सूचनाको शक्ति - The Power Of Information

        

मुलुकभर लोडसेडिङ नगरेको प्राधिकरणको दावी


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अहिले काठमाडौं उपत्यका लगायत देशभरि नै लोडसेडिङ नगरिएको दाबी गरेको छ । विभिन्न व्यक्ति तथा सरोकारवालाले निकायले लोडसेडिङ भइरहेको भन्ने अभिव्यक्ति दिइरहँदा प्राधिकरणको प्रस्टोक्ति आएको हो । प्राधिकरणले आइतबार विज्ञप्ती नै जारी गरेर मुलुकभर घोषित र अघोषित कुनै पनि प्रकारको लोडसेडिङ नगरिएको दाबी गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘औद्योगिक ग्राहकलाई केही घन्टाको लोडसेडिङ गरेको बाहेक पूर्णरूपमा विद्युत आपूर्ति भइरहेको छ । ‘प्रणालीमा आउने प्राविधिक खराबीका कारण केही बेर झ्याप्प विद्युत जाँदैमा उपभोक्ताले त्यसलाई गर्यो भनेर बुझ्नु भएन,’ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विज्ञप्तीमा भनेका छन् । विज्ञप्तीमा ‘हिउँदको हावाहुरीले प्रसारण तथा वितरण प्रणाली ट्रिपिङ हुँदा सामान्य समस्या देखिएको हो ।’
विगतमा पनि यस्तो ट्रिपिङ भएता पनि त्यतिबेला लोडसेडिङ हुँदा उपभोक्ताले विद्युत आपूर्तिमा समस्या आएको थाहा नै पाउँदैन थिए । प्राधिकरणले त्यस्ता प्राविधिक समस्या समाधान गर्न मुलुकभर नै कर्मचारीको टिमलाई २४सै घन्टा तयारी अवस्थामा राखेको छ । ‘सडक तथा खानेपानीको पाइप विस्तारक्रममा भूमिगत केवलमा क्षति पुग्दा केही स्थानका पोल तथा टान्सफर्मर सार्नुपर्ने हुँदा छोटो समयका लागि विद्युत कटौती भएको प्राधिकरणले जनाएको छ । घिसिङका अनुसार यस्ता समस्या तत्काल समाधान गरी आपूर्ति नियमित भइरहेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले केही दिनअघि विद्युत आपूर्तिमा अहिले भइरहेको प्राविधिक समस्या तत्काल समाधान गर्न निर्देशन दिएका थिए । आपूर्ति विश्वसनीय र भरपर्दो बनाउन कन्डक्टर फेर्ने, ट्रिपिङ समस्या समाधान गर्ने फिडर तथा ट्रान्सफर्मरको क्षमता बढाउने लगायत काम भइरहेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । ‘ओभरलोड भएका सब–स्टेसन मर्मत गर्दा विद्युत कटौती भएको हुन सक्छ,’ उनले भने, ‘मर्मत संभारमा लाग्ने समय घटाएर सक्दो छिट्टो आपूर्ति नियमित गर्न प्राधिकरण तत्पर छ ।’

प्रकाशित मिति : ११ चैत्र २०७४, आइतवार १०:१८