सूचनाको शक्ति - The Power Of Information

        

रााधिका तामाङको गार्इको मासु खान पाउनुपर्ने अभिव्यक्तिपछि मसाल जुलुस नै निकालिए

नुवाकोट । प्रदेश ३ की उपसभामुख रााधिका तामाङले गाईको मासु खान पाउने नियम बनाउनुपर्ने अभिव्यक्तिप्रति चर्को आलोचना भइरहेको छ । उनको विषयलार्इ लिएर सामाजिक सञ्जालमा पक्ष र विपक्षमा विभिन्न टीका टिप्पणी भइरहेका छन् । सोही भनाइको विरोधमा नुवाकोटको सदरमुकाम विदुरमा शनिबार साँझ मसाल जुलुस नै निकालिएको छ।

शनिबार युवा विद्यार्थीहरुले सदरमुकाम क्षेत्रमा मसाल जुलुससहित प्रदर्शन गरेका छन् । उनको अभिव्यक्ति समस्त नेपालीहरुको आस्थामा प्रहार गर्ने उद्धेश्यबाट प्रेरित रहेको भन्दै कांग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघ र तरुण दल सहितका भ्रातृ संस्थाहरुले शनिबार साँझ ढुँगेबजारदेखि सुरु गरेको मसाल जुलुस विदुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

नेपाली कांग्रेसका जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले धर्मको नाममा हिंसा भड्काउन उक्त अभिव्यक्ति आएको भन्दै त्यसलाई कांग्रेस र नेपाली जनतालाई कदापि स्वीकार्य नहुने बताए। अबका दिनमा गाई र हिन्दु धर्म बचाउन मुस्किल पर्ने भन्दै सोको संरक्षणमा कांग्रेस लाग्ने बताए। केसीले उक्त भनाईले आफुहरुलाई गम्भीर बनाएको भन्दै तत्काल क्षमा नमागे अझै सशक्त भएर विरोधमा उत्रने चेतावनी दिए।

त्यस्तै कांग्रेस महासमिति सदस्य रमेशकुमार महतले माओवादीका केही नेताले पनि सो अभिव्यक्ति उपसभामुख रााधिकाको मात्रै भएको भन्दै आफुहरुको पनि सर्मथन रहेको बताएको दाबी गरे।

विरोध कार्यक्रममा नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले, राप्रपाका जिल्ला अध्यक्ष विष्णुप्रसाद सापकोटालगायतले उपसभामुख तामाङको अभिव्यक्ति समस्त नेपालीहरुको आस्थामा प्रहार गर्दै जातीय र धार्मिक सद्भाव भड्काउने उद्धेश्यबाट प्रेरित रहेको आरोप लगाए।

प्रदेश ३ की उपसभामुख तामाङले गाईको मासु खाएको आरोपमा पक्राउ परेका मकवानपुरका ३ जनालाई तुरुन्त रिहा गर्न गृहमन्त्री रामबहादुर थापासमक्ष माग गरेको र गाईको मासु खान पाउने अभिव्यक्ति दिएपछि विवादमा तानिएकी हुन्। उनी नुवाकोट क्षेत्र नम्बर १ क बाट निर्वाचित सांसद हुन्।

प्रकाशित मिति : ११ चैत्र २०७४, आइतवार ०५:४१