमा जान्नका लागि कक्षा कोठाको पढाई र कितावी अध्ययनले सकिँदैन, ति ठाउँमा पुगेर हेर्ने पर्छ ।
अनुसन्धान तहको शिक्षामा भ्रमण अनिवार्य भएपनि बिद्यालय र क्याम्पस तहमा भ्रमणलाई अध्ययन र सिकाईको अंगको रुपमा लिने गरिएको छैन । नर्सरीदेखि स्नातकोत्तरसम्मका बिद्यार्थीहरुमा भ्रमण गर्नु भनेको मनोरञ्जन गर्नु भन्ने भ्रम रहेको पाइन्छ । घुमाईबाटै सिक्न सकिन्छ भन्ने कुराको ज्ञान नभएका कारण भ्रमणलाई बिद्यार्थीहरुले मूड फ्रेस गर्ने बहाना, शिक्षकहरुले औपचारिकता निर्वाह र अभिभावकहरुले अनावश्यक आर्थिक बोझ मात्र ठान्ने गरेका छन् । भ्रमण गर्नु शिक्षक र बिद्यार्थी दुबैको लागी अत्यावश्यक छ । विषयको गहिराइमा पुग्नको लागि प्रत्यक्ष अवलोकन र अनुभवको आवस्यकता पर्छ, जुन कुरा बिद्यार्थीहरुले भ्रमणबाटै हासिल गर्न सक्छन् ।
हरेक विद्यालयले आफ्ना बिद्यार्थीहरुलाई भ्रमण गराउने कार्यक्रमलाई पठनपाठनभित्रै समावेश गरेमा विद्यार्थीहरुले छोटो समयमै आफ्नो समाज र देशलाई चिन्न, विभिन्न समाज तथा संस्कृतिको अनुभव गर्न र त्यसप्रति सकारात्मक धारणा बनाउन मद्दत पुग्नेछ । त्यसैगरी शिक्षकहरुले भ्रमण गर्दा उनीहरुले विभिन्न ठाउँका सिकाइका नयाँ प्रयोगहरु सिक्न, विषयवस्तुको ज्ञानलाई विस्तृत गर्न र शैक्षिक सामाग्रीहरु संकलन गर्न मद्दत पुग्छ । बिद्यार्र्थीहरुका समस्याहरुको जानकारी लिन र आफ्ना पुराना बिद्यार्थीहरुको सफलता एवं असफलताहरु पहिचानका लागि शिक्षकले भ्रमण गर्नु राम्रो हुन्छ । शिक्षकले नयाँ कुरा सिक्ने र नयाँ ठाउँको भ्रमणले उसमा स्फूर्ति आउने भएकोले बिभिन्न देशहरुमा सरकारीस्तरबाटै शिक्षकलाई भ्रमण गर्ने व्यवस्था समेत गरिएको पाइन्छ ।
पर्यटनको लागि शिक्षा
औद्योगीकरण नभएको र बाह्य व्यापार घाटा भैरहने नेपालजस्तो देशको लागि आर्थिक विकासको मुख्य आधार भनेकै पर्यटन हो । नेपालमा पर्यटनको प्रचुर सम्भावना भएपनि त्यसलाई विकास र विस्तार गर्ने खालको शिक्षा नेपालमा अहिलेसम्म दिन सकिएको छैन । बिद्यालय तहमा पर्यटन सम्बन्धी पाठ्यक्रम नै छैन । सामाजिक अध्ययन, वातावरण शिक्षा, अर्थशास्त्र जस्ता बिषयहरुमा पर्यटन सम्बन्धी सामान्य जानकारी समावेस गरिएको भएपनि कुन क्षेत्रमा कस्तो पर्यटकीय सम्भावना रहेको छ भन्ने जानकारी दिने, पर्यटकीय सम्भावनाहरुको खोजी गर्न सिकाउने, पर्यटकीय सेवाको विकास गर्ने र पर्यटकमैत्री संस्कृतिको विकास गर्ने सम्बन्धी आधारभूत कुराहरु पनि बिद्यालय तहका बिद्यार्थीहरुलाई सिकाउने पाठ्यक्रम नै नेपालमा छैन ।
