सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका लागि चिकित्साशास्त्र स्नातकोत्तर तहको पाठ्यक्रम निर्माण कार्य शुरु गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहलमा पाठ्यक्रम निर्माण गर्न थालिएको हो ।
आज यहाँ आयोजित पाठ्यक्रम निर्माण कार्यशाला गोष्ठीको उद्घाटन गर्दै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दलबहादुर रावलले चिकित्साशास्त्रका अब्बल व्यक्तित्वको जमघटबाट उत्कृष्ट पाठ्यक्रम निर्माण हुने विश्वास व्यक्त गरे ।
मुलुकका लागि बेरोजगारी बढाउने नभई गरिखाने शिक्षा आवश्यक रहेकामा मन्त्री रावलले जोड दिए । ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई यो प्रदेशको छाता स्वास्थ्य संस्थाका रुपमा विकास गरी राजधानी सुर्खेतमा शिक्षण अस्पताल निर्माण गर्नुपर्छ,’ उनले भने ।
तीन सय शय्याको अस्पताल प्रतिष्ठान जुम्लामा बनिसकेकाले सुर्खेतमा हाललाई ४०० शय्याको अस्पताल निर्माणमा जोड दिएर राजधानीबाट सेवा लिने जनताको आवश्यकता परिपूर्ति गर्ने वचन उनले दिए । प्रतिष्ठानको दिगोपनाका लागि भूगोल, जनता र राजनीतिक अपनत्व आवश्यक रहेको उनको तर्क थियो ।
मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतका सुपरिटेन्डेन्ट डा डम्बर खड्काले क्षेत्रीय अस्पताल शुरु भएको १२ वर्षसम्म ५० शय्यामै खुम्चिएको गुनासो गरे । क्षेत्रीय अस्पतालका लागि अहिले प्रतिष्ठान जुम्लाका डाक्टरको सहयोग प्राप्त भइरहेको जनाउँदै डा खड्काले अब डाक्टरहरु गरीबको घरदैलोमा पुगेर सेवा दिलाउन दायित्व बोध गराउने नीतिको आवश्यक छ भने ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रो डा भरत यादवले कर्णाली प्रदेशको स्वास्थ्य आवश्यकतालाई सम्बोधन हुनेखालको पाठ्यक्रम तयार गर्नुपर्ने सुझाव दिए । एमडी जनरल प्राक्टिक्स पाठ्ययक्रमको महत्व र इतिहासबारे जानकारी गराउँदै उनले विकटमा बसेर काम गर्ने डाक्टरहरुको कामको सराहना गरे ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन मोदनाथ मरहठ्ठाले एमडी जनरल प्राक्टिसलाई विशेष महत्व दिएर पाठ्यक्रम तयार गर्ने लक्ष्यका साथ नेपालभरिका विज्ञ चिकित्सबीच कार्यशाला गोष्ठी गरिएको बताए । डा मरहठ्ठाले भने, ‘विसं २०७५ को वैशाखदेखि मिडवाइफ्री तह सञ्चालन गर्दैछौँ र बिपिएच तह पाइपलाइनमा रहेको छ ।’
पाठ्यक्रम विकास समितिका संयोजक डा अरुण पौडेल, सदस्य सचिव डा सञ्जीव तिवारी, नेम्सका प्रो डा न्हुछेमान डंगोल, प्रतिष्ठान जुम्लाका प्रो डा धर्मराज श्रेष्ठसहित डाक्टरको टोलीबाट पाठ्यक्रम निर्माण भइरहेको छ । कार्यशाला गोष्ठीमा पाटन, नेम्स, बिपी कोइराला स्वास्थ्य विज्ञान, कर्णाली स्वास्थ्य विज्ञान र देशका अन्य प्रतिष्ठित अस्पतालका विज्ञ डाक्टरको सहभागिता छ ।
।