सूचनाको शक्ति - The Power Of Information

        

चिनियाँ लगानी ७९२ लाख अमेरिकी डलर खिम्ती २ मा

काठमाडौं । खिम्ती २ जलविद्युत ४८.।८० मेगावाट क्षमताको आयोजनामा चिनियाँ कम्पनीले अमेरिकी डलर ७९२ लाख लगानी गर्ने भएको छ । इञ्जिनियरिङ प्रोक्युरमेन्ट कन्सट्रक्सन एण्ड फाइनान्सीङ(इपीसीएफ) मोडलमा निर्माण हुने आयोजनाको कुल लागत ८८० लाख अमेरिकी डलर हुने प्रक्षेपण गरिएको छ ।
आयोजनाको प्रवद्र्धक पिपुल्स इनर्जीले चीन सरकारको लगानी रहेको चोङजिङ वाटर एण्ड टर्बाइन वक्र्स(सीडब्ल्युटीडब्ल्यु)सँग ठेक्का सम्झौता गरेको हो । सम्झौता अनुसार पिपुल्स इनर्जीले कुल लागतको १० प्रतिशत अर्थात ८८ लाख डलर अग्रिम भुक्तानी दिनेछ भने बाँकी रकम चिनियाँ कम्पनीले नै जुटाउनेछ ।
विद्युत उत्पादन आरम्भ गरेको ७०० दिनभित्र चिनियाँ कम्पनीको ७९२ लाख डलर फिर्ता गरिने समझदारी भएको छ । ७९२ लाख अमेरिकी डलरमा ब्याज समेत जोडिएर पिपुल्स इनर्जीले फिर्ता गर्नुपर्ने कार्यकारी अध्यक्ष कृष्ण आचार्यले जानकारी दिए ।
खिम्ती २ आयोजनाको सन २०२१ मार्चमा निर्माण सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ । खिम्ति २ ले चिनियाँ कम्पनीलाई ७०० दिनभित्र आफ्नो आम्दानीबाट २ अर्ब ५० करोड भन्दा बढि तिर्नेछ । बाँकी रकम भने सानिमा बैंकको नेतृत्वमा ९ वटा बाणिज्य बैंकको कर्सोर्टियम समुहले उपलब्ध गराउनेछ ।
समयमा काम सम्पन्न हुनुका साथै जोखिम काम हुने भएकाले यो खाकामा आयोजना निर्माण हुन लागेको आचार्यले बताए । आयोजनाको कुल लागत साढे १० अर्ब रुपैयाँ छ । दुई चिनियाँ कम्पनीले आयोजनाको सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलको काम सम्पन्न गर्ने भएका छन् । यस्तै वातावरण,जग्गा खरिद, आवासय निर्माणलगायत अन्य काम पिपल्स इनर्जीले गर्ने उनले जानकारी दिए ।
आयोजनाको वार्षिक आम्दानी प्रथम वर्ष १ अर्ब ४० करोड रुपैयाँ र वार्षिक ३ प्रतिशतका दरले मूल्यवृद्धि ८ पटक हुदा ९ वर्षमा आम्दानी बढेर १ अर्ब ७४ करोड रुपैयाँ पुग्नेछ । नदीको वहावमा आधारित (रन अफ दी रिभर) प्रकृतिको आयोजनाबाट वार्षिक २६ करोड युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । सुख्खायाममा साढे ४ करोड र वर्षातमा साढे २१ करोड युनिट बिजुली उत्पादन हुनेछ ।

प्रकाशित मिति : ११ चैत्र २०७४, आइतवार १४:२६