उच्च माध्यमिक तहमा ट्राभल एण्ड टुरिज्म बिषय समावेश त गरिएको छ, तर यो बिषय पूर्ण सैद्धान्तिक र अपुरो छ । बिश्वबिद्यालय तहमा पर्यटन सम्बन्धी पाठ्यक्रम भएपनि यो बिषय पढाई हुने केही कलेजहरू काठमाडौँ र पोखरामा मात्र सिमित भएकोले पर्यटन शिक्षा सर्वसाधारण मानिसको पहुँचभन्दा निकै बाहिर छ । नेपालमा पर्यटन शिक्षाको अभावले गर्दा नेपालीहरुमा पर्यटकीय संस्कारको विकास हुन सकेको छैन । नेपालीहरु आफ्नै देशमा घुम्न नखोज्नु र घुम्न चाहने नेपालीहरुलाई पर्यटक नै नठान्ने प्रवृति ब्याप्त हुनुको कारण पर्यटन शिक्षाको कमी नै हो । नेपालमा पर्यटनबाट लाभ लिनको लागि पर्यटनमैत्री समाज र संस्कृतिको विकास गर्नुपर्छ । यसका लागि बिद्यालय र बिश्वबिद्यालयका हरेक तहमा पर्यटन शिक्षालाई अनिवार्य बनाउनुपर्छ । खासगरी बिद्यालय तहमा अतिथि सत्कार, पथप्रदर्शन, होटेल व्यवस्थापन, पर्यटन व्यापार, ट्राभेल एजेन्सी सञ्चालन सम्बन्धी ज्ञान दिने व्यवस्था मिलाउनु पर्छ ।
नेपालीहरुलाई आफ्नै देशमा घुम्न प्रोत्साहित गर्ने र आन्तरिक पर्यटकहरुलाई पनि बिदेशी पर्यटकसरह सम्मान गर्ने प्रवृतिको विकास गर्न सकियो भने ८/१० लाख पर्यटकको लागी बिदेशीहरुको मुख ताक्नु नै पर्नेछैन । यसकारण समग्रमा हामीले पश्चिम नेपालका साथै मुलुककै पर्यटन विकासका लागि समृद्धि खोज्ने हो भने नेपालगन्जमा पर्यटन विश्वविद्यालय (Tourism University) स्थापनाका लागि अघि बढ्नुपर्छ । सकिन्छ वा सकिँदैन भन्ने दोधारमा होइन सम्भव छ भन्ने संकल्पका साथ हाम्रा अभियानलाई अघि बढाउन सक्यौं भने हामीले नेपालमै पहिलो पर्यटन विश्वविद्यालय स्थापना गर्न सक्छौं । पर्यटन विश्वविद्यालय स्थापनाका लागि नेपालगन्जमा थुप्रै सम्भावनाहरु छन्, सहयोगी हातहरु छन्, भावनामा हामी एक छौं । यसअघि हामीले सुर्खेतमा मध्यपश्चिम विश्वविद्यालय स्थापना हुनुपूर्व बाँकेमा नेपालगन्ज विश्वविद्यालयको आन्दोलन ग¥यौं । हामी असफल हुनुको कारण त्यहीबाट सुरु भयो, मध्यपश्चिम विश्वविद्यालय र नेपालगन्ज विश्वविद्यालयको प्रकृति एउटै थियो । अन्तमा पहुँचका आधारमा सुर्खेतमा स्थापना भयो ।
त्यसकारण पनि हामीले त्यो अभियानलाई सार्थक बनाउन सकेनौं । तर हामीले छुट्टै अवधारणाका साथ पर्यटन विश्वविद्यालय स्थापनाको विषयलाई उठान गर्नैपर्छ । हामीसँग जल पर्यटन, खेल, कृषि, धार्मिक, ऐतिहासिक पर्यटन लगायतका सम्भावनाहरु छन् । यी सम्भावनाहरुलाई वास्तविकतामा बदल्नका लागि यो अभियानलाई सार्थक बनाउन सकियो भने पक्कै पनि नेपालगन्जमात्रै होइन समग्र प्रदेश र देशले नै पर्यटन विकासमा फड्को मार्न सक्छ । हामी एउटै विषयका १० वटा कलेजहरु सञ्चालन गर्नेमै केन्द्रीत छौं । हामीले सम्भावना भएका क्षेत्रहरुको पहिचान गर्न सकिरहेका छैनौं । विकसित मुलुकहरुले पर्यटनमा कैयौं फड्को मारिसके । हामीसँग अथाहा सम्भावना हुँदाहुँदै पनि हामीले त्यसबारे सोच्नसम्म सकिरहेका छैनौं । हामी आजैबाट पर्यटन विश्वविद्यालय स्थापनाको संकल्पका साथ अघि बढौं । हाम्रो सफलता हामीसँगै छ ।
।