सूचनाको शक्ति - The Power Of Information

        

इयुलाई प्रधानमन्त्रीको चेतावनी, प्रतिवेदन सच्याउन आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको सार्वभौमसत्ताको अवमूल्यन नगर्न युरोपियन युनियनलाई चेतावनी दिएका छन् । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोकको आज काठमाडौंमा प्रतिवेदन सार्वजनिक गर्दै उनले इयूको निर्वाचन पर्यवेक्षण मिसनले खस आर्यको आरक्षण खारेज गर्न दिएको प्रतिवेदन सच्याउन आग्रह गरे ।
इयूको प्रतिवेदनले आफू हेपिएको महशुस गरेको भन्दै प्रधानमन्त्री ओलीले नेपालको संविधानलाई अवमूल्यन नर्गन पनि इयूको ध्यानकर्षण गराए । निर्वाचन पर्यवेक्षणको नाममा धर्म प्रचार गर्न आएका कतिपय संस्थालाई फर्काइएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले त्यसको प्रतिशोध इयूले प्रतिवेदनमार्फत व्यक्त गरेको दाबी गरे ।
आफू प्रजातन्त्रको लागि अडिग रहेको भन्दै प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समानताको अभियानमा नेपाली जनताले चलाएको आन्दोलको स्मरण गरे । कठिन परिस्थितिमा पनि निर्वाचन सम्पन्न गर्न भूमिका खेल्ने सबैको प्रधानमन्त्री ओलीले प्रशंसा गरे । निर्वाचन लोकतन्त्रको आधारस्तम्भ रहेको भन्दै उनले निर्वाचनमार्फत प्रतिनिधित्वको न्यायोचित प्रणाली सुदृढ भएको बताए । निर्वाचनमार्फत मुलुक नयाँ चरणमा प्रवेश गरे पनि अझै केही चुनौती बाँकी रहेकाले सजग भएर हिँड्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : ११ चैत्र २०७४, आइतवार १०:२